एउटा आम सभामा ब्यक्त अभिव्यक्तिलाई लिएर पक्राउ परेकी एमालेकी नेता रामकुमारी झाँक्री रिहा भएकी छन्। श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको नेपाल प्रहरीले जनाएको छ।
महानगरीय अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिएका छन् ।
सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन्।
"नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हक, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन" झाँक्रीले प्रहरीसंगको बयानमा भनेको भन्दै एसएसपी थापाले भने।
'बयानपछि हामीले उहाँलाई राखिराख्ने कुरा भएन। मुद्दा चलाउनु पर्ने आवश्यकता रहेन त्यही भएर हामीले छोड्यौं, 'उनले भने।
प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।