फूल माला र खाने कुराले एक दिने मान–सम्मान त धेरैजसो हेला र घृणाको पात्र बनेको कुकुरले पनि पाउँछ । कसैले कहिल्यै मन नपराउने कागले पनि पाउँछ । त्यस्तो मान सम्मानको के अर्थ हुन्छ ? जो क्षणिक र देखावटी मात्र हन्छ । हुनत तिनले मानव जातिलाई ठूलै गुन लाएको देख्नेहरू पनि होलान् तर त्यो सम्मान त्यस्तो गुनको बदलामा दिइएको हो भने त्यसको झन् अर्थै छैन । हाम्रो संस्कृति, परम्परामा वर्षभरि बारी,खेतमा, जोतिएर, लडियामा नारिएर, पिटिएर सबभन्दा सहयोगी बनेका गोरुले, तिनै गोरु, गोरस, मल आदि दिएर गुन लाउने र गोमाता भनिने गरेका गाईले पनि त्यही एकदिने सम्मान त पाउँछन् ।
जनावरको के कुरो गर्नु ? दश महिनासम्म कोखमा राखी जन्मदिएपछि पनि आफ्ना दश धारा दूध चुसाएर पालनपोषण गर्ने आमा र समस्त परिवारको संरक्षणमा पसिना खर्चने बाबुले पनि पाए जीवित छँदा वर्षमा एकपटक दशैंमा टीका थाप्दा र मरेपछि श्राद्घका नाममा एकदिने सम्मान त पाउने गरेका छन् । अरू दिन त उस्तै त छन् । अब त झन् बाबुआमासँग झैंझगडा र मुद्दा मामिला गरेर अंशको दाबी गर्ने सन्तानले उनको मान-सम्मानमा वर्षको एकदिन खर्चन पनि मुश्किल मान्न थालेको छ । आजको यो परिप्रेक्ष्यमा काम गरेर वा योगदान गरेर कसले के पाउँछ त ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो ।
पैसा र सम्पत्ति बाहेक के रह्यो त ? मान्छेभित्र रहनु पर्ने भनिएका भावना नै नरहेपछि स्वार्थ, लोभ र पदलोलुपता बाहेक उसका नजरमा कुनै कुराको कुनै महत्व कसरी रहन्थ्यो र ? त्यसैले त मान्छेले स्वार्थका निम्ति जे पनि र जसो पनि गर्छ’ भन्ने कुराले ठाउँ पाएको छ । यो आजको मानवीय प्रवृत्ति नै बन्न पुगेको छ । यसको व्यापकता संसारभरिका मानव जातिमा छ या नेपालीहरूमा मात्र, अध्ययनको विषय बनेको छ । हाम्रा चाड-पर्व, परम्परा र संस्कार आदिलाई हेरेर भन्दा त हामी यस मानेमा अघि पर्ने सम्भावना बढी छ ।
त्यसैले पनि होला अधिकार खोज्ने र चेतनाका कुरा गर्नेमा पनि अरूभन्दा अगाडि हामी नेपाली नै देखिन्छौं । भाषण र,सिद्घान्तका कुरा गर्नमा पनि हामी अगाडि नै छौं । त्यसो त हामी नेपाली धेरै कुरामा अगाडि छौं । परम्परा मान्नेमा पनि तोड्नेमा पनि, संस्कार बोक्नेमा पनि छोड्नेमा पनि, आस्तिक बन्नेमा पनि नास्तिक बन्नेमा पनि, अगाडि सर्नेमा पनि पछाडि पर्नेमा पनि प्रायः हामी नेपालीको नाम अगाडि नै छ । प्रकृतिका दृष्टिले हेर्दा पनि उस्तै अगाडि छ नेपाल । अग्लो सगरमाथामा पनि, होंचो कचनाकलनमा पनि, हिमाल, पहाडमा पनि तराईमा पनि, समथरमा पनि भीरपाखामा पनि अगाडि नाम नेपालकै आउँछ ।
भएको सम्पत्ति जति छोराछोरीका स्याहार-सम्भार र पठनपाठनमा लगाएर सकेका बुढाबुढीको रुल्लटुल्ल अनुहारको सम्झनासँगै बालबालिकाका अधिकारका चर्चा-परिचर्चा र नारा-जुलुसमा पनि नेपाली अनुहारकै सम्झना हुन्छ । नजरसामु दिनभर गिट्टी फोरेर वा माटो, सिमेन्ट मुछेर बाँझो खनेर वा भारी बोकेर दिनको अवसान पछि घर फर्कंदा किनेर ल्याएको अन्नले पेट भराएर हुर्काएका सन्तानबाट पिटिएर शरीरभरि घाउ देखिने आमाबाबुको अनुहार देखापर्छ । सोच्छु, त्यसरी दुःख गरेर तिनलाई जन्म दिंदा र हुर्काउँदा ती बुढाबुढीका मनमा के कस्ता कल्पना, चाहना वा भावना थिए होलान् ? कठै, तिनको भावना, चाहना र कल्पनासँग कसरी खेल्न सकेका होलान् आफ्नै सन्तान भनाउँदाहरूले ? सम्झँदा एउटा वितृष्णाभावको जागृति हुने गरेको छ । यो यथार्थ नेपालमा मात्रै होला कि अन्यत्र पनि ? प्रश्न गर्न मन लाग्छ—बालबालिकाका अधिकारका चर्का नारा उठाएर के के न गर्यौं भन्नेहरूले बुढाबुढी, बाबुआमा, सासूससुराकाहक-अधिकारका कुरो पनि उठाउलान् ?
अरू देशमा त कुकुर बिरालाका अधिकारका पनि कुरा उठ्ने गर्छन् । यूरोपीय महादेशतिरका धेरैजसो देशमा यस्तो परम्परा छ भन्ने कुराको उदाहरण सुन्न, देख्न, पत्रपत्रिकाका पानामा पढ्न पाइन्छ तर हामी कहाँ त आफूले जीवनभर खाइ-नखाइ गरेर कमाएको सम्पत्ति छोराछोरीले खर्च गर्न पाउने, अंशका नाममा मुद्दामामिला गरेर लिन, उपभोग गर्न पाउने, तर बाबुआमाले आफ्ना बुढ्यौतीका दिन गनेर एक्लै वा बुढाबुढी मात्रै बसेर बिताउनु पर्ने अवस्था आए पनि हक अधिकारका कुरा नउठ्ने ! तिनका रोगग्रस्त र निचोरिएका अनुहारमा एउटा होइन धेरै पीडा र व्यथाका धर्साहरू कोरिए पनि तिनको समस्या र पीडाको अध्ययन अनुसन्धान नहुने ! यो र यस्तै दर्द हाम्रा घरघरमा र समाजमा जताततै छन् । कसैले देखेका होलान् । कसैले अनुभव गरेका होलान् र बोलेका पनि होलान् तर धेरै त चुपचाप छन् ।
कतै छताछुल्ल पोखिएर र कतै उकुसमुकुससित गुम्सिएर रहेका यस्ता दर्दका बारेमा सोच्ने, सुन्ने र जान्ने फुर्सद धेरैलाई हुँदैन, छैन । लोकतन्त्र आयो । गणतन्त्र आयो । सबैका हक अधिकार आए । सक्ने सबैले हक अधिकारका निम्ति नारा, जुलुस गर्न पाउने भए । केही गर्न नसक्ने बाबु-आमाको हक अधिकार कता हराएछ कुन्नि ? उनीहरूप्रतिको पारिवारिक दायित्व कता गएछ कुन्नि ? मनमा यस्ता भावनाहरू सल्बलाइरहन्छन् । हिजो सासू-ससुराबाट प्रताडित बुहारीका कथा लेखिन्थे, पढिन्थे, सुनिन्थे । आज छोराबुहारीबाट प्रताडित बाबुआमाको कथा लेखिनुपर्ने अवस्था आएको छ, तैपनि सभ्य समाजका मान्यजनहरूलाई यसले छोएको छैन । उनीहरू सभ्यताका, परिवर्तनका, विकासका गफ हाँक्दै हिड्न छाडेका छैनन् ।
भन्छन् - देशमा परिवर्तन आएको छ । समाजमा परिवर्तन आएको छ ।
गुड्डी हाँक्नेहरू त हाँकिरहेछन् । आफैले परिवर्तन ल्याएको डङ्का पनि पिटिरहेछन् तर पीडितका, विचारकहरूका मनहरू भने सोच्दैछन्- यो कस्तो परिवर्तन हो ? जुन परिवर्तनमा दुःख र सुखका पाटाहरू विद्यमानै हुन्छन्, छन् । एउटा न एउटा पक्षको गुनासो जीवितै रहन्छ, छ । एउटा पक्ष शोषित भएको गुनासो हराएकै छैन । कतै न कतै एउटा न एउटा पक्ष पीडित हुनुपर्ने हाम्रो परम्परै पो हो कि ? एउटा पक्षले सधैं हार गुहार माग्नै पर्ने । एउटा पक्ष बोल्न नसकेर, हारगुहार माग्न नसकेर, आँसु मात्र चुहाएर बस्न बाध्य हुनुपर्ने ! या त हतियारै उठाएर महाभारत मच्चाउनु पर्ने !
