Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

कुकुर स्वर्गे हुँदा ​(कविता)

कुकुर स्वर्गे हुँदा ​(कविता)

नेप्लिज डायस्पोरा

११, आश्विन २०८३
images
कुकुर स्वर्गे हुँदा  ​(कविता)

 

 

✍  भैरव अर्याल

​एउटा महान् दुर्घटना भयो

एउटा अपूरणीय क्षति भयो

उद्धार समितिको कारले किचेर

मेरो कुकुर स्वर्गे भयो !

​कुकुर पनि स्वर्ग जान्छ ? भन्नुहोला,

होइन, नरक गयो !

तर, नरक त उसले नजाँदै भोगिसकेको थियो ।

एक लाख सम्मानितहरूलाई उसले

एकै बिहानभित्र ढोगिसकेको थियो,

भक्तिभावमै उसको रौं खुइलिएर गयो !

मेरो कुकुर स्वर्गे भयो !

​उसको भुक्ने काम अखबारले खोसे,

ढुक्ने काममा शिक्षित बेकार कस्सिए,

झैझगडाको दायित्व साहित्यकारले टिपे,

पुच्छर हल्लाउनेमा प्रशासक खटिए ।

अब ऊ आफ्ना सबै कार्यभारबाट मुक्त भयो,

मेरो कुकुर स्वर्गे भयो !

​अब मुसाहरूले चारकोसे झाडीमा डढेलो लाऊन्

या बिरालाले त्यसमा सिंहदरबार सेकाऊन्,

मेरो कुकुरले घ्यार्र घुर्नेसम्म छैन ।

अब बुद्धको आँखा उडाएर गिद्धहरूले समुद्र तारून्

या सयौं बाज मिलेर एउटा परेवा मारून्,

मेरो कुकुरले आँखा उघार्नेसम्म छैन ।

ऊ त ठाडै भीमसेन थापाको सती गयो,

मेरो कुकुर स्वर्गे भयो !

​आऊ अब शोकसभा गरौं,

शोकप्रस्ताव यहाँ रेडिमेड छ ।

दिवंगत कुकुरको स्मारक बनाउन

एक लाख डलरको इस्टिमेट छ ।

मामा-भानिज हो ! लौ अब एउटा टेन्डर देओ,

स्मारक कालिमाटी भए पनि हुन्छ

तर, माटो किन्न हङकङ जानैपर्छ ।

यो निर्माण कार्यमा सम्बन्धितहरूले

अलि-अलि प्रसाद खानै पर्छ !

जाने त गयो, गै गयो,

मेरो कुकुर स्वर्गे भयो !

​कि ए वीर नेपालीहरू हो ! आओ अब

यो मृत कुकुरको जुँगा उखेलौं ।

हामी सबका बिरामहरू लुकाउन

यो मुर्दाको टाउको फोरौं ।

नपत्याए सीआईडीज्यूलाई रिपोर्ट बनाओ भनौं—

बडाहाकिमले घुस ज्यूनार हुँदा

यसले रिकापी टोकेको थियो,

उपहाकिमले जंगबहादुरको घोडा मिलाउँदा

यसले रित्तो बोतल बोकेको थियो ।

त्यतिमात्र कहाँ हो र !

भलाद्मीले भद्रतापूर्वक चोर्न लागेको बेला

यो असभ्यले ख्वाङ्ख्वाङ् खोकेको थियो ।

​यसको कुलै यस्तो—

उहिल्यै पाण्डवहरू बैकुण्ठ जाँदा

यही कुकुरको जिजुबाजेले द्रौपदीको पिछा गरेको थियो !

रुसले रकेट उडाएको बेला

यसको मामाले अन्तरिक्षको भित्तो फोरेको थियो !

भन्नुहोस् अब जे भने पनि ऊ नसुन्ने भयो,

मेरो कुकुर स्वर्गे भयो !

​भीमसेन स्तम्भमुनि गुँडुल्किएर

स्वामीभक्तिको साधन गर्ने यो कुत्तो,

भीम मल्लको चिहान खोस्रेर

बफादारीको बिगुल लगाउन खोज्ने यो खिच्चो,

साँच्चै कुकुरैजस्तै निरीह थियो, दयनीय थियो,

त्यसैले त पुण्यात्माहरूको शिकार भयो !

उद्धार समितिको कारले किचेर मेरो कुकुर स्वर्गे भयो !

images
प्रकाशित मिति :आश्विन ११, २०८३ आइतवार - १३:१८:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend