१. मुक्तक:
सीधा-सादा जनतालाई, मुटुभित्रको काँडो भा'छ
पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा'छ
देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी
हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा'छ ।
©गोम विक्रम, कल्लाबारी, पाल्पा
मुक्तककारको छोटो परिचय: गोमविक्रम लामो समयदेखि विशिष्ट मुक्तक लेख्ने प्रतिष्ठित मुक्तककार हुनहुन्छ । उहाँको कलम चल्ने विधाहरू लघुकथा, कथा, गजल, कविता, मुक्तक, समीक्षा, लोकसाहित्य आदि हुन् र उहाँका धेरै संयुक्त कृतिहरू प्रकाशित पनि भइसकेकाछन् । "मगर संस्कृतिर परम्परा र गरिमा" (२०८०), समयका प्रतिध्वनिहरू मुक्तकसंग्रह (२०८०), समाजसेवी धुमबहादुर सोमै (जीवनी) (२०८१) आदि कृति प्रकाशित भइसकेका छन् । सामाजिक सञ्जालमा पनि उहाँका मुक्तकका पारखीहरू धेरै रहेकाछन् ।
मुक्तकको स्वरूप:
मुक्तक चतुष्पदी छ र हेर्दा आयताकार पनि छ । आवश्यक चिन्हहरूको प्रयोग पनि आवश्यक ठाउँमा गरिएको छ । "क क ख क" को ढाँचा पनि मिलेकोछ ।
अक्षरसंख्या र मिटर :
मुक्तकका सबै हरफहरू उच्चारणअनुसार १८/१८ अक्षरका छन् जुन अक्षरसंख्याको हिसाबले मुक्तककाे पर्याप्त गुण हो । यो मध्यम लम्बाइको मुक्तक हो । यसका सबै हरफहरूमा ८+८ को मिटर रहेको देखिन्छ । पहिलो, दोस्रो र चौथो हरफको हिसाबले यो उत्तम हो । तेस्रो हरफको मिटर फरक भइदिएकोभए सुनमा सुगन्ध हुनेथियो ।
अनुप्रास/तुक:
यसमा काँडाे, भाँडाे र घाँडाे तुकहरू राखिएकाछन् । यिनीहरू सबै "आडाे" अनुप्रासबाट बनेका अनुप्रासशब्दहरू हुन् । त्यसैले तुकहरू पूर्ण छन् र सही छन् । तीनवटै तुकहरू नामशब्द हुन् । मुक्तकमा तीनैवटा तुकहरू सान्दर्भिक पनि छन् ।
स्थायी :
यसमा नेपाली कथ्य भाषाकाे "भाछ" भन्ने शब्द स्थायी छ । याे "भएकाेछ" क्रियापदकाे छाेटाे रूप हाे । अनुप्रासअनुसार याे स्थायी सुहाएकै छ ।
अन्त्य स्वर :
मुक्तकमा तुक लाग्ने हरफहरूकाे अन्त्य स्वरभन्दा तुक नलाग्ने हरफ अथवा तेस्राे हरफकाे अन्त्य स्वर भिन्न हुनु राम्रो मानिन्छ । यसमा तुक नलाग्ने तेस्राे हरफकाे अन्त्य स्वर "इ" रहेकाेछ जुन अन्य हरफहरूकाे अन्त्य स्वर "अ" भन्दा फरक छ । त्यसैले यसमा अन्त्य स्वरकाे असंगति पनि विद्यमान छ ।
पहिलो हरफ :
"सीधा-सादा जनतालाई, मुटुभित्रको काँडो भा'छ"
संरचनाको हिसाबले यो हरफ एउटा क्रियापद भएकाे पूर्ण र सरल वाक्य हाे । यसमा मिटर छुट्याउन अल्पविराम चिन्ह पनि दिइएकाेछ ।
भावकाे हिसाबले मुक्तककाे याे पहिलाे हरफले देशका बहुसंख्यक सीधासादा जनताकाे मुटुमा काँडाे गढेको प्रशङ्ग उठाएकाेछ । "मुटुभित्रकाे काँडाे हुनु" नेपाली भाषामा प्रशस्त प्रयाेग हुने प्रतीक हाे । मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण , संवेदनशील र काेमल अङ्ग हाे । त्यसैमा तिखाे काँडा बिझ्याेभने के हाेला ? त्याे काँडो मुटुमा रहिरह्याेभने के हाेला ? पक्कैपनि ज्यादै कठिन परिस्थिति हाेला, पीडा हाेला, सहीनसक्नु हाेला । तसर्थ याे हरफले मानवीय संवेदनालाई स्पर्श गरेकाेछ । सँगसँगै के कुरा मुटुकाे काँडाे भएछ हँ भनेर पाठकलाई उत्सुक बनाउन पनि सफल भएकोछ । मुक्तककाे प्रशङ्गकाे उठान गर्न पनि याे हरफ सफल देखिन्छ ।
दोश्रो हरफ :
"पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा'छ"
संरचनाको हिसाबले याे हरफ पनि एउटा क्रियापद भएकाे पूर्ण र सरल वाक्य हो ।
भावकाे हिसाबले याे हरफले सामाजिक तथा राजनैतिक विकृति र विसंगतितर्फ संकेत गरेकाेछ । सत्तासीन दलहरूकाे नेतृत्वमा रहने वा पहुँच हुने बाठा मान्छेहरूलाई अचेल विकृति र विसंगति नै कमाईखाने माध्यम भएकाे कुरा याे हरफले उधिनेकाेछ । यस हिसाबले याे हरफ पहिलाे हरफसँग सम्बद्ध पनि छ र प्रशङ्गफाई अगाडि बढाउन पनि सक्षम छ । जुन कुरा सिधासादा जनतालाई मुटेकाे काँडाे भएकाेछ त्यही कुरा बाठाटाठाहरूका लागि कमाईखाने भाँडाे पनि भएकाे कुरा मुक्तककाे दाेस्राे हरफले पहिलाे हरफकाे साथ लिएर भनेकाेछ । तर त्याे के चिज हाे यहाँसम्म खुलेकाेछैन । त्यसैले यस हरफले पाठककाे उत्सुकताकाे पाराे अझै चढाएकाेछ । मुकतककाे दाेस्राे हरफमा हुनुपर्ने गुण नै यही हाे । यस हरफमा "कमाइ खाने भाँडाे" पनि एउटा सशक्त प्रतीक हाे जसकाे अर्थ कमाउने माध्यम हाे ।
तेस्रो हरफ :
"देश डुबाइ जानाजानी, नेता-दलको खिचातानी"
संरचनाकाे हिसाबले याे हरफ पूर्ण क्रियापद नभएका दुई वाक्यांशहरूकाे समूह हाे । यसमा जानाजानी र खिचातानी अनुप्रासशब्दहरू रहेकाछन् ।
भावकाे हिसाबले याे हरफले देशकाे दुर्गतिलाई समेटेकाेछ । दलहरू र नेताहरूका खिचातानी चलिरहेकाछन् । एउटाले अर्काेलाई छिर्की हानेर अगाडि बढ्न खाेज्ने र अर्काेले उसकाे खुट्टा तान्ने हालकाे नेपालकाे परिदृश्य हाे । यही क्रममा यी नेताहरूले र दलहरूले जानीजानी देश डुबाइरहेकाछन् भन्नेकुरा याे हरफले सिधै व्यक्त गरेकाेछ । त्यसैले पहिलाे र दाेस्राे हरफले अगाडि बढाएकाे प्रशङ्गलाई अन्त्यतर्फ माेड्न याे तेस्राे हरफ सफल छ ।
चौथो हरफ :
"हाम्रो देशको लोकतन्त्र, साँच्चै अचेल घाँडो भा'छ ।"
संरचनाकाे हिसाबले याे हरफ एउटा क्रियापद भएको सरल वाक्य हाे ।
भावकाे हिसाबले याे चाैथाे वा अन्तिम हरफ पनि देशकै विकृति र विसंगतिसँग सम्बद्ध छ । यो मुक्तककाे रहस्याेद्घाटन गर्ने वा पाठककाे मनमस्तिष्कमा झट्का दिने हरफ हाे र त्यस कार्यमा याे हरफ सफल पनि छ । सिधासादालाई मुटुकाे काँडाे हुने र बाठाटाठालाई कमाउने भाँडाे हुने चिज लाेकतन्त्र रहेछ भन्ने रहस्य यसले खाेलेकाे छ । लामो संघर्ष र ठूलाे बलिदानबाट प्राप्त भएकाे लाेकतन्त्र यति छिटै घाँडाे भइसकेकाे उद्घाेष गरेकाेछ याे हरफले । अघिल्ला तीनवटै हरूसँग अन्याेन्यास्रित सम्बन्ध स्थापित गर्न सकेकाेले चाैथाे हरफकाे सान्दर्भिकता पुष्टि हुन्छ ।
विषय/भाव/रस :
देशमा विद्यमान विकृति र विसंगतिकाे चिरफार गरेर तिनीहरूका विरुद्ध जनजागरण ल्याउने देशभक्ति मुक्तक हाे याे । यसमा व्यङ्ग्य पनि लुकेकाेछ । चाेट हान्न पनि याे मुक्तक सफल छ ।
अलंकार :
अभिधा, व्यञ्जना र लक्षणाहरूले मुक्तकलाई स्तरीय बनाउँछ । त्यसका लागि बिम्ब, प्रतीक, उखानतुक्का, उद्धरण आदि अलंकारहरूको प्रयाेग आवश्यक पर्दछ । यसमा बिम्ब र प्रतीककाे रूपमा "मुटुभित्रकाे काँडाे", "कमाई खाने भाँडाे", "घाँडाे", "चतुरे", "देश डुबाई" आदि प्रयाेग भएकाछन् । मुक्तकका हरफहरूमा अभिधा, लक्षणा र व्यञ्जना सबै अर्थहरू पनि पाइन्छन् । तसर्थ अलंकारकाे हिसाबले पनि मुक्तक उम्दा रहेकाेछ ।
शब्दचयन/मीतव्ययिता :
मुक्तकमा नचाहिने शब्द एउटै पर्नुहुँदैन र चाहिने शब्द एउटै छुट्नुहुँदैन । यस मुक्तकमा मुक्तककार शब्दचयनमा पनि सफल नै देखिनुहुन्छ । सबै शब्दहरू ठेट नेपाली छन् । शब्दहरू दाेहाेरिएकाछैनन् । अनावश्यक शब्द परेकाे छैन, आवश्यक शब्द छुटेकाे छैन । मुक्तक कसिलाे बनेकाे छ ।
कलाको प्रयोग :
मुक्तकलाई स्मरणीय, पठनीय र उदाहरणीय बनाउनु उत्कृष्ट कला हाे । पाठकहरूमा मुक्तकप्रति उत्सुकता पैदा गर्नु थप कला हाे । मुक्तककार यहाँ मुक्तकलाई कसिलाे बनाउने काममा सफल हुनुहुन्छ । बिम्ब र प्रतीकहरूकाे प्रयाेग, सबै हरफहरूमा समान अक्षरसंख्या, मिलेकाे मिटर, आदि तत्वहरू भएकाेले मुक्तक कलापूर्ण छ । तेस्राे हरफमा अनुप्रास शब्दहरूकाे प्रयाेगले सुनमा सुगन्ध थपेकाेछ । अभिधा, लक्षणा र व्यञ्जना सबैकाे प्रयाेग भएकाेछ । विषयवस्तु समसामयिक छ । मुक्तककारकाे व्यक्तिगत वैशिष्ट्यता पनि अर्काे कलाको रूपमा झल्किएकाेछ ।
भाषिक शुद्धता :
मुक्तकमा प्रयाेग भएका शब्दहरूमा अधिकांश अक्षरछनाैट, ह्रस्व-दीर्घ, कर्ता-कर्म-क्रियाकाे संगति, पदयाेग, वियाेग आदि मिलेकाछन् । आवश्यक ठाउँमा आवश्यक चिन्ह दिइएकाेछ । क्रियापदहरूकाे प्रशस्त प्रयाेग भएकाेछ । सबै हरफहरू सरल वाक्यमा छन् । तर "कमाईखाने" र "डुबाई" हुनुपर्नेमा अन्यथा भएकाेले केही भाषिक अशुद्धता पाइन्छन् ।
उपसंहार :
प्रस्तुत मुक्तक साँच्चै चोटिलो मुक्तक भन्न मिल्ने मुक्तक हो । यस्तै र अझै योभन्दा पनि स्तरीय मुक्तकहरू मुक्तककारकाे कलमबाट बगिरहून् , हार्दिक शुभकामना छ मेरो ।
गीतकार सतीश चापागाईको गीत तिम्रो मन कोमल छ...