४, माघ २०७६
उसले याेग तथा ध्यानका बारेमा धेरै कुरा सुनेको थियाे ।
स्वस्थ्य, सक्रिय र दीर्घ जीवनका लागि याेग तथा ध्यानको मार्ग नै उचित भएकाे अनुभव धेरैबाट सुनेपछि ऊ पनि त्यसतर्फ आकर्षित भयाे र नजिकैको याेग प्रशिक्षण केन्द्रमा जान थाल्याे ।
गुरुले सिकाएका सबै किसिमका याेग सिकी सबै खाले याेग गर्न सक्षम हुँदै गयाे । याेगाभ्यासकै प्रभावले केही दिनमै उसकाे शरीर छरितो तथा अनुहार तेजिलो पनि देखिