रोशनबहादुर सिंह
अमेरिका
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले नेपाल क्रिकेटलाई एक दशक भन्दा बढि समय नेतृत्व गर्दा जस्तो भूमीका खेलेका थिए । त्यस्तै भूमीकालाई आगामी दिनमा उनले क्रिकेटलाई ब्यवस्थापनका रुपमा अगाडी बढाउने लक्ष्यका साथ क्रिकेटको राजनितीमा होमिएका छन ।
एक साता भन्दा अगाडी भएको काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्विरोध विजयी भएका पारसले एक पाइला अगाडी बढ्दै बागमती प्रदेशको निर्वाचनमा आफुलाई अध्यक्षको पदका लागि उभ्याएका छन ।
पारसलाई बागमती प्रदेशको अध्यक्षमा उभ्याउनका लागि काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाले साथ दिन अठोट गरेका छन । जसका कारण उनी यो पदमा विजयी हुने संभावना निकै बलियो देखिएका छ । करिव १७ बर्षको खेलाडी जीवनबाट सन्यास लिएका पारस नेपाली क्रिकेटको उतावचडावमा प्रत्यक्ष संलग्न रहेका खेलाडी हुन ।
नेपाली क्रिकेट चार बर्ष भन्दा बढि समय आइसीसीको प्रतिबन्धमा पर्दा पारसले नै टिमलाई सम्हालेका थिए । खेलाडी जीवन त्यागेपछि पारस अब नेपाल क्रिकेट संघको ब्यवस्थापनमा आउने चर्चा त्यहि बेला नै चलेको थियो । तर क्यानको नियमावली अनुसार खेलाडी जीवन त्यागेको दुई बर्षसम्म कुनैपनि जिल्ला, प्रदेश वा क्यानको निर्वाचनमा सहभागि हुन नपाउने नियम अनुसार उनी यो बिचमा आफ्नो रणनिती बनाउनमा ब्यस्त बनेका थिए ।
जब क्यानको नयाँ निर्वाचनको मिती तोकियो र जिल्ला र प्रदेशको निर्वाचनको मिती तोकियो, त्यसपछि पारस चर्चा मैदान बाहिर बढेको छ ।
पारसलाई काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले, ललितपुरका अध्यक्ष शेखर श्रेष्ठ, भक्तपुरका अध्यक्ष मनिषराज पाण्डे र मकवानपुरका अध्यक्ष करण महत्रा क्षेत्रीले एक पत्रकार सम्मेलनमा नै खुल्ला रुपमा बागमतीको अध्यक्षका लागि साथ दिने घोषणा गरेका छन ।
बागमती प्रदेशको अध्यक्ष बन्नका लागि भोटको अंकगणित
बागमतीमा कुल ३७ मत रहेको छ । जसमा हरेक जिल्लाबाट चार चार प्रतिनिधी र वर्तमान बागमती प्रदेशको १३ सदस्य कार्यसमिती गरि कुल संख्या ३७ हुन आउछ । पारसलाई साथ दिने भनेका चार जिल्लाको मत सोझो रुपमा गन्ने हो भने १६ मत हुनेछ । त्यसपछि बागमती प्रदेशको कार्यसमितीबाट ७ मतको प्रतिबद्धता आइसकेको पत्रकार सम्मेलनमा बताइएको छ ।
यदि यो आँकडा अन्तिममा विश्वासघात नभएको खण्डमा पारस बागमती प्रदेशको अध्यक्ष बन्ने लगभग पक्का छ । जसका कारणपनि पारस आफैपनि बागमतीको अध्यक्ष बन्नेमा केहि हदसम्म ढुक्क देखिएका थिए । चार बाहेक चितवन र मकवानपुर जिल्लासँगपनि समन्वयका लागि कुरा भइरहेको उनले बताए ।
नेपाली क्रिकेटमा पछिल्लो पटक पारस खड्कालाई सम्मिलित गरेर हालका अध्यक्ष चतुरबहादर चन्दले एक प्यानल बनाइरहेको बन्ने पनि चर्चा भइरहेको छ । यति पारस बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएको खण्डमा उनी क्यानको आगामी कार्यसमितीमा देखिने पक्का जस्तै छ । खेलाडी जिवनबाट टाढा भएपछि क्रिकेट एकेडेमी सञ्चालनमा लागेका पारसको नयाँ इनिङ सोचेको जस्तो सजिलो भने देखिदैन ।
मैदान बाहिरभन्दा भित्र खेल्न धेरै सजिलो
बागमती प्रदेशको अध्यक्ष पदमा लड्ने घोषणाका रुपमा रहेको पत्रकार सम्मेलन पारसले खेलाडीका रुपमा मैदानमा खेल्नु धेरै सजिलो भएको धारणा राखे । उनले मैदान बाहिरको क्रिकेटको राजनिती निकै कठिन रहेको बताए । उनले भने–‘क्रिकेट खेल्न धेरै सजिलो रहेछ । अरु देशमा हेर्ने हो भने खेलाडीले सन्यास फिर्ता लिने चलनपनि धेरै रहेको छ ।
मैलेपनि चुनाव हारेको खण्डमा सन्यास फिर्ता गरौं कि भन्ने सोच चाहि बनाएको थिए । तर गृहकार्य गर्दा यो एउटा सिक्ने मौका रहेको र यो क्रममा राम्रो नराम्रो दुबै पक्ष रहेको र त्यसलाई समाना गरेर अगाडी बढ्ने अठोट बनाएको छु ।’
पहिले प्रदेश त्यसपछि केन्द्रको चुनाव
पारसले अहिले नै केन्द्रको बारेमा नसोचेको र हालका लागि बागमती प्रदेशको निर्वाचनमा मात्र केन्द्रित भएको बताए । यता उनको विपक्षमा कसको उम्मेदवारी आउछ भन्ने एकिन भइसकेको छैन । भदौं १५ गते हुने बागमती प्रदेशको निर्वाचन नै अहिलेका लागि आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।
साथै उनले यदि आफु बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएको खण्डमा यो प्रदेशको क्रिकेट अर्को लेभलमा पुर्याउने बाचा गरे । उनले अरुले पनि बागमतीको क्रिकेटको वाहवाही गर्न लायक बनाउने योजना रहेको बताए । उनले बागमती प्रदेशका सबै जिल्लालाई एकसाथ अगाडी बढाउनुका साथै सबै जिल्लामा रहेका क्रिकेट मैदानको बिकास गराउने बताए ।
खेलाडीको हकमा पनि बर्गिकरण गरेर बागमती प्रदेशका खेलाडीलाई मासिक तलवको ब्यवस्था गर्ने बताए । उनले आफुले जितेको खण्डमा यो प्रदेश उदाहरणीय बन्ने धारणा राखे । साथै उनले आर्थिक रुपमा बागमती प्रदशेको क्रिकेट विकासमा नेपाल क्रिकेट संघको आशा नराख्ने बताए । उनले आफुहरुले आफै आर्थिक स्रोत सिर्जना गर्ने बताए ।
उनले पत्रकार सम्मेलनमा जति कुरा बताएपनि यथार्तमा उनले भनेका कुराहरुलाई पुरा गर्नका लागि निकै समय लाग्ने पक्कै छ । नेपाल सरकारले नै घोषणा गरेको क्रिकेटका परियोजनाहरु अहिलेसम्म अलपत्र परेका बेला पारसले बताएको क्रिकेट मैदान बनाउने योजना एक आशा देखाउने बाटो मात्र नहोला भन्न सकिन्न ।
पारसको क्रिकेट राजनिती कतिको सहज
नेपालमा राजनितीमा लाग्नु जतिको कठिन छ, त्यति नै पदमा पुगेपछि आरामपनि छ । तर पारसका लागि क्रिकेट राजनिती एउटा नयाँ अध्याय हुनेछ । यसअघि सफल कप्तान, उत्कृष्ठ खेलाडी भनेर वाहवाही पाएका पारसका लागि क्रिकेट राजनिती एउटा कठिन बाटो पनि हुन सक्न ।
क्रिकेटको राजनितीमा लागेका जो कोहि पनि कुनै न कुनै पार्टीमा संलग्न रहेका छन । पार्टीगत राजनिती भन्दा बाहिरको ब्यक्ति क्रिकेटमा आउनु निकै कठिन भइसकेको छ । त्यसपछि पनि पछिल्लो पटक कुनै पार्टीमा आबद्ध छैन भने त्यसलाई पत्याउने कमै हुन्छ । अब पारसले त्यो सबै कुरालाई चिर्दै आफुलाई नयाँ लिडरका रुपमा उभ्याउने तयारी गरेका छन ।
राजनितीमा कुन बेला कसले पछाडी छुरा प्रहार गर्छ त्यो भन्न सकिदैन । क्रिकेटको राजनितीमा पनि जबसम्म अन्तिम निर्णय सार्वजनिक हुँदैन तबसम्म कसैको विश्वास कसैले गर्दैनन् । बाहिरबाट हर्दा राम्रो भएपनि राजनितीको भित्री खेल खेलाडीले बुझेका हुँदैनन् ।
अब यहि अवस्थामा पारस पुगेका छन । उनले यसअघि खेलाडीका रुपमा क्रिकेटको राजनिती जुन तरिकाले बुझेका थिए । अब त्यसलाई सामना गर्ने भएका छ । अब त्यो भूमरीमा उनी सहज रुपमा पार गर्न सक्छन वा पहिलो खुड्किलोमा नै लड्छन, त्यो बागमती प्रदेशको चुनावको निर्णयले देखाउनेछ ।