Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएर पिताको निधन भएपछि…

‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएर पिताको निधन भएपछि…

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएर पिताको निधन भएपछि…

रासस/दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका हिमाल आचार्यले बिहान ९ बजे बुवा, आमा र आफ्नो तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर ‘बुवाको मुख हेर्ने दिन’को शुभकामना दिएका थिए ।

सत्र वर्षीय हिमालले आफ्नो फेसबुकमा ‘बुबाको मुख हेर्ने दिनको धेरै–धेरै शुभकामना बाबा ! सदैव हजुरको दीर्घायु र खुसीको कामना गर्दछु । भगवानसँग यो नै प्रार्थना छ कि, हजुरको सबै नराम्रो र खराब समयको अन्त्य भई सधैँभर खुसी मिलोस् १ हरेक औँसीमा हजुरलाई स्वस्थ र खुसी हेर्न पाइराखुम् । अहिलेको यो जटिल समयको चाँडै अन्त्य होस् र हजुरलाई शीघ्र स्वास्थलाभको कामना बाबा १’ भनेर लेखेका थिए ।

हिमालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बुबाको दीर्घायु र स्वास्थ्यलाभको कामना गरेको केही क्षणमै उनका बुबा चन्द्रप्रसाद आचार्यको निधन भएको खबर प्राप्त भयो । जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि आफैंले काठमाडौँ सिफारिस गरी मागेर काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका चन्द्रप्रसादको निधन भएको खबरले अहिले गाउँ नै शोकमग्न भएको छ।

हप्ता दिनअघि सामान्य बिरामी परेका चन्द्रप्रसाद छ दिनअघि उपचारका लागि जिल्ला अस्पताल खोटाङमा भर्ना भएका थिए । जिल्ला कारागार खोटाङको सहलेखापाल पदमा कार्यरत चन्द्रप्रसादको काठमाडौँ पुगेको तीन दिनपछि बिहीबार बिहान करिब पौने नौ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङका साधारण सदस्यसमेत रहेका चन्द्रप्रसाद सेवाप्रति इमानदार, कर्तव्यनिष्ठ र मिलनसार कर्मचारी रहेको सङ्गठनका केन्द्रीय सदस्य मोहन भट्टराईले बताए । “देशभर साढे ८६ हजार निजामती कर्मचारी कार्यरत छन् । हाम्रो सङ्गठनका साधारण सदस्य चन्द्रप्रसाद आचार्य सय जनाभित्र पर्नुहुन्थ्यो”, उनले भने, “अल्पायुमै उहाँ (चन्द्रप्रसाद आचार्य)को निधन हुनु दुःखद् हो । देशले एउटा इमानदार र कर्तव्यनिष्ठ राष्ट्रसेवक कर्मचारी गुमाएको छ ।”

चन्द्रप्रसादको निधनले आचार्य वंशकै इमान्दार र सामाजिक व्यक्तित्व गुमेको नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताए । “दाजु चन्द्रप्रसाद आचार्य राष्ट्रसेवक कर्मचारीमात्र नभई सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्थ्यो । हामीले आचार्य वंशकै इमानदार र सामाजिक व्यक्तित्व गुमाउनुपरेको छ”, उनले भने, “राम्रा मान्छेको नै छिटो मृत्यु हुँदोरहेछ ! दाजुको निधन भएको खबर सुन्नासाथ गाउँ नै शोकमग्न छ ।”

मृतक चन्द्रप्रसादको शव अन्तिम दाहसंस्कारका लागि दिक्तेल ल्याउने तयारी भइरहेको जनाइएको छ । निमोनियाका कारण निधन भएका ४५ वर्षीय चन्द्रप्रसादको घरमा श्रीमती तथा एक छोरा र एक छोरी रहेको भाइ जीवन आचार्यले जानकारी दिए ।

घर खर्चका लागि कमाइ गर्ने अभिभावक (चन्द्रप्रसाद) को अल्पायुमै निधन भएपछि आश्रित परिवारको बिचल्ली छिमेकीले बताएका छन् । मृतक चन्द्रप्रसादको छोरा हिमाल १७ वर्षका छन् भने छोरी हिमाञ्जली १४ वर्षकी छन् ।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - २१:४२:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend