बालकृष्ण गजुरेलद्वारा विरचित मञ्जरा उपन्यास (गद्य काव्य) हात पर्यो। उपन्यासको मूल विषयवस्तुमा प्रवेश गर्नुअघि उपन्यास शब्दको व्युत्पत्ति र इतिहासबारे केही घोत्लिन मन लाग्यो।
उपन्यास' संस्कृतको तत्सम शब्द हो। उप उपसर्ग (नजिक, सामिप्य वा सहायक) र नि तथा अस् धातुमा प्रत्यय लागेर बनेको न्यास राख्नु वा व्यवस्थित गर्नु) मिलेर यो शब्द बनेको कुरा संस्कृत व्याकरणले पुष्टि गर्छ।
आधुनिक साहित्यको परिभाषा अनुसार विशेषतः गद्यमा लेखिएको विस्तृत आख्यानात्मक साहित्यिक विधालाई 'उपन्यास' भनिन्छ। पूर्वीय साहित्यमा संस्कृत गद्य काव्यको योगदान झनै उल्लेख्य छ। बाणभट्टको सातौँ शताब्दी आसपासको 'कादम्बरी' (जसलाई उनको निधनपछि छोरा भूषण भट्टले पूरा गरे भन्ने मान्यता छ), सुबन्धुको 'वासवदत्ता', दण्डीको 'दशकुमारचरित' र एघारौँ शताब्दीमा सोमदेवद्वारा रचित 'कथासरित्सागर' उपन्यास विकासपूर्वका महत्त्वपूर्ण गद्यात्मक आख्यान हुन्।
पाश्चात्य इतिहासतिर हेर्दा, परम्परागत कथा सुन्ने-सुनाउने अभ्यास निकै पुरानो भए पनि आधुनिक उपन्यासको सुव्यवस्थित विकास युरोपमा सोह्रौँदेखि अठारौँ शताब्दीतिर भएको मानिन्छ। ग्रीक तथा रोमन साहित्यमा हेलियोडोरसको डिफ्निस एन्ड क्लोइ र लङ्गसका कृतिहरू युरोपेली आख्यानका प्रारम्भिक उदाहरण हुन्।
नेपाली उपन्यास साहित्यको प्रारम्भिक मितिबारे विद्वान्हरूबीच मतैक्य छैन। यद्यपि, शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व हास्यकदम्ब तथा गिरीशवल्लभ जोशीको वीरचरित्र' (पहिलो भाग वि.सं. १९५६ र दोस्रो भाग वि.सं. १९६०) प्रकाशित भएपछि माध्यमिक कालको प्रतिनिधित्व भएको मानिन्छ। त्यसपछि आधुनिक कालको सुरुवात भयो, जहाँ रुद्रराज पाण्डेको रूपमती' (वि.सं. १९९१), लैनसिंह वाङ्देलको मुलुक बाहिर वि.सं. २००४), लीलबहादुर क्षेत्रीको बसाइँ (वि.सं. २०१४), हृदयचन्द्रसिंह प्रधानको एक चिहान', डायमनशमशेर राणाको 'सेतो बाघ', बी.पी. कोइरालाको 'तीन घुम्ती' र पारिजातको शिरीषको फूल जस्ता युगचर्चित उपन्यासहरू आए।
यी महान् कृतिहरूपछि नेपाली साहित्याकाशमा क्रमशः थपिने क्रम जारी छ। सोही क्रममा बालकृष्ण गजुरेलको 'मञ्जरा' पनि जोडिन पुगेको छ। अब केही क्षण 'मञ्जरा'मा प्रवेश गर्दाको मेरो अनुभूति उल्लेख गर्ने अनुमति माग्दछु।
सिन्धुपाल्चोकको विकटताले लछप्पै पोतिएको र प्राकृतिक सम्पदाले भरिपूर्ण हेलम्बु-६ का स्थायी निवासी गोपिकृष्ण गजुरेलका नाति तथा दुर्गाप्रसाद गजुरेल एवम् आमा धनकुमारी (विन्दा) गजुरेलका जेठा छोराका रूपमा बालकृष्ण गजुरेलको जन्म भएको हो। मेलम्ची खोला किनारको 'खोलेरुम्टो' भन्ने साना टुक्रा टारी खेतमा चिटिक्क परेको घरमा दुःख र अभावसँग पौँठेजोरी खेल्दै हुर्किएका उनले स्थानीय महेन्द्र माध्यमिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गरे। घरमा बाबु अशक्त, दम र खोकीले थलिएको अवस्था अनि भाइबहिनीको पठनपाठन र खेतीपाती सम्हाल्नुपर्ने बाध्यताका बिच जसैतसै उच्च शिक्षाका लागि काठमाडौँ छिरेका उनले स्नातकोत्तर तह पूरा गरे।
यसैबिच मेलम्चीमा आएको भीषण बाढीले गाउँको घरखेत बगरमा परिणत गरिदियो। तर, उनले त्यो पीडालाई धैर्यमा रूपान्तरण गरे। आमाबाबुलाई काठमाडौँमै डेरामा राखेर निर्माण ठेकेदारकहाँ गिटी, बालुवा र सिमेन्ट बोक्ने कुल्ली काम गर्दै जोगाड गरेको रकमले गाउँमा थोरै पाखो बारी किनेर सानो घर त बनाए, तर त्यो पनि भूकम्पले ढालेर बिजोग बनायो। त्यसपछि पनि हरेश नखाइ अस्थायी जागिरमा जोडिएर पुन: घर उभ्याएका उनले साहित्यिक यात्रालाई पनि निरन्तरता दिएका छन्। उनले लघुकथा सङ्ग्रह (वि.सं. २०८२) प्रकाशन गरिसकेका छन् भने कयौँ फुटकर कविता, गजल, गीत र कथाहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालमा सार्वजनिक भइसकेका छन्।
मेरो हातमा सम्झनाका तरेलीमार्फत 'मञ्जरा' प्राप्त हुँदा चौपट्ट खुसीको लहरले ओतप्रोत भएँ। प्लास्टिकको कभरभित्र बेरिएको त्यो मोटो पुस्तक उत्सुकतापूर्वक खोलेँ। शीर्षकमै ठूलो, आकर्षक र रङ्गीन 'मञ्जरा' शब्द देखेँ। पुस्तकको बाहिरी आवरणमा ऊर्ध्व गतिको अग्लो नवै रङ्ग र रसले आप्लावित पुष्पवृक्षमा रस आस्वादन गर्दै पखेटा फैल्याएको पुतलीको दृश्य निकै आकर्षक लाग्यो।
सुरुमा गजल सङ्ग्रह भए नाम 'मञ्जरी' हुनुपर्ने ठानेको थिएँ, तर तेस्रो पृष्ठ पल्टाएपछि मात्र यो उपन्यास विधाको कृति हो भन्ने बुझेँ। त्यसपछि भतिज (बालकृष्ण) लाई बधाई दिएँ। अघिल्लो पृष्ठमा बाबा दुर्गाप्रसाद गजुरेलप्रति पुस्तक समर्पित गरिएको रहेछ, जहाँ आमाको नाम पनि जोडिएको भए अझ राम्रो हुन्थ्यो भन्ने मनमा लाग्यो।
पछाडिको कभरमा रातो पृष्ठभूमिमा समीक्षकको समीक्षा सेतो शब्दाक्षरमा अङ्कित छ भने सिरानमा लेखक बालकृष्ण गजुरेलको सुन्दर पासपोर्ट साइजको फोटो छ। फोटो हेर्दा उनी ४०-४५ वर्षका जस्ता देखिन्छन्, तर पढ्दै जाँदा एकाध ठाउँमा अण्ठाउन्न वर्ष प्रवेश गरेको प्रसङ्ग पनि भेटिन्छ। लेखकीय मन्तव्यसहित ६५ वटा भित्री शीर्षकहरूसँग जम्काभेट भयो र ती सबै शीर्षकहरू तत्तत् ठाउँमा सार्थक लागे।
