Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एनइसीसी र एएनएचएसको संयुक्त आयोजनामा डिसीमा तीज कार्यक्रम हुने

एनइसीसी र एएनएचएसको संयुक्त आयोजनामा डिसीमा तीज कार्यक्रम हुने

सतीश चापागाईं

८, भाद्र २०७५
images
वासिङ्गटन डिसी । नेपाली हिन्दु महिलाको विशेष चाड तीज ब्रत पूजासहित तीजको कार्यक्रम अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको नेपाली मन्दिरमा आयोजना गरिने भएको छ। नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र ९एनइसीसी० र अमेरिका नेपाल सहयोगी समाज ९एएनएचएस० को संयुक्त आयोजनामा हुन लागेको तीज ब्रत पूजासहितको कार्यक्रम एनइसीसी परिसरमा अवस्थित पशुपति–बुद्ध मन्दिरमा सञ्चालन गरिने एनइसीसीले जनाएको छ। विगतका वर्षहरुमा एनइसीसी आफैंले मात्र सञ्चालन गर्ने गरेको तीज ब्रत पूजामा यस वर्ष भर्जिनियाको मनाससमा अवस्थित अमेरिका नेपाल सहयोगी समाजको समेत सहआयोजना हुने भएकोले यस वर्षको तीज ब्रत पूजा र तीज कार्यक्रम विशेष आकर्षक हुने जनाइएको छ। सेप्टेम्बर १२, २०१८ बुधबारका दिन हुने पूजाको कार्यक्रम बिहान ११ बजे देखि साँझ ८ बजेसम्म सञ्चालन हुने र प्रत्येक एक एक घण्टामा समूहगत पूजा कार्यक्रम मन्दिरमा पण्डित श्रीधर ज्ञवालीको नेतृत्वमा हुने एइसीसीका उपाध्यक्ष तथा तीज ब्रत पूजा कार्यक्रमकी संयोजक सरोज प्रजापतिले जानकारी दिइन्। तीज ब्रत पूजा सम्वन्धी एनइसीसीले जारी गरेको सार्वजनिक सूचनामा जनाइए अुनसार पूजाका लागि आवश्यक पर्ने सामान्य पूजा सामाग्री मन्दिरमा नै उपलब्ध गराइने तर थप सामाग्रीसहित पूजा गर्न चाहने ब्रतालु महिला आफैंले ल्याउनु पर्नेछ। सो सूचनाका अनुसार पूजा पश्चात सामान्य प्रसादको व्यवस्था गरिने छ भने पूजा पश्चात तीज गीत तथा नृत्यको कार्यक्रम समेतको व्यवस्था गरिएको छ। एनएचएचएसका अध्यक्ष कमला खरेलका अनुसार ‘समुदायका महिलाहरु भेटघाट हुने र तीज मनाउने कार्यक्रमहरु आआफ्नो अनुकूलतामा फरक दिन र ठाउँहरुमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने गरेका छन् । तर नेपाली नारीहरुको महान र विशेष चाडको रुपमा मनाइने तीज ब्रत पूजा तीजकै दिनमा गरिने र त्यो पनि मन्दिरमा नै पुगेर गरिने चलन छ । अझ त्यसमा पनि नेपालीहरुको मात्र चाड भएकोले नेपाली मन्दिरमा नै पुगेर पूजा लगाउँदा आफ्नो पन बढि पाउन सकिन्छ भनेर पनि हाम्रो संस्थाले यस वर्ष एनइसीसीसंग मिलेर वेल्सभिलमा अवस्थित पशुपति बुद्ध मन्दिरमा तीज ब्रत पूजा कार्यक्रम तीजको दिनमा गर्ने निधो गरेका हौँ ।’ एएनएचएसले आफ्नै आयोजनामा विगतको वर्षमा जस्तै विशेष र भव्यरुपमा मनाससको हे मार्केटमा यहि सेप्टेम्बर १ तारिखका दिन अपरान्ह २ बजे देखि निशुल्क दर खाने तथा तीज कार्यक्रम आयोजना गरेको छ । नेपाली चाडवाड तथा साँस्कृतिक धार्मिक कार्यक्रमहरु नेपालीका संघसंस्था मिलेर एकै ठाउँमा आयोजना गर्नु पर्ने आवाजहरु उठिरहेका बेला एनइसीसी र एएनएचएसले संयुक्तरुपमा आयोजना गर्न लागेको तीज ब्रत पूजाको यस कार्यक्रमले समुदायमा एकताको सन्देश प्रवाह हुने अपेक्षा गर्न सकिन्छ।

images
प्रकाशित मिति :भाद्र ८, २०७५ शुक्रवार - २०:२३:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend