Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मृतकहरु राउतको दैलेख र शाहको घर अछाम, प्राप्त भए यी थप जानकारी

मृतकहरु राउतको दैलेख र शाहको घर अछाम, प्राप्त भए यी थप जानकारी

नेप्लिज डायस्पोरा

१३, पौष २०८०
images
मृतकहरु राउतको दैलेख र शाहको घर अछाम,  प्राप्त भए यी थप जानकारी

काठमाडौँ । ललितपुरको बालकुमारीमा आज (शुक्रबार) भएको झडपमा मृत्यु भएका दुबै जना युवकको पहिचान खुलेको छ ।


शुक्रबार दिउँसोको झडपमा परी २३ वर्षीय सुजन राउत र २२ वर्षीय वीरेन्द्र शाहको नाम खुले पनि ठेगाना भने स्पष्ट भएको थिएन । राउत दैलेखको महाबु गाउँपालिका रानीवनका स्थायी बासिन्दा रहेको खुलेको छ । अहिले उनको परिवार नारायण नगरपालिका–६ काँडाचौर दैलेखमा बस्दै आएको छ ।

प्रदर्शनमा अचेत अवस्थामा भेटिएका राउतलाई इमाडोलस्थित किस्ट अस्पताल पुर्‍याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । राउतलाई गोली नलागेको अस्पतालले जनाएको छ । उनको छातीमा नीलडाम देखिएको छ । यस्तै अर्का मृतक शाह अछामको चौरपाटी गाउँपालिका–१ सिउँडीका स्थायी बासिन्दा हुन् । उनी टेकबहादुर शाह र दुर्गादेवी शाहका कान्छा छोरा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिएका छन् ।

शाहका हजुरबुबा नाता पर्ने बमबहादुर शाहले वीरेन्द्रको मृत्युको खबर सुनिएको पुष्टि गरे । ‘वीरेन्द्रका बुबा र म अहिले शव बुझ्न मोटरसाइकलमा निस्किसकेका छौँ,’ उनले भने, ‘धनगढीसम्म मोटरसाइकलमा गएर त्यहाँबाट हवाई जहाजमार्फत काठमाडौं पुग्छौँ ।’ कोरिया भाषा परीक्षा (इपीएस) मा सहभागी हुन नपाएका युवाहरुको प्रदर्शनमा प्रहरीले लाठ्ठी चार्ज गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला देवकोटा चढ्ने गाडी समेत जलाई दिएका थिए ।
यता घटनामा दुई युवकको ज्यान गए पछि गृह मन्त्रालयले छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ ।

 

गृह मन्त्रालयले गठन गरेको छानविन समितिमा उपत्यका प्रहरी कार्यालयका डीआइजी लालमणि आचार्य संयोजक छन् । सदस्यमा ललितपुर जिल्ला प्रशासन कार्यलयका सहायक सीडीओ अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक बासु सिग्देल रहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तीर्ण करिब २८ हजार परीक्षार्थीले औद्योगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन् । यसैबीच आजै उच्च अदालत पाटनले आन्दोलनरत सबै परीक्षार्थीलाई इपीएस परीक्षामा सहभागी गराउन आदेश दिएको छ ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - २१:०८:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend