एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले मेरिल्याण्डमा सवारी दुर्घटनामा परेर एउटा खुट्टा गुमाएकी अर्चना रेग्मी पोख्रेलको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुली, एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, एनआरएनएन मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष तथा आईसीसी मेम्बर जेदु पोख्रेल, एनआरएनए कोरियाका पुर्व अध्यक्ष राजु क्षेत्रीको बिशेष उपस्थितिमा परिवारलाई यो रकम हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण समारोहमा परिवारका तर्फबाट अर्यालका श्रीमान सुबर्ण पोख्रेल आएका थिए।बाटोमा हिड्दै गर्दा एम्बुलेन्सली ठक्कर दिएर अर्चनालाई घाईते बनाएको उनका श्रीमान सुबर्णले बताए। अहिले अर्चना अस्पतालबाट डिस्चार्ज भएर घर मै आराम गरिरहेकी छिन। दुर्घटना कै कारण उनको एउटा खुट्टा काटेर फाल्नु परेको श्रीमान सुबर्णले बताए।
अर्चना दुर्घटना परेपछि एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले तत्काल गो फण्ड शुरु गरेको थियो। च्याप्टरले गो फण्ड शुरु गरेपछि सबैले सहयोग गर्न आग्रह गरेका थिए। महाबाणिज्य दुत प्रेमराजा महतले सार्बजनिक अपिल गर्दै सबैसंग सहयोगको आव्हान गरेका थिए।
एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरको कार्यालयमा उक्त हस्तान्तरण गरिएको थियो। अर्चना र उनको परिवारलाई सहयोगमा उठेको रकमबाट शुल्क कटाएर १८ हजार ८ सय तीन डलर हस्तान्तरण गरिएको हो।
मेरिल्याण्ड च्याप्टरले उदाहरणीय काम गरेको र अरु च्याप्टरहरुले पनि मेरिल्याण्ड च्याप्टरबाट सिक्नु पर्ने विचार बरिष्ठ उपाध्यक्ष पन्तले राख्नु भएको थियो।
"मेरिल्याण्ड च्याप्टरको उद्देश्य भनेको यस्तै अफ्ठेरोमा परेको नेपाली परिवारलाई सहयोग गर्ने हो। हामी निरन्तर अगाडी बढ्ने छौं।" मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले भन्नुभयो।
नेप्लिज डायस्पोरासंग कुरा गर्दै महासचिव प्रविन खड्काले समाजका हरेक घटनामा गोफण्ड खोल्ने परम्पराको विकल्प खोज्न आफुहरुले ईमरजेन्सी फण्ड स्थापना गर्न खोजेको बताउनु भयो। "तत्काललाई गो फण्ड ठिकै हो तर पछी सधै यसरी जान सकिदैन।" खड्काले भने।