आज पनि देवासुर-संग्राम, रामायण, महाभारतको परम्परा चलेकै छ । त्यतिबेलादेखि सुरु भएको आपसी युद्ध सकिएको छैन । पुराणको एउटा महिषासुर मारियो । एउटा रक्तबीज मारियो । पौराणिक कथाका बेन-नहुष, रावण- कुम्भकर्ण, शिशुपाल- कंस, दुर्योधन- दुःशासनहरू मारिए तर समाजमा अरू हजारौं हजार त्यस्तै र तिनैका प्रवृत्ति जीवितै छन्, जन्मिएकै छन् । एउटा-एउटा महिषासुर, रक्तबीज, बेन, नहुष, रावण, शिशुपाल, कंस आदि छँदाका युद्घ त सकिए तर तिनको सङ्ख्या र गतिविधि बढेपछि चलेका युद्घहरू निरन्तर चलेकै छन् । एउटा दुर्योधन छँदाको महाभारत सिद्धिए पनि हजारौं-हजार दुर्योधन जन्मेपछिको महाभारत चलेकै छ । चर्को विरोधमा एउटा वाद अस्ताए पनि अर्को वादउदाएको छ । एउटा अस्पृश्यता गए पनि अर्को आएको छ । एउटा भ्रष्टाचार घटे पनि अर्को बढेको छ । एउटा सामन्तवाद ढले पनि अर्को ठडिएको छ । एउटा जातिवाद गए पनि अर्को जातिवाद आएको छ । यस्तै हो भने जुनसुकै तन्त्र आए पनि हाम्रा निम्ति उस्तै त होला नि । जुनसुकै सिद्धान्त, दर्शन वा वाद अँगाले पनि मान्छेको निजी वा वर्गीय स्वार्थ बाहेक अरू के देखिएला त ? भनेर भन्नु पर्ने भएको छ ।
यसलाई मैले यसरी भन्ने गरेको छु—
विवेचना गर्नुपर्नेहरू चुपचाप किन ?
पदमात्र लिने काम, जिम्मेवारी छैन किन ?
व्यवस्था यो समाजको छिन्नभिन्न भयो किन ?
भोट मागी डलर झार्ने खेलो बस्यो दिनदिन । (ठूले राई’ खण्डकाव्य२०६०)
हुँदाहुँदै
लाज शर्म सबै त्यागी मान्छे नाङ्गो बन्यो किन?
मान्छे बेची बैंक भर्ने खेल चल्यो आज किन? पो हुन थाल्यो त ।
लैङ्गिक समानताका कुरा उठे । जातीय विभेदका कुरा उठे । तिनलाई हटाउने नीति नियम पनि बने, बनाइएकै छन्, तर भेद एकातिरबाट हरायो,अर्कातिरबाट उदायो । छोराछोरी बराबरी भनिंदै गयो, व्यवहारमा लेडिज फस्ट पनि रहिरह्यो, आरक्षणको माग पनि चलिरह्यो । यी दुई पक्ष कसरी मिल्छन् कुन्नि ?
समाजलाई समेटेर अघि बढाउने सोच कसले ल्याउने हो ? ल्याउने जिम्मेवारी कसको हो ? नेता छानेर र नेतृत्वको जिम्मा दिएर पनि समाजको सबै अवस्थाका बारेमा आफै सोच्नुपर्ने हो भने नेता छान्नुको अर्थ के ? सधैं मतदाता मात्र बनेर रहनुको अर्थ के ? सोच, योजना विना नै आएका भनाइ, नारा र चालचलनहरूले यस्तो अवस्थाको सिर्जना भएको हो भने त्यसलाई व्यवस्थित बनाउनै पर्ने होइन ? बनाउन, पार्न नसके समाजको अवस्था झन् झन् बिग्रन्न ? समाजको अवस्था बिग्रिए देशको अवस्था के होला ? हाम्रो हालत कस्तो होला ?
यस्ता शोचनीय कुरा थुप्रै छन् । त्यतातिर नेता- जनताको ध्यान कहिले पुग्ला ? नेताहरूमै सचेतता नआएको हो भने कहिले आउने ? जनता कहिले ढुक्क बन्न पाउने ? समाजको नेतृत्व गर्न तम्सने नेताहरूले उचित अनुचित ठम्याएर स्पष्ट कुरो राख्न किन डराउँछन् ? भद्रगोले नारा र अलपत्रे सिद्धान्तबाट समाजको गति सुध्रन्न बरु भत्कन सक्छ भन्ने कुरा किन सोच्दैनन् अगुवाहरू ? परम्परा, संस्कार र घर, विवेचना र योजना विना बनाउन पनि भत्काउन पनि हुन्न । बनाउन वा भत्काउन खोजियो भने दुःख पाइन्छ भन्ने कुराको हेक्का हुनैपर्ने हो । बालबालिका, महिलाका कुरा उठ्दा बुढाबुढीको पनि उठ्नैपर्ने हो । शिक्षकका कुरा उठाउँदा विद्यार्थी, अभिभावकका कुरा पनि उठाउनै पर्ने हो । पर्छ नै तर किन उठ्दैन? किन उठाउन्नन् ? हर एकको कुरासित अर्को पक्षको पनि कुरा उठ्नै पर्छ । नउठ्ने हो भने कसरी समानता हुन्छ ? कसरी विविधता हुन्छ ?