Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

युट्युवलाई स्वनियमन गर्नुपर्नेमा महासङ्घका नवनिर्वाचित पदाधिकारीको जोड

युट्युवलाई स्वनियमन गर्नुपर्नेमा महासङ्घका नवनिर्वाचित पदाधिकारीको जोड

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७७
images
युट्युवलाई स्वनियमन गर्नुपर्नेमा महासङ्घका नवनिर्वाचित पदाधिकारीको जोड
 
काठमाडौँ, ३० चैत
(रासस)
 
नेपालका अनलाइन टिभीहरुको शुद्धिकरण र सुदृढीकरण आफ्नो कार्यकालको प्राथमिकताको विषय भएको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीहरुले बताउनुभएको छ । 
 
अनलाइन टीभी पत्रकार सङ्घले नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले उदाउँदो सञ्चार क्षेत्रलाई तत्काल व्यवस्थापनको खाँचो रहेकोमा जोड दिनुभयो । कार्यक्रममा महासङ्घका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेलले युट्युव पत्रकारितालाई नियन्त्रणका लागि सरकारलाई आह्वान गर्नुभन्दा स्वनियमनमा जानु उपयुक्त हुने धारणा राख्नुभयो । 
 
“पत्रकारिता क्षेत्रलाई राज्यको नियन्त्रणभन्दा सञ्चार माध्यमले आफैँ नियमन गर्ने हिसाबले जानु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिकोणले उपयुक्त हुन्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । उहाँले अनलाइन टिभी पत्रकार सङ्घले बनाएको स्वनियमन निर्देशिका उच्चस्तरको रहेको र त्यसलाई कार्यान्वयन गर्न सकेमा मुलुधारका पुराना सञ्चार माध्यमभन्दा अनलाइन टिभी क्षेत्र थप गुणस्तर हुने देखेको बताउनुभयो । 
 
कार्यक्रममा महासङ्घकी महिला उपाध्यक्ष बाला अधिकारीले गाउँ–सहर, देश–विदेश जताततै अनलाइन टेलिभिजन लोकप्रिय हुँदै गएको तर यसको गुणस्तरमा भने सुधार गर्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । महासङ्घका एशोसिएट सचिव पवन आचार्यले महासङ्घले विधागत पत्रकारिताको विकासका लागि एशोसिएट सदस्यताको प्रावधान गरेकाले अनलाइन टेलिभिजन पत्रकार सङ्घलाई पनि एशोसिएट सदस्य बनाए यस क्षेत्रको विकासमा थप सजिलो हुने विश्वास व्यक्त गर्नुभयो । 
 
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले न्यू मिडियालाई बेलैमा व्यवस्थापन गर्न सकिएन भने प्रेस स्वतन्त्रता नै खतरामा पर्न सक्ने चेतावनी दिनुभयो । न्यू मिडिया प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको नयाँ माध्यम भएकाले महासङ्घले यसको संरक्षणका लागि अभियान नै चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 
 
सङ्घका अध्यक्ष जीवन भण्डारीले नवनिर्वाचित सबै केन्द्रीय पदाधिकारीलाई माला, खादा र अविर लगाएर बधाई तथा शुभकामना दिँदै सहकार्यका लागि आह्वान गर्नुभएको थियो । सङ्घले जारी गरेको स्वनियमन निर्देशिकालाई महासङ्घले पनि ग्रहण गरी सबै पत्रकारलाई यसबारेमा अभिमुखीकरण गर्न महासङ्घले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 
 
स्वनियमन निर्देशिका मान्न तयार अनलाइन टेलिभिजन पत्रकारलाई अन्य पत्रकार सरह नै पहिचान र पहुँच दिनुपर्ने, स्वरोजगारमूलक भएकाले व्यवसाय प्रवद्र्धनका लागि सहयोग गर्नुपर्ने, क्षमता वृद्धिका कार्यक्रम ल्याउनुपर्ने, जोखिमपूर्ण कार्य भएकाले सुरक्षा र बीमाको व्यवस्था गर्नुपर्ने अवस्था रहेकाले महासङ्घले सरोकारवालालाई झकझक्याइदिन पनि अध्यक्ष भण्डारीले आग्रह गर्नुभएको छ ।  
 
गत वर्षको माघ २४ गते पहिलो भेला गरेर सङ्गिठत भएका अनलाइन टेलिभिजन पत्रकारले अहिले आफैँ व्यवस्थित र जिम्मेवार हुने प्रयास गरिरहेका छन् । युट्युवमा राम्रो काम गरेकाले एक अर्कालाई सिकाउने, समीक्षा गर्ने र सुधार गर्दै लैजाने प्रयास गरिरहेको अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष पोखरेल र सङ्घका अध्यक्ष भण्डारीमार्फत सङ्घका झण्डै ५० सदस्यलाई परिचयपत्र र प्रेस ज्याकेटसमेत विवरण गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र ३०, २०७७ सोमवार - २१:४१:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend