Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साहित्यिक चौतारी नेपालको १२ औँ साधारण सभा सम्पन्न

साहित्यिक चौतारी नेपालको १२ औँ साधारण सभा सम्पन्न

नेप्लिज डायस्पोरा

९, आषाढ २०८३
images
साहित्यिक चौतारी नेपालको १२ औँ साधारण सभा सम्पन्न

वीरगन्ज । साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमा समेत सक्रिय योगदान दिने उद्देश्यले स्थापना भएको साहित्यिक चौतारी नेपालको १२ औँ साधारण सभा सम्पन्न भएको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकाली हुँदै देश र विदेशमा गरी कुल ४३ शाखा रहेको साहित्यिक चौतारी नेपालको गत शनिबार बिराटनगरमा १२ औं साधारण सभा सम्पन्न भएको हो ।

साहित्यको विकास र स्तरीयताका लागि साधारण सभाले आगामी कार्यदिशा तय गर्दै चौतारीलाई परिस्कृत संस्थाका रुपमा अझ उचाईमा पु-याउने रणनीति पनि बनाइएको संस्थाको अध्यक्ष गीता भण्डारीले बताइन् । देश विदेशमा पहिचान बनाउन सफल यो संस्थाले साहित्यानुरागीहरुको भरोसालाई अझ नयाँ उचाइमा पु-याउने लक्ष्य सहित विभिन्न श्रष्टाका कृति विमोचन, श्रष्टा सम्मान सहित रचना बाचन कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको पनि अध्यक्ष भण्डारीको भनाइ छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सभाको उद्घाटन गर्दै कोशीमा आगामी साउनबाट नै प्राज्ञहरुलाई थप टेवा पुग्ने गरी नीति नै अगाडी बढाउने उनले बताए । नेपाली भाषा र साहित्यको जगेर्नाका लागि मुलुक भित्र र बाहिर रहेर पनि एक दशक बढी अवधि पार गरेको संस्थाको प्रशंसा गर्दै उनले कोशी सरकारले पनि आगामी दिनमा साथ दिने जनाए ।

श्रष्टा सम्मान
कार्यक्रममा चौतारीका आजीवन सदस्य, समाजसेवी रामलामा अविनाशीले उपलब्ध गराएको नगद २५ हजारसहित श्रष्टा अनुप उप्रेती (निजगढ, बारा) लाई २० वर्षभन्दा कम उमेर समूहको ‘चौतारी युवा प्रतिभा अविनाशी अवार्ड’ प्रदान गरिएको छ । उप्रेतीले सानै उमेरदेखि साहित्यतर्फ सकृय रही अहिलेसम्म ‘सपना सौन्दर्य’ ई–पुस्तक र ‘प्रज्ञा महाकाव्य’ प्रकाशित गरिसकेकाले उनलाई यो सम्मान प्रदान गरिएको चौतारीका महासचिव रामप्रसाद सुवेदी संगमले बताए ।

त्यसैगरी साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष संस्थामा आबद्ध रही योगदान पु-याउँदै आएका मध्ये एकजनालाई दिने ‘श्रष्टा सम्मान’ सन्दीप सङ्ग्रौला दिलदुखीलाई प्रदान गरेको छ । प्रत्येक वर्ष सामाजिक चेतनास्तर माथि उठाउन सकृय भूमिका खेल्ने शाखाहरु मध्ये दुई शाखालाई प्रदान गर्दै आएको सम्मान यो वर्ष बागमती र मधेश शाखालाई पनि सम्मान गरेको सचिव शिरिष बन्जाडेले बताए ।

प्रत्येक बर्ष चौतारीले प्रकाशित गर्ने नियमित मुखपत्रका रुपमा रहेको विमोचित कृति चौतारी अंक ८, साहित्यिक चौतारी नेपाल अमेरिका शाखाद्वारा पहिलो प्रकाशित कृति ‘शब्द–चौतार’ र अमेरिकामा नै बसी नेपाली साहित्यको उत्थानमा लागिरहेका जीत बरालको ‘गाँस ,बास र जिन्दगी’ गरी तीन कृतिहरु कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विमोचन गरे ।

सामाजिक कार्यतर्फ चौतारी
चौतारीले सामाजिक कार्यतर्फ मुटुरोगी, दूर्घटनामा अंगभंग भएका, नशारोग पीडित झापाको भद्रपुरकी अरुणा श्रेष्ठ (अनु) लगायत अन्य जटिल रोग लागेका व्यक्तिहरु गरी स्थापनाको १२ वर्षमा ३८ लाखसम्मको आर्थिक सहयोग गरेको संस्थाको अध्यक्ष भण्डारीले बताइन् । कोरोना कालमा विदेश (ग्रीस) मा दिवंगत भई अलपत्र परेका ७ जना नेपालीको शव नेपालसम्म ल्याउन चौतारी ग्रीस शाखाले भूमिका खेलेको पनि जनाइएको छ । भूकम्प र बाडी पहिरो जस्ता प्राकृति विपतमा चौतारीका जिम्मेवार सदस्यहरु स–शरीर विभिन्न ठाउँमा उपस्थित भई सहयोग गरेको पनि चौतारीले दावी गरेको छ ।

देशका २८ विद्यालयमा चौतारीको शाखा
चौतारीले देशभरका विभिन्न २८ वटा विद्यालयमा साहित्यिक चौतारी नेपालको एकाई गठन गरी नेपाली भाषा र साहित्यलाई जगेर्ना गर्न विद्यालयस्तरमा विद्यार्थी र अध्यापन गराईरहेका नेपाली शिक्षक र शिक्षिकालाई पनि भाषागत ज्ञानको लागि प्रशिक्षण दिएको छ ।

चौतारीको सो साधारण सभामामा कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्की, विशिष्ट अतिथि सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, चौतारीका वरिष्ठ सल्लाहकार प्रा. डा. भीम खतिवडा, विभिन्न तहका प्राज्ञ साहित्यकार, स्रष्टा, पत्रकार र सातै प्रदेश र विदेशबाट पनि साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो ।

May be an image of temple, dais and text

 

 

 

images
प्रकाशित मिति :आषाढ ९, २०८३ मंगलवार - २०:१२:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend