नेपालले आज अमेरिकाविरुद्धको टी- २० सिरिजको पहिलो खेल खेल्दै छ । अमेरिकाको टेक्सस समय अनुसार साँझ ७ बजे शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ । नेपालको समय अनुसार भने अक्टोबर १८ तारिख बिहान ७ः४५ मा पहिलो खेल हुनेछ ।
अमेरिकाको डालासस्थित सोही रंगशालामा आइसिसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो ।
सन् २०१४ मा टि ट्वान्टी आई डेब्यु गरेको नेपालले २५औं प्रतिद्वन्दीका रुपमा अमेरिकालाई पाउँदैछ । ओडिआईमा ७ पटक आमनेसामने भइसकेका नेपाल र अमेरिका टि ट्वान्टी आईमा भने पहिलो पटक आमने सामने हुँदैछन् । टी-२० विश्वकप छनौट अन्तर्गतको सो खेल नेपालले जितेको थियो । त्यसयता नेपाल र अमेरिकाबीच टी-२० खेल भएको छैन ।
नेपालले अमेरिकासँग ३ खेलको टि ट्वान्टी आई सिरिज खेलेपछि लिग टु अन्तर्गतको ओडिआई सिरिज खेल्नेछ। त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालसँगै अमेरिका र स्कटल्यान्ड सहभागी रहने छन् । क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै अमेरिका भ्रमणको सुखद सुरुवातको लक्ष्यमा नेपाली टोली रहेको छ ।
अमेरिका पनि पछिल्लो टि ट्वान्टी विश्वकप यताको उत्कृष्ट लयलाई निरन्तरता दिन चाहन्छ । घरेलु भुमीमा भएको विश्वकपमा पाकिस्तानलाई पराजित गरि सुपर ८ मा स्थान बनाएको अमेरिकाको त्यसपछिको खेलमा धेरै परिवर्तन आएको छ । अमेरिकाले खेलेको पछिल्लो पाँच टि ट्वान्टीमा ३ मा जित र २ मा हार बेहोरेको छ ।
अमेरिकाविरुद्धको टी- २० सिरिजका लागि नेपाली स्पिनर सन्दीप लामिछाने भने उपलब्ध हुने छैनन् । सन्दीप अमेरिकाको भिसा नपाएका कारण क्यानडाबाट नेपाल फर्किएका छन् । क्यान स्रोतका अनुसार सन्दीपको भिसा प्रक्रिया शुरु भएपनि अहिलेसम्म भिसा प्राप्त भएको छैन ।
अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् ।
त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ । अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तवा र यासिर मोहम्मद रहेका छन् ।
नेपालले सिरिजको दोस्रो खेल शनिबार र तेस्रो खेल आईतबार खेल्ने तालिका छन् ।