Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

टेक्सासमा नवाह महायज्ञको तयारी अन्तिम चरणमा, ५० हजार दर्शक र ५० लाख डलर दानको लक्ष्य

टेक्सासमा नवाह महायज्ञको तयारी अन्तिम चरणमा, ५० हजार दर्शक र ५० लाख डलर दानको लक्ष्य

नेप्लिज डायस्पोरा

२६, चैत्र २०८०
images
टेक्सासमा नवाह महायज्ञको तयारी अन्तिम चरणमा, ५० हजार दर्शक र ५० लाख डलर दानको लक्ष्य

डालस, टेक्सास ।

नेपालीहरूको अत्यधिक बसोवास रहेको अमेरिकाको टेक्सास राज्यको डालस फोर्टवर्थ क्षेत्रमा श्रीमद् भागवत नवाह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।

९ अप्रिलमा सुरु भई १७ अप्रिलमा सम्पन्न हुने महायज्ञमा कम्तीमा ५० हजार भक्तजन सहभागी हुने अपेक्षा आयोजक नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले गरेको छ । 

टेक्सासको युलेसमा पशुपतिनाथ मन्दिर तथा बौद्ध विहार निर्माण सहयोगार्थ आयोजित महायज्ञबाट करिब ५० लाख अमेरिकी डलर सहयोग संकलन हुने आयोजकको अपेक्षा पनि रहेको छ ।

आयोजकका अनुसार बहुआयामिक परियोजना पूरा हुन एक करोड (दस मिलियन) अमेरिकी डलर खर्च लाग्ने छ । आयोजक केन्द्रले अप्रिल ७, २०२४ आइतबार एक पत्रकार सम्मेलन गरेर (NCSC) कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाले महायज्ञमा करिब दुई लाख डलर खर्च लाग्ने अनुमान गरिएको पनि जानकारी दिनुभयो । अध्यक्ष बस्नेत सापकोटाले भन्नुभयो, "टेक्सासको डालासमा एउटा महत्त्वपूर्ण धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदा निर्माणको अभियानमा सबैबाट सहयोगको अपेक्षा गरेका छौं ।"

  अमेरिकाको टेक्सास राज्यमा करिब १ लाख २५ हजार नेपालीको बसोबास रहेको अनुमान छ ।

महायज्ञमा व्रतबन्ध गर्न इच्छुकहरूको व्रतबन्धको पनि व्यवस्था गरिएको छ । महायज्ञ स्थल आसपासमा महायज्ञ अवधिभरका लागि कम्तीमा ११ सय सवारीसाधन पार्किङको व्यवस्था मिलाउनुका साथै पार्किङस्थलबाट महायज्ञस्थलसम्म आवतजावतका लागि नि:शुल्क ‘सटल’को व्यवस्था मिलाइएको सो कार्यक्रममार्फत जानकारी दिइयो ।

साथै, महायज्ञमा आउने भक्तजनहरूका टेक्सास नेप्लिज मेडिकल एसोसिएसनद्वारा सञ्चालित हिमालय हेल्थ क्लिनिकको तर्फबाट नि:शुल्क स्वास्थ्य सेवाका उपलब्ध गराउने सो पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । यसैगरी, सो महायज्ञमा सहभागी हुनका लागि अनलाइनमार्फत आफ्नो उपस्थिति दर्ता गर्न सकिने जानकारी दिइएको थियो ।  

महायज्ञमा सहयोगका लागि विभिन्न सहयोगका प्रकार निर्धारण गरिएको छ । सो महायज्ञमा १ हजार ८ कलश रहेको र सो कलश २ सय १ डलरमा खरिद गर्न सकिने जानकारी दिइयो । सो कलश अब केही थान मात्र बाँकी रहेको सो कार्यक्रममा जानकारी दिइएको थियो । यसैगरी, १ हजार डलर सहयोग गरी सो महायज्ञमा कर्ता बन्न सक्ने व्यवस्था मिलाइएको र हालसम्म १ सय ७५ जनाभन्दा बढी कर्ता भइसकेको जानकारी दिइयो ।

महायज्ञमा वाचक वाचन प्रवीण दीनबनन्धु पोखरेल रहनेछन् । महायज्ञको पहिलो दिन ९ अप्रिलमा १ हजार ८ कलश सहितको कलशयात्रा गरिनेछ । 

केन्द्रले महायज्ञमा आ-आफ्ना मौलिक पहिरनमा सहभागी भई उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

महायज्ञका बारेमा थप जानकारी आवश्यक परेमा संस्थाको वेबसाइट www.ourncsc.org तथा फ़ेसबुक पेज Shree Pashupatinath and Buddha Temple मार्फत प्राप्त गर्ने सकिने एवं कारणवश महायज्ञमा भौतिक रुपमा उपस्थित हुन असमर्थहरूका लागि संस्थाको आधिकारिक युट्युब च्यानल @nepalimandirdfw मार्फत लाइभ गरिने जानकारी दिइएको थियो । 

पत्रकार सम्मेलनमा आयोजक संस्थाका पूर्वअध्यक्ष सुरेशचन्द्र पोखरेल, उपाध्यक्ष छवि चापागाईं, महासचिव भेषराज सिवाकोटी, सचिव दिनेश ज्ञवाली, दर्ता संयोजक जीवन घिमिरे र पार्किङ संयोजक बिजयराज भुसालले पत्रकारहरूका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १४:०८:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend