Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिका आएको चार महिना मै गोलीको शिकार बनिन वृन्दा

अमेरिका आएको चार महिना मै गोलीको शिकार बनिन वृन्दा

सतीश चापागाईं

६, आश्विन २०७५
images
सतिश चापागाईं मेरिल्याण्ड अमेरिका   अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको एउटा नेपाली घर बिहिबारदेखि अचानक शोकमग्न छ । मेरिल्याण्ड राज्यको हार्डफोर्ड काउन्टीमा रहेको 'राईट एड' कम्पनीको वितरण केन्द्रमा भएको 'मास सुटिंग' मा मारिएकी वृन्दा पुरीको माईति घर हो, यो । 'वृन्दाको गोली लागेर निधन भयो' भन्ने खबर सुनेर उनका आफन्त र साथीभाईहरु मलिनो अनुहार लिएर सान्त्वनाका शब्द ब्यक्त गर्न जम्मा भएका छन् । आउने र जाने क्रम चलिरहेको छ । बिहिबार साँझदेखि नै यो घरमा छिन मै सन्नाटा छाएको छ र छिन मै रुवाबासी !   ६५  बर्षकी आमा तिलकुमारी पुरी ४१ बर्षिया आफ्नै छोरीको निधनको खबरमा यति रोईन की उनको आँखाको आँशु नै रित्तिईसक्यो । पांच बर्षदेखि बाल्टिमोरमा रहेका कासी गिरीले श्रीमती गुमाएका छन् । बाल्टिमोरका अति नै सक्रिय सामाजिक युवा सरोज पुरीले प्यारी बहिनी गुमाएका छन् । सुमन पुरीले दिदि गुमाए । १४ बर्षिया सृष्टि र ११ बर्षका शिरिषले प्यारी आमा गुमाएका छन् । पुरी र गिरी परिवारले सधै हँसिली र मायालु परिवारको एउटा सदस्य गुमाए भने मेरिल्याण्डको नेपाली समुदायले भर्खर परिचय गर्दै गरेकी नयाँ सदस्य गुमाएको छ ।   समयभन्दा पहिले नै दैवले श्रीमान खोसेको पिडाले तिलकुमारीलाइ खुलेर हास्न पाईनन । छोराछोरी पनि सधै बाहिर बाहिर भएका थिए । चार महिना अघि वृन्दाले नाती नातिनी लिएर बाल्टिमोर आएपछि परिवारका धेरै सदस्य संगै भएका थिए । तिलकुमारीको अनुहारमा खुशी पलाउदै गएको थियो । तर, यो खुशी लामो समय रहन पाएन । दैवका आँखा फेरी उनको खुशी माथि पर्यो र प्यारी छोरीलाई टिपेर लग्यो ।   खुशी लुटिएका अर्का ब्यक्ति हुन -कासी गिरी । कसको पिडा कम र कसको पिडा बढी भन्ने प्रश्न होइन तर यो घटनामा कासीलाईभन्दा पिडा कसलाई होला ? परिवारको खुशीका लागि कासीले चार चौरास गरे । तर यो खुशी धेरै रहनै पाएन, पानीको फोका जस्तो भयो ।     युवा अवस्था मै सुन्दर र सुखी परिवारको कल्पना गरेर बिहे नगर्दै कासी साउदी अरब पुगे । बिहे गर्न नेपाल आए, पर्बत कुश्माकी वृन्दासंग मागी बिहे गरे र फेरी परिवारको सुन्दर भविष्यको लागि कासी साउदी अरब नै गए । “साउदीको कमाईले घरको आर्थिक अवस्था सुधार भएको थियो, छोरी जन्मिसकेकी थिइन। परिवारसंग रमाउन भनेर म साउदीबाट नेपाल फर्कें र पोखराबाट गैडाकोट झरें । गैडाकोटमा साथीसंग मिलेर टुबोर्ग बियरको डिलर खोलें । कमाई राम्रो नै थियो । परिस्थिति सधै आफुले भने जस्तो हुदैन । कुनै बाध्यताका कारण घर छोडेर अमेरिका हिडें।” कासीले बिगत सम्झदै भने ।   आएपछि पनि सजिलै प्रोसेसमा कागज बन्यो र परिवारको पेपर अप्लाई गरे । त्यो पनि समय मै भयो । कागज बनेपछि पनि वृन्दा अमेरिका आउन मानिनन । केहि समय अघि दाई सरोज नेपाल गएका बेला सम्झाएपछि कागज बनेको एक बर्षपछि उनी छोरी र छोरा लिएर चार महिना अगाडी अमेरिका आईन ।   "अमेरिका आएपछि चार महिना यसै बित्यो । छोरी र छोराको स्कुलको प्रोसेस आफ्नो काम अनि नयाँ संसारका बारेमा श्रीमती, छोरी र छोराका प्रश्नका जवाफ दिदादिदै समय फ्याट्ट बितेछ ।" कासीले यसो भन्दै गर्दा लाग्थ्यो उनीहरुले दैनिकी नै ब्यबस्थित गर्न भ्याएका थिएनन, जीवनको योजना त बनाउन बाँकी नै थियो । अब त यो बाँकी मात्र होइन सधैका लागि अधुरो र अपुरो नै रहने भयो ।   बिहेगरेको लगभग बिस बर्षमा वृन्दा र कासी लगातार संगै बस्न पाएको गैडाकोट बस्दाका तिन बर्ष मात्र हो । नत्र सधै छुट्टाछुट्टै भए । मैले कासीलाई सोधें, "वृन्दा कस्ती हुनुहुन्थ्यो ? उहाँका जीवनका ईच्छाहरु के थिए ?" कासीको फ़ुङ्ग उडेको अनुहारमा झन् अँध्यारो छायो । एक पटक टाउको समाते र भने -"उसका केहि ईच्छा नै थिएनन । यो लाउछु यो खान्छु भन्ने नै थिएन । सधै घरको काम गर्ने । रिसाएको कहिल्यै देखिन, सधै हाँसेको मात्र देखें । घरपरिवार मै रमाउने बानी थियो ।"   बृन्दाले अमेरिका आउन मन नगर्नुको कारण के थियो होला ? भनेर मैले कासीलाई अर्को प्रश्न गरें । कासीलाई घाउमा नुन हालेजस्तो भयो । नहोस पनि कसरी ? अमेरिकामा काम गर्नु पर्छ भनेर नै वृन्दा आउन मन नगरेकी थिईन र त्यही काममा नै उनकी जीवन संगीनिको प्राण पखेरु उडेको थियो । कासीले सम्झंदै भने, "फोनमा जतिबेला पनि त्यहाँ धेरै काम गर्न पर्छ रे ! भन्ने । दिनदिनै काम गर्न पर्छ रे ! भन्ने । उल्लाई यहाँ घुम्न आउन मात्र मन थियो। आएपछि पनि उसले भनेको एउटा कुरा मात्र छ की चार पांच बर्षमा अलिकति पैसा बनाएर फर्केर गैडाकोट नै जाने । त्यही बस्ने ।" त्यसपछि कासीको मन भरिएर आयो । धेरैबेर बोल्न सकेनन । आँखा छोपेर घुँक्क घुँक्क गरिरहे र भने "अब खुशी आउने भयो भनेको थिए तर यस्तो के आयो ? सोच्दै नसोचेको कल्पना नै नगरेको के भयो यस्तो ?   अमेरिकाको कामसंग डराएकी वृन्दाको अन्तत: काम गर्दागर्दै ईहलिला समाप्त भयो । कम्पनि काम सुरक्षित हुन्छ भन्ने थियो । सिफोरा भन्ने कम्पनीमा गईन । पहिलो दिनमै फायर भईन । त्यसपछि सिफोरासंगै रहेको यो कम्पनिमा काम शुरु गरिन । मात्र तीन हप्ता भएको थियो ।   प्रत्यक्षदर्शीका अनुसार बिहान ब्रेकफाष्टको समय थियो । क्याफेटेरियामा एउटी महिलाले अचानक बन्दुक चलाउन शुरु गरिन । भागदौड शुरु भएको थियो । सबै जना भागे वृन्दा आफु पनि भागिन । त्यसपछि के भयो थाहा छैन । तर बाहिर सुनेको अनुसार -'भागदौडमा एउटा साथीको जुत्ता फुत्कियो । वृन्दाले त्यो जुत्ता टिप्न खोजिन, दुर्भाग्य गोलि लाग्यो र ढलिन ।'   साथीहरु भित्रका भित्र नै भए । काम गर्ने ठाउंमा फोन लैजान नपाउने हुदा भित्रबाट बाहिर खबर गर्न मिलेन । दिनभरीमा खबर जताततै भएको थियो तर वृन्दाको घरमा अलि ढिलो पुग्यो ।   सधै झैँ श्रीमान कासी पनि काममा थिए । लगभग पाँच बजेतिर अचानक कसैको फोन आयो ।   उसले सोध्यो "तपाई कासी हो ?" उनले "हो" भने ।   "तपाई वृन्दाको श्रीमान हो ?" - उताबाट अर्को प्रश्न आयो । उनले फेरी "हो" भने ।   उसले आफ्नो परिचय दियो र भन्यो ,"राईट एड भित्र गोलि चलेको छ । एक पटक तुरुन्त आउनु ।" उसले सचेत बनायो - "त्यहाँ आएर कसैलाई नभेट्नु, सिधै पुलिसलाई भेट्नु ।" कासीको शरीर पुरै शितांग भयो । पैतालाबाट एकदम चिसो पसेर शरीरभरी भयो । के हो, के हो भयो ।   घर गए, छोरी र छोरा टिपे र घटनास्थलतर्फ लागे । पुलिस भएको ठाउँमा गए । पुलिसले फोटो निकालेर देखायो र सोध्यो । उनले भने 'मेरी श्रीमती' हो । प्रहरीले भन्यो " सी इज डेड ।" कासीको अगाडी सबै अन्धकार छायो । जीवनको बत्ति नै झ्याप्प निभ्यो ।   त्यसपछिको कुरा बताउदै कासी बोले, "मलाई चक्कर लायो । धर्ती फनफनी घुम्यो । मैले केहि सोच्ने सकिन । केही पर थिए नानीबाबु, तिनीहरुलाई हेरें, बोलाउन सकिन ।" उनले थप्दै गए, "गोजीको फोन निकालें, सरोज दाई (जेठान) लाई बल्ल बल्ल डायल गरें तर बोल्न सकिन । मुखबाट शब्द नै निस्केन । केहि समयपछि भने ।   बहिनीको जीवन समाप्त भएको खबर सुन्दै गर्दा दाजु सरोज दुई घण्टा टाढा थिए । यो आपतमा उडेर जान मन थियो तर समय लाग्यो । त्योभन्दा पहिला उनले स्थानीय समाजसेवी तरुण पौडेललाई सम्झे र त्यहाँ जान अनुरोध गरे । घटना बिस्तारै एक कान दुई कान मैदान भयो । आफन्त र साथीभाई अरु पनि घटनास्थल बाहिर जम्मा भए । वृन्दाको मृत शरीर देख्न पनि नपाई सबैजना घर फर्किए । शुक्रबार पनि प्रहरी र सरोकारवालासँग छलफल भयो तर वृन्दाको शरीर हेर्न दिइएन । वृन्दाको मात्र होइन यस घटनामा मारिएका कसैको पनि हेर्न दिइएको छैन ।   आफन्त र परिवारको सल्लाहमा यहि आईतबार वृन्दाको अन्त्यष्ठी गर्ने कार्यक्रम तय भएको छ ।   बिहिबार काममा गएकी आमा अब कहिल्यै नफर्कने खबर शुक्रबार छोरी सृष्टिलाई सुनाईयो । यो खबरपछी उनी झोक्राएर बसेकी छिन । यो बाला मनमा अहिल्यै त धेरै कुरा थाहा छैन होला तर जन्मदेखि बिहिबार बिहानसम्म सधै संगै भएकी आमा उनले कसरी खोजिरहेकी छिन त्यो पनि बुझ्ने कोही छैन । गुड सरेर माउले छाडेको बचेरो जस्तै छिन ।   छोरीसंग कुरा गर्नु भयो ? मैले सोधें ।   कासीले भने "मैले हेर्न पनि सकेको छैन । मैले के भनम ? कसरी भनम ?" उनी फेरी रोए ।   छोरा भने यो पुरै घटनासंग बेखबर छन । ११ वर्षको यो बाल्खलाई आमा अस्पतालमा हुनुहुन्छ भन्ने मात्र थाहा छ । अरु भनिएको छैन । केहीबेर अघि बाबाको नजिकै आए र मागे- बाबा फोन दिनुस । त्यसपछि उनी किचनको साईडमा गए र के के हेरे । फेरी केहिबेरपछि बाहिर निस्किए र भने "मेरो एउटा चप्पल खोइ ? यहाँ कति धेरै चप्पल !"   सानो मामा सुमन पुरीले आफन्तको छलफलमा भने "भान्जा सानै छन् । अमेरिका आएदेखि नै नयाँ नयाँ देखिरहेका छन् । अचानक आमाको त्यो अवस्था देख्दा के होला? मानसिक झड्का नलाग्ने गरी कसरी काम गर्न सकिन्छ?" पर एक्लै खेलिरहेका शिरिषलाई देखाउदै ठुला मामा सरोजले बीच मै भने, "हेर यति साना छन ! बिचार केहि थाहा छैन !" सरोज एकातिर फर्केर रोए, सुमन अर्कोतिर फर्केर रोए । छलफल गर्दै गरेका अरुले पनि आँशु पुछे ।   अमेरिका आउनु केही दिन अगाडी फोनमा छलफल भयो ११ बर्षको यो छोराको ब्रतबन्ध कहाँ गर्ने ? अमेरिका भएका सबैले यहीं आएर गर्ने भने तर वृन्दाले मानिनन । सबैको कुरा बेवास्ता गर्दै यहाँ आउनुभन्दा १५ दिन अगाडी बृन्दाले गैडाकोट मै छोराको ब्रतबन्ध धुमधामसंग गरिन । उनको हतार कसैले बुझ्न सकेनन । यस्तो हुनेछ भनेर त उनी आफैलाई पनि थाहा थिएन । भावीको लेखा मान्छेलाई के था ? तर भावीलाई यो सबै थाहा थियो ।   र, भावी कै लेखा अनुसार सन् २०१८ को सेप्टेम्बर २३ तारिख आईतबार ११ बर्षका शिरिषले गिरीले आफ्नी आमाको मुखमा बलीरहेको दीयो राखेर दागबत्ती दिनेछन     अपडेट सूचना अनुसार आईतबार बिहान ७ देखि ९ बजेसम्म यहाँको एउटा चर्चमा वृन्दाको पार्थिब शरीर राखियो । अन्तिम दर्शनका लागि हजारौं मानिस उपस्थित भए । एउटा अकल्पनीय घटना भएका कारण परिवार र आफन्तमात्र होइन उनलाई चिन्दै नचिन्नेले पनि आँशु झारिरहेका थिए । वृन्दाको पार्थिब शरीरमा फूल चढाउदै गर्दा हरेक हात कापेका थिए, मन भक्कानिएका थिए र आँखाबाट आँशु झरिरहेका थिए । अमेरिकाको परिवेश अनुसार चर्चबाट वृन्दाको पार्थिब शरीर जलाउने स्थानमा लगियो । परिवार र उपस्थित बाल्टिमोरबासी नेपालीहरुका अगाडी वृन्दाको पार्थिव शरीर पनि यो संसारबाट सधैका लागि नदेखिने भयो । एउटा खुशीको जीवन बिताउने गिरी परिवारको सपना सधैका लागि अधुरो र अपुरो भएको छ । तर उनका बच्चाको यो घाउमा मलम लगाउन सकियोस र आमाको अभावलाई केहि हदसम्म पुरा गर्न सकियोस भनेर मेरिल्याण्डको समुदायले सहयोग अभियान शुरु गरेको छ । सबैलाई सजिलो हुने गरि 'गो फण्ड' शुरु गरिएको छ । एनआरएन अमेरिकाको नेतृत्वमा यो अभियान शुरु गरिएको हो । एक थुकी सुकी हजार थुकी नदि भने झैँ सबैको सानो सानो सहयोगको अपेक्षा गरिएको यो अभियानका सदस्यहरुले बताएका छन् ।   https://www.gofundme.com/brinda-giri  

images
प्रकाशित मिति :आश्विन ६, २०७५ शनिवार - १९:४१:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend