५, भाद्र २०७६
मुक्तक - १
दिन दुई, रात चार गुणा धुमधाम कमाउँदा रहेछन्
त्यस्ता वर्गले त बसी बसी नै दाम कमाउँदा रहेछन्
गरिबलाई पो एक छाक टार्न धौ-धौ हुँदोरहेछ बाबै,
धनीहरूले त कुकुर पालेर पनि नाम कमाउँदा रहेछन् ।
मुक्तक -२
अगाडी राखेर सन-शनी सम्झाइ दिनुछ
औँला भाँचेरै बर्ष गनी सम्झाइ दिनुछ
स्याउ जस्ता गाला देखेर दाम्लो चुँडाउनेलाई
हावा र बैँस एउटै हो भनी सम्झाइदिनुछ ।
मुक्तक -३
काग कै छेउमा बेल पकाएर रमिता नगरि दिनुहोला
यसरी कटक्क मन खाने कुरा तिता नगरिदिनुहोला
घाउमाथी नुन चुक राखे सरि हुन्छ बिन्ती गर्छु बरु,
लङ्गडाकै घर अघि दौड प्रतियोगिता नगरिदिनुहोला ।
मुक्तक -४
का..लो अनुहार से..तो बनाइ,प्रस्ताव राख्नुछ
बाहिरीआवरणमा रमाइ रमाइ,प्रस्ताव राख्नुछ
गुदीभन्दा बोक्रामा औधी विश्वास राख्छिन् उनी
त्यसैले उनलाई टाइसुट लगाइ, प्रस्ताव राख्नुछ ।
मुक्तक -५
प्रेमीकाले भनेपछि बिष पनि खान्छ, अचम्मै छ बा
स्वर्गको बाटो छोडेर नर्कतिर जान्छ,अचम्मै छ बा
तरुणीहरूसँग हर रात डिस्कोमा रमाउने छोरो,
एक रात आमाले खोक्दा झर्को मान्छ,अचम्मै छ बा ।
कुभिण्डे, खोटाङ्ग ।
(बिष्णु उपरकोटी `प्रलय´ का यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार -
२०:०३:५८ बजे