(छन्द – स्रग्धरा – मरभनययय, ७ र १४ मा विश्राम)
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून्
बोके बोझा धरामा प्रतिपल विचरा भोक भोकै गुजारे ।
गुड्दै गुड्दै हजारौँ पटक टक बनी जिन्दगानी सुधारे ।।
जे जे भोगे चुनौती अनुभव जति छन् स्नेह गर्दै सिकाऊन् ।
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।१।।
आए आँधी खडेरी समय-समयमा पार आफैँ लगाए ।
पाले पोसे जवानी वय पनि सकियो बालबच्चा अघाए ।।
शिक्षा दीक्षा दिलाए कहर कति खपे पुत्र पुत्री हँसाऊन् ।
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।२।।
भोगेका कर्म सारा उकुसमुकुस छन् भन्न इच्छा छँदै छ ।
छोरा छोरी विदेशी मुलुकतिर रमे भावना कोक्किँदै छ ।।
चिन्ता भारी उतारी अब दिल घटमा जोस लाखौँ उठाऊन् ।
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।३।।
झुल्केका सूर्यलाई गति र मति दिने प्रेरणा स्रोत मानी ।
छाँगाको नीर खाए नव बल चुलियो गर्न सक्ने कमानी ।।
पाकालाई पराई हुन नदिन जुटौँ मान सम्मान राखून् ।
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।४।।
श्रद्धा गर्दै प्रशंसा प्रति दिवस गरून् दिव्य आनन्द मिल्छ ।
कोसेली हो विधाता अमृत वचनले आँतमा फूल खिल्छ ।।
जानेका दिव्य वाणी परिजन सबमा हर्षमानी सुनाऊन् ।
राखून् सद्भाव पाका, परिजनबिचमा ज्ञानले दीप्त पारून् ।।५।।
- पाउँदीबजार, लमजुङ