Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

नेपाल छाडेपछि भाग:-३ (कविता) - शंकर ढकाल

नेपाल छाडेपछि भाग:-३ (कविता) - शंकर ढकाल

सतीश चापागाईं

९, श्रावण २०७६
images
(छन्द : शार्दूलविक्रीडित) माता मानवता सिकाउन सकूँ माया गरी पावन गाेर्खाली सुत हूँ गभीर म बनूँ नेपालमा चम्कन । अाशा लक्ष्य समाप्त पुष्पपथमा याे देश हाँक्नेछु म छाती गर्व गरी फुलाइ शिरमा राखेर बाँच्नेछु म ।।३१।। जागूँ ज्याेति छरेर देवघरमा माटाे बनाेस् उर्वर अर्काकाे दुखमा सघाउन सकूँ त्यागेर पीडा पर । के के हुन्छ हुँदैन थाह कहिल्यै उठ्दा बिहानीपख जे जे गर्नु छ गर्नुपर्छ अहिल्यै पर्दैन मान्नू चख ।।३२।। नानी बन्न सकूँ दुवै नयनकी देखूँ उज्यालाे दिन मेराे वर्णन हाेस् म काे हुँ जगले सम्झेर जानाेस् ऋण । नङ्गा बाह्र खियाउँदै भरिभुडीँ खानेछु मीठाे भुजा खेती गर्न अझैँ बनाउँन सकूँ पाषाणलाई धुजा ।।३३।। लाली फूल मुसुक्क हाँस्न वनमा सक्दैन चम्पा किन क्वैली गीत सुनाउँदैन सुरिलाे तारा बनी चम्किन । अत्याचार बढेछ दैनिक अझैँ संस्कार जाेगाउन स्वार्थी देश म बस्न सक्दिनँ कठै! माता सकूँ फर्किन ।।३४।। खै दाैरासुरुवाल गर्दन भने दाम्लाे दाम्लाे बनायाे सुन डम्फू मादल शङख कहिल्यै मीठाे दिएनन् धुन लप्सीकाे चटनी ढिँडाे गहुँ चना सम्झेर भाेकै छु म केही गर्नु छ गर्छु कल्मष यतै छाडेर फर्किन्छु म ।।३५।। सानाे छैन विशाल लाग्छ नभमा देखिन्छ तारा सय अामा! काख बसी निदाउँछु भने भाग्नेछ अाफै भय । अाराेही हिमशैल छन् विविधता भाषा कला सुन्दर शालिग्राम म खाेज्न अाउँछु छिटै फर्केर अाफ्नै घर ।।३६।। धर्तीकाे मुटुकाे म डाक्टर बनी सेवा गरूँ दैनिक माटाे भन्छ स्वदेश राख शिरमा संस्कार छाेरा सिक । अाँखादेखि निकाल्नुपर्छ बिजुली देखिन्न कालाे छवि माटाे चन्दन हाे लगाउँछु म ता बन्नेछु सच्चा कवि ।।३७।। प्रात: हेर्न हिमाल उच्च छहरा पाएनँ अामा म त चिन्तादेखि चिता म पुग्छु कि कसाे झन् बिग्रियाे अादत । माटाे हुन् गुरुमा म शिष्य उनकी प्यारी बनूँ के गरी छाडी देश हुँदैन शान्ति मनमा फर्केर अाऊँ हरि ।।३८।। वर्षायाम हुँदैन धान कसरी राेपूँ रमाई यता सम्झी रुन्छु पखाल्न सक्दिनँ व्यथा नेपालका सम्पदा । पैसा धेर कमाइ बन्दिनँ म ता चाैधै जगत्-काे धनी स्वप्नामा पनि अाँसु झर्छ धुरुरू नेपाल जाऊँ भनी ।।३९।। पाेखूँ रङ्ग मसी दलेर कसरी कापीहरूमा पिर फर्की देश बनाउँने प्रण गरी काटूँ सिमाना शिर । माटाेकाे ममता म बुझ्दिनँ भने के काम मेराे तन काया बस्छ रुँदै यतातिर उता फर्किन्छ भित्री मन ।।४०।। अाएँ दूर म कानमा तर सधैँ गुञ्जन्छ झन् मादल माैरीकाे प्रतिभा न चाेर्छु रिपुले मेराे न जन्मस्थल । ईच्छा शक्ति छ शैलझैँ धरहरा ठाड्नेछु तारा छुने अाशीर्वाद दिनू अपार जननी नेपालमै फर्किने ।।४१।। किड्नी एक झिकी बचाउन जुनी छाड्छाै तिमीले पर के चाहिन्छ स्वदेशमा भन स्वयं फर्के उमाशङ्कर । अत्याचार सही निरन्तर पिई अन्याय पीडा पिर बिन्ती गर्छु बुबा म अाउँन सकूँ नेपाल माटाेतिर ।।४२।। पैसाकाे ललिका म देख्दिनँ यता हाँसाे खुसीकाे दिन कायाले खुकुरी समात्न नसकी थाल्याे निकै साेसिन । बेची रक्त कुनाकुना म पसिना तिर्नेछु अाफैँ ऋण ए देवी परमेश्वरी भगवती पाऊँ छिटै फर्किन ।।४३।। चाेखाे प्यार हुँदैन देख्न जननी नपाए तारा-जून गालासम्म मुसार्न अाज नसके के काम मेरा भुज । लाली अाेठ मुसुस्क हाँस्छ कहिले साेध्दैछु ए पार्वती केही हुन्न उता खुरुक्क गेह भनिद्याेै फर्केर अाऊ पति ।।४४।। अाऊँ देश म ता विलम्ब नगरी सप्रिन्छ चाँडै गति सादा जीवन सार उच्च प्रतिभा ज्यूँदै छ मेराे कति । हूँ अादित्य सधैँ प्रकाश म छरूँ अाकाश झैँ व्यापिदै देवीकाे अपमान राेक्न नभुली नेपाल अाऊँ सिधैँ ।।४५।। भन्छन् डाक्टर राेग जण्डिस छ रे छैनन् पहेँला वन देखी! छक्क परेँ उमेर बिसमै तिम्राे सुकेकाे मन । धर्तीमै उपचार छैन यसकाे बाँच्छाै कि मर्छाैँ अब सक्दैनाैँ जिउँदै त फर्किन तिमी नेपाल भुल्नू सब ।।४६।। लाग्याे राेग कराल लाश जिउँदाे के लत्रिदै फर्किने भन्दा बाबु जवाफ जन्मघरमा बाेली झुटाे के दिने । अामा माफ दिनू पुगेन अहिले भन्ने मलाई बल के गर्ने उपचार घाउ मुटुकाे बिर्सेर जन्मस्थल ।।४७।। अाऊँ जन्मथलाे भनेर जननी साेध्दैथिएँ दैनिक तिम्राे देश बनाउँने प्रण गरी अाशीष मायासित । के गर्ने अलमल्लमा अब परेँ याे भूमिमा बस्दिनँ केही छैन उपाय फर्किन कठै! नेपालमा सक्दिनँ ।।४८।। पाऊँ अाशिक बारबार जननी नेपालमा जन्मिने माटाेमा पसिना र साँध दशमा याे जिन्दगानी दिने । मेराे रक्त मिसाइ उत्तर बगाेस् नारायणी जल जाेडी हात प्रणाम गर्दछु सधैँ साैन्दर्य जन्मस्थल ।।४९।। मेराे दु:ख बुझी अरू सुतसुता नेपालै चम्किऊन् अाफ्नै देश बनाउने प्रण गरी सत्कार्यमा लम्किऊन् । पुर्खाकाे इतिहास राख्न दिलले याे देश चिन्ने बनून् चल्दा अन्तिम श्वाससम्म धमनी नेपाल हाम्राे भनून् ।।५०।। - तानसेन न. पा . -७ काजीपाैवा, पाल्पा । हाल:-भारत । (- शंकर ढकालको कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक।)

images
प्रकाशित मिति :श्रावण ९, २०७६ बिहिवार - ०८:१६:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend