Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विदेश भन्दा स्वदेश नै ठीक

विदेश भन्दा स्वदेश नै ठीक

सतीश चापागाईं

१९, आश्विन २०७५
images
  बेदानन्द जाेशी   काठमाडौं – बालाजुबाट बनस्थलीतर्फ सडकको एक छेउमा सिलौटा, जाँतो र ओखल बेच्नका लागि राखिएका छन् । ढुंगामा बुट्टा कुँदेर बनाइएका ती सिलौटाहरु टाढैबाट आकर्षक देखिन्छन् । गाडीले उडाएर ल्याएको धुलोधुवाँले सिलौटालाई सेताम्य पारेको छ । र त्यही धुलोधुवाँमा बसेर भैरहवाका दिपक कुसवाडिया ढुंगामा आफने भाग्य खोज्न व्यस्त देखिनुहुन्छ । ‘हामी कुसवाडिया हौं । हाम्रो जातैले सिलौटा बनाएर खाउ भनेर दिएको छ’ ढुंगामा हतौडाले हान्दै दिपकले भन्नुभयो, ‘विदेशमा यो सीपको माग छैन । अरु कुनै सीप सिकेको पनि छैन । अर्काको लेबर गर्नको लागि विदेश जानै मन लागेन ।’ पन्ध्र वर्षदेखि यहीँ काम गर्दै आउनुभएका दिपक दुई वर्ष अघिसम्म बुटवलमा नै सिलौटा बनाउने काम गर्नुहुन्थ्यो । दुई वर्षअघि उहाँ काठमाडौं आउनुभयोे र यतै आफ्नो काम गर्न थाल्नुभयो । बुटवलबाट ल्याएका कच्चा ढुंगालाई आफ्नो सीप र जाँगर लगाएर उहाँले सिलौटा, जाँतो र ओखलमा ढाल्नुहुन्छ । यसरी बनाइएका सिलौटाको मूल्य पाँच सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । जाँतो बनाउन बढी मेहनत र ढुंगा खर्च हुने हुँदा त्यो अलि महंगो छ । एउटा जाँतोको कम्तीमा पनि दुई हजार रुपैयाँ पर्छ । बढीमा चार हजार रुपैयाँसम्म पर्ने जाँतो बनाउने गरेको उहाँले बताउनुभयो । आँखामा चस्मा र मुखमा मास्क लगाएर उहाँ ढुंगालाई हतौडाले हिर्काउदै नयाँ आकार दिने गर्नुहुन्छ । यसरी हिर्काउँदा उछिट्टिएका ढुंगाका टुक्राले आँखा र अनुहारमा चोट लाग्ने भएकाले मास्क र चस्मा लगाएर काम गर्नुपर्छ ।, उहाँले भन्नुभयो, ‘सुरुमा सिक्दा त यस्ता चोट कति लागे कति ।’   सिलौटा बनाउनको लागि चाहिने ढुंगा उहाँले बुटवलबाटै ल्याउनुहुन्छ । ती ढुंगाहरु काठमाडौं पुर्याउँदासम्म एउटाको मूल्य करिब दुईदेखि चारसयसम्म पर्न आउँछ । त्यसमा लाग्ने मेहेनत र समयको तुलनामा कमाई कमै भएपनि जेहोस गुजारा राम्रै चलेको उहाँले बताउनुभयो । ‘कुनै दिन बोहोनी पनि हँुदैन । कुनै दिन पाँच/छ ओटा सिलौटा पनि बिक्री हुन्छन् ।’ उहाँले भन्नुभयो, ‘जेहोस् महिनामा २५÷३० हजार रुपैयाँ जति कमाई हुने गरेको छ ।’ कमाई ठिकै भए पनि काम गर्दा बिभिन्न समस्या झेलिरहेको उहाँले दुखेसो पोख्नुभयो ।, ‘महानगरका प्रहरीले बस्नै दिँदैन । सामानहरु उठाएर लग्छ’ उहाँले भन्नुभयो । उहाँले सडक पारि फोहोरको थुप्रो देखाउँदै भन्नुभयो, ‘सडकमा यसरी फोहोरको खात लगाउँदा केही नहुने, हामीहरुले गरिखान्छु भनेर बस्दा पनि यिनीहरुको टाउको दुख्ने, नेपालको सरकार पनि कस्तो कस्तो ?’ नेपालको लोपोन्मुख जाति मानिएको कुसुण्डालाई सरकारले प्रति परिवार सदस्य मासिक दुई हजार रुपैयाँ भत्ता दिने गरेको छ । त्यो भत्ता दिपकले पनि पाउनुहुन्छ । तर भत्ताले खान लाउन नसकिने भएकाले आफ्नो पेसा नधानी नहुने उहाँको भनाई छ । उहाँको परिवारमा चार दाजुभाइ, भाउजु र आमा हुनुहुन्छ । आमा र भाइ भैरहवामा तथा दाइभाउजूहरु यतै नयाँ बसपार्क र चावहिलतिर यस्तै सिलौटा बनाउने काम गर्दै हुनुहुन्छ । उमेरले २६ वर्ष लागेका दिपकले बिहे भने गर्नुभएको छैन । ‘राम्रो कमाएर सेटल नभएसम्म बिहे गर्ने सोचेको पनि छैन’ दिपकले भन्नुभयो, ‘बरु आफ्नो कामलाई अझै व्यवस्थित ढंगले सञ्चालन गर्नको लागि सटरको खोजीमा छु, तर भेटाउन सकेको छैन’ उहाँले हाँस्दै भन्नुभयो, ‘मेरो भाग्य यही ढुंगामा नै छ ।’ उज्यालो

images
प्रकाशित मिति :आश्विन १९, २०७५ शुक्रवार - १९:२७:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend