राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकको प्रमाणीकरण गर्र्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताउनुभएको छ ।
जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।
“देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रुपले स्वतन्त्रता, समानता र वन्धुत्वको अनुभूति गराउने कानुनी राज्य र सामाजिक न्यायको भौतिक सम्वृद्धिसँगै साहित्य, कला, क्रिडा, ज्ञान विज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै समुन्नत राष्ट्रसॅंग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौं भन्ने चाहना प्रत्येक नेपालीको हो”, उहाँले भन्नुभयो, “नागरिकता लिनबाट वञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्र्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ ।”
राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेशमा रहेको भन्नेमा आफू सधैँ दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“राष्ट्रिय एकता र रुपान्तरणमा मधेसको सबल भूमिका रहंँदै आएको छ र सँधै रहने कुरामा म विश्वस्त छु नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भने झैं म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सँंधै दृढ छु ।”
उहाँले समथर फाँंट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरलेमात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सँधैको अटल विश्वास रहेको स्पष्ट पार्नुभयो । “व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महान हो भन्ने आत्मवोधअनुकुलको वैयक्तिक चेतनाको संस्कार विकास नै सम्पूर्ण रुपान्तरणको प्रस्थान विन्दु हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
राष्ट्रपति पौडेलले हाम्रो स्रोत र साधनको उचित र उच्चतम् प्रयोग गरी हामी सबैले एकजुट भएर सामुहिक प्रयास गर्यौ भने जतिसुकै चनौतीपूर्ण भए पनि हाम्रो सपना चाँडै विपनामा परिणत हुनेछ भन्ने कुरामा सन्देह छैन भन्नुभयो ।
समग्र नेपाललाई खाद्यन्न आपूर्ति गर्ने अन्नभण्डारको उर्वर भूमि सिंचाईको बाँंझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको प्रसंग उल्लेख गर्दै उहाँले त्यही भएर सरकारमा रहँदा होस् या संसदमा समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाईभर्सनको लागि आवाज उठाउँदै आएको थिएँ भन्नुभयो ।
“आज त्यो सफलतातर्फ उन्मुख हुँदा म खुसीले गद्गद् भएको छु । अब बाँंकी हिस्साको सिञ्चाईका लागि सुनकोशी–तावा–कमला डाइभर्सनको काम थालिहाल्नुपर्छ भन्ने मेरो धारणा छ । यहाँ सिंचाईको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेसले खाद्यान्न आपूर्तिमा सिंगो नेपाललाई एकैसाथ काँध हाल्न सक्छ भन्नेमा मलाई कुनै शंका छैन”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
सो समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेपछि राष्ट्रपति पौडेलले प्रदेशलाई अधिकार दिन नेताहरूले कन्जुस्याई गरेको धारणा राख्नुभयो । उहाँले दिल खोलेर जनतालाई अधिकार दिन तीन मुख्य दलका तीन नेतालाई आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “हामीले संघीयता तल्ला तहलाई अधिकार दिन ल्याएको हो, तर भन्नैपर्छ अधिकार दिन कञ्जुस्याई भएकै हो, अब म तीन दलका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालको अध्यक्ष केपी ओलीलाई बोलाएरै भन्छु, यो जनताको आवाज हो जनतलाई अधिकार दिल खोलेर दिनुपर्छ ।”
उहाँले सबै जातजाति, वर्ग, समुदायको समानरुपले सम्मान हुनसकेमात्रै देशलाई एकताको सुत्रमा बाँध्न सकिने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले भन्नुभयो,“उन्नतिको बाटोमा अघि बढेर सुशासन दिन सकेमात्रै राष्टियता बलियो हुन्छ ।”
अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन भन्दै उहाँले त्यही भएर हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “मधेस प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति र कलाको गौरवमय, सुदीर्घ परम्परा रहेको छ । इस्लामी तहजीब र असनमा हामीलाई गर्व छ । धनुषाको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र मटिहानी मठ र रेजा मजार, सप्तरीको सखडा भगवती मन्दिर, सिरहाको सलहेस फुलवारी, रौतहटको वीरभूमि समनपुर, सर्लाहीको नारीमन ताल, बाराको गढीमाइ मन्दिर र सिम्रौनगढ, पर्साको अलौ र राष्ट्रिय निकुञ्जआदि धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू पर्यटकीय दृष्टिले महत्वपूर्ण हुन् । सबैको सहयोगले पर्यटन केन्द्रको रूपमा यी स्थलहरूको विकास हुनुपर्दछ ।”
नेपालको राजनीतिक इतिहासमा २००७ सालदेखि उठेका प्रत्येक लोकतान्त्रिक आन्दोलनहरूमा मधेस र खासगरी जनकपुरको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले यिनमा दुर्गानन्द झा, कामेश्वर, कुश्वेश्वरजस्ता अनेक ज्ञात अज्ञात दिव्यआत्माहरूले आफ्नो प्राणको आहुति दिएका छन्, म ती सबै सहिदहरूप्रति नमनसहित श्रद्धाञ्जली अर्पित गर्दछु भन्नुभयो ।
साथै यस अवसरमा महान लोकतान्त्रिक योद्धा, कीर्तिशेष सर्वश्री रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, बोधप्रसाद उपाध्याय, रामेश्वर बाबु, शेष इद्रिस, तेजबहादुर अमात्य, गजेन्द्रनारायण सिंह, रामराजप्रसाद सिंह, महेश्वरप्रसाद सिंह, शुर्यनाथ दास यादव, विष्णुबहादुर मानान्धर आदि सबै अग्रजको पावन स्मृतिमा उहाँंहरूप्रति निष्ठाका शब्द पुष्प चढाउँछु भन्नुभयो ।
देशमा आज हामी सबैले मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेका छौं र आज हामी सबैले एकतावद्ध भई सामाजिक न्याय स्थापनाको जगमा उभिई भौतिक समृद्धिसँगै राष्ट्रिय जीवनका सबै आयाम राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक, प्राज्ञिक, साहित्य, कलालगायतमा आएका स्खलनको पहिचान गरी राष्ट्रको सम्पूर्ण रुपान्तरणमा सक्दो सकारात्मक योगदान गर्नुपरेको छ भन्ने उहाँले बताउनुभयो ।
यही कारण मैले पटक–पटकका मधेस आन्दोलन र विद्रोहमा मधेसमै आएर शान्ति वार्ता गर्नेदेखि लिएर यहाँं उठेका आवाजहरूलाई यही जनकभूमिमा आई सम्वोधन २२ बुँंदे सहमति सम्पन्न गरेको हुँ र त्यसले संविधान निर्माणको आधारशिला खडा गरेको थियो भन्ने उहाँको भनाइ थियो ।
लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्ज आदरणीय महेन्द्र नारायण निधिको नाममा स्थापित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।
“यति विशाल उपस्थितिमा मधेस प्रदेश र जनकपुरको मुटुको विशालता प्रतिविम्बित भएको छ । यहाँहरूले मेरालागि अभिव्यक्त गर्नुभएका अपरिमेय अनुरागका शब्दहरूले मलाई अति भावुक तुल्याइदिएका छन् । सत्कार्यको कलम र स्वाँसको मसीले मातृभूमिको उज्ज्वल इतिहास रचेको म हेर्न चाहन्छु । म माता जानकीको आशीर्वाद चाहन्छु”, उहाँले भन्नुभयो ।
आजको यो भव्य नागरिक अभिनन्दन जीवनभरि मेरो मानसपटलमा स्वर्ण अक्षरले लेखेझै अमिट र अटल रहनेछ भन्दै उहाँले मेरा लागि उर्लेर आएका मायाका निम्ति म ऋणी छु र सदैव ऋणी रहनेछु भन्नुभयो ।
राजर्षि विदेह जनक र साक्षात् आदिशक्ति भूमि जानकीको प्राकट्यभूमि, याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रेयीको ज्ञानदीप्त धरित्री, विश्वकै प्रथम ग्रन्थ–ऋग्वेदको प्रथम मण्डलका मन्त्रद्रष्टा ऋषिको अवतरण–भूमि, न्याय, वैशेषिक, सांख्य, मीमांसाजस्ता गहन दर्शनको प्रतिपादन एवं अष्टावक्र महागीता तथा वृहदारण्यक उपनिषद्जस्ता महान् ग्रन्थ–अन्तर्निहित तत्वविमर्शकोपरा–चिन्तन–भूमि, सृष्टिको रहस्यबीज गर्भित यस देवस्थलको पावन भूमिमा पाइला टेक्न पाउँंदा आफू गौरवान्वित भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“म यहाँहरूको हृदयमा विराजित भगवत–तत्वलाई पटक–पटक प्रणाम गर्दछु ।”