Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

टीपीएस र आप्रवास कानुनबारे नेजाद्वारा अन्तरक्रिया

टीपीएस र आप्रवास कानुनबारे नेजाद्वारा अन्तरक्रिया

नेप्लिज डायस्पोरा

५, आषाढ २०८०
images
टीपीएस र आप्रवास कानुनबारे नेजाद्वारा अन्तरक्रिया

जुन १८, अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) र आप्रवास कानुनका बारेमा जुम अन्तरक्रिया गरेको छ ।
जुन १८, २०२३ साँझ भएको उक्त अन्तरक्रियामा अमेरिकी आप्रवास कानुनविद् रमेश श्रेष्ठ र अमेरिकामा सक्रिय अधिकार संस्थाकी अभियान संयोजक प्रार्थना गुरुङ एवं अनिल शाहीले टीपीएस र अमेरिकी आप्रवास कानुनबारे प्रकाश पार्दै सहभागीहरूका प्रश्नको जवाफ दिनुभएको थियो ।  


सो अन्तरक्रियामा कानुनविद् श्रेष्ठले टीपीएसमा रहेका व्यक्तिहरूले आफन्तहरूलाई अन्य भिसामा आएका व्यक्तिसरह नै आफन्तहरूलाई अमेरिकामा आमन्त्रण गर्न सक्ने जानकारी दिनुभयो । फरक प्रसंगमा उहाँले भन्नुभयो, ‘टीपीएसमा रहेकाहरूले छोटो अवधिका लागि यात्रा कागजात (ट्राभल डकुमेन्ट) बनाएर अमेरिका बाहिर भ्रमणसमेत गर्न सक्नेछन् ।’


अधिकारकी अभियान संयोजक गुरुङले टीपीएस नवीकरणका लागि अधिकारले अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया, टेक्सासलगायकाका स्थानमा निःशुल्क टीपीएस क्लिनिक सञ्चानलनको तयारी गरेकोसमेत जानकारी दिनुभयो ।


यस्तै, अभियानकै अनिल शाहीले टीपीएसको समयावधि थपका लागि मात्र नभई टीपीएस वाहकलाई स्थायी रुपमा अमेरिका बस्ने प्रबन्धका लागि दबाबमूलक अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।


अमेरिकाले नेपाललगायत चार मुलुकका टीपीएसधारीका लागि १८ महिनाको समयावधि थप गरेको सन्दर्भमा नेजाले सो अन्तरक्रिया आयोजना गरेको हो । हाल टीपीएस प्राप्त १४ हजार ५ सय नेपाली रहेका छन् । सन् २०१५ मा नेपालमा महाविनाशकारी भूकम्प गएपछि सो समयमा अमेरिकामा रहेका नेपालीहरूका लागि टीपीएस सेवाको घोषणा गरेको थियो ।


म्याद सकिन केही महिना बाँकी रहँदा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी डीएचएसले गत १३ जुन, २०२३ मा १८ महिनाका लागि टीपीएसको अवधि थप गर्ने घोषणा गरेको हो । नेपालसँगै एल साल्भाडोर, होन्डुरस र निकारागुवाको पनि टीपीएस सुविधाको म्याद थप गरिएको छ । अब आउँदो २४ अक्टोबरदेखि २३ डिसेम्बरभित्र टीपीएस स्टाटसमा रहेकाहरूले म्याद थपका लाग पुनः दर्ता गर्नुपर्ने छ ।


नेजाका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको सो अन्तरक्रियाको सञ्चालन महासचिव बाबुराम दाहालले गर्नुभएको थियो भने उपाध्यक्ष सुजन पण्डितले स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, पूर्वअध्यक्ष भोला आचार्यलगायतले धारणा राख्नुभएको थियो ।
अन्तरक्रियामा नेजाका पूर्वअध्यक्ष, सल्लाहकार, कार्यसमिति पदाधिकारी तथा सदस्य एवं विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव बाबुराम दाहालले जानकारी दिनुभयो ।

भिडियो हेर्न तलको युट्युब लिंक हेर्नुहोला ।
https://youtu.be/8zDK2YTJHWE


बाबुराम दाहाल
महासचिव

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०८:३२:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend