रमेशले पृथ्वीनारायण शाहको तस्विर देखाउँदै आफ्नो छोरीलाई सोधे - "छोरी यो को हो ?"
" नेपाल एकिकरण गर्ने राजा पृथ्वीनारायण शाह हुन् बाबा ।"
उनले फेरी चार शहिदको तस्वीर देखाउँदै सोधे - "यिनीहरु को हुन् नि ? "
"आफ्नो देश र जनताका लागि आफ्नो ज्यानको बलिदान दिने वीर शहिदहरु हुन् ।"
उनले फेरी लक्ष्मी प्रसाद देवकोटाको तस्विर देखाउँदै सोधे - "यो नि ??"
साहित्यका चारै विधा (निबन्ध नाटक आख्यान कविता) मा कलम चलाउने
मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितीय कृतिहरूका रचयिता महाकवि लक्ष्मीप्रसाद देवकोटा हुन् ।"
उनले फेरी पारिजातको तस्विर देखाउँदै सोधे - "यो ??"
"साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभा सम्पन्न नारी साहित्यकार पारिजात हुन् ।"
उनले फेरी फ्लोरेन्स नाइटिङ्गेलको तस्विर देखाउँदै सोधे - "यो ??"
"सेवा नै धर्म हो भनि निश्वार्थ भावले बिरामीको सेवामा अहोरात्र खटिने महान् नर्स फ्लोरेन्स नाइटिङ्गेल हुन् ।"
उनले यसरी नै थुप्रै बिशिष्ट व्यक्तिहरूको तस्विर देखाउँदै गए छोरीले चिन्दै गइन् । त्यसपछि उनले आफ्ना केही साथीहरुका फोटा देखाए छोरीले कसैलाई पनि चिनिनन् ।
त्यसपछि उनेले छोरीलाई फेरि एउटा प्रश्न गरे "तिमीले यिनीहरूलाई चिन्यौ तर यिनीहरुलाई चिनिनौ किन ?"
छोरीले भनिन् "मैले यिनीहरुको बारेमा किताबहरुमा पढेको थिएँ । सरहरुबाट सुनेको थिएँ । तर यिनीहरुको बारेमा मलाई कसैले पनि भनेन । मैले पढेको किताबहरुमा पनि भेटेको छैन ।"
"हो छोरी यी तस्विरहरुमा तिमीले चिनेकाहरुलाई सबैले चिन्दछन् र तिमीले नचिनेकाहरुलाई उनीहरुका आफन्तले चिन्लान् , भेट भएकाहरुले चिन्लान् अरुले चिन्दैनन् । इतिहासमा नाम तिनैको लेखिन्छ जसले केही न केही महान काम गरेर यो समाजमा आफ्नो छाप छोडेको हुन्छ । यस्ता मान्छेको शरीर मरेर गए पनि उनीहरु यस संसारमा सदा जिवितै रहन्छन् । उनीहरुलाई यो पुस्ताले मात्र होइन पुस्तौँ पुस्ता पछिसम्मका मान्छेले पनि चिन्दछन् ।
- दुराडाँडा लमजुङ हाल : गैंडाकोट नवलपुर ।