उपन्यास पढ्दा कहिँकतै झिँजो लाग्दैन। एक दिन म आफ्नै नगरपालिकाको खैरहनी साहित्य परिषद्को बैठकमा जानुपर्ने थियो। यो उपन्यास पढ्दापढ्दै कतिखेर झमक्कै साँझ पर्यो, पत्तै भएन। लघुशङ्काले च्यापेपछि समय हेर्दा साँझको ६ बजिसकेछ ! यसको अर्थ, यो उपन्यास यस्तो उत्सुकताले भरिएको छ कि पाठकलाई छाड्नै मन लाग्दैन। सबैले खोजी-खोजी एक थान भए पनि सङ्ग्रह गरेर पढ्नैपर्ने खालको छ।
घरभित्र हुने वर्गसङ्घर्षसँग कसरी जुध्ने भन्ने शिक्षा नै यस उपन्यासको मुख्य प्राप्ति हो। व्यापार-व्यवसाय कसरी र किन गर्ने समाजसेवा, जन्मदाता र स्वदेशको महत्त्व कति हुन्छ भन्ने कुरा यसमा पोखिएको छ। एकाध ठाउँमा प्राविधिक कारणले भएका हिज्जे त्रुटिबाहेक भाषा अत्यन्त सरल छ र स्थानीय बोलीचालीका शब्दले कथालाई अझ सिँगारेको छ। वैदेशिक मोहले आफ्ना आफन्त बिर्सिँदाको परिणाम कस्तो हुन्छ भन्ने शिक्षा पनि उपन्यासले दिन्छ। उपन्यासमा “समुद्रमा जे खोज्यो त्यही मिल्छ” भन्ने उक्ति चरितार्थ भएको छ। कृतिको नाम 'मञ्जरा' राख्नुको तात्पर्य पनि सार्थक अनुभूति हुन्छ।
अन्त्यमा, लेखकलाई नेपाली साहित्यको क्षेत्रमा निरन्तर लागिरहन र अझै उच्च सफलता चुम्न सक्ने क्षमता प्राप्त होस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।
कवितात्मक शुभकामना:
नेपाली मनको पवित्र दिलमै फक्री फुली हाँस है,
डाँफेझैँ हिमशृङ्खला सिरभरै कल्की जडी नाँच है।
फक्री फूल सुवासना भुवनमै ढाकेर हौ व्यापकै,
गाऊन् पौरखकै ल कीर्तन सधैँ ब्रह्माण्डका मानवै।। (१)
हो साहित्य विशाल काव्य, कविता, गाथा, कथा, जीवनी,
सोही फाँट अनेक फल्छ विविधै दौडाउँदा लेखनी।
संसारैभर सिर्जना लटरम्मै फैलियोस् प्रार्थना,
पढ्ने संस्कृतिको विकास गतिलो बानी बढोस् चेतना।। (२)
हुन् हाम्रा जति चाडपर्व सब नै फैलून् ल विश्वैभर,
छन् हाम्रा जति भाइ लौन बहिनी, दिदी र दाजु पर।
आमाबा परिवार बाल बनिता सम्झेर आउनु घर,
नेपाली सिर उच्च राष्ट्र गरिमा टल्कन फर्कून् घर।। (३)
बेचेनन् अरणी महान गरिमा साटे कला सभ्यता,
ती हाम्रा बलभद्र पूर्वज लडे राखे नयाँ सभ्यता।
बुद्धै दर्शनले त शान्ति भवमै ढाकेर क्या भव्य भो,
गोर्खाली इतिहास वीर गरिमा ब्रह्माण्डमै व्याप्त भो।। (४)
-खैरहनी नगरपालिका-३, चितवन
मिति: २०८३/०७/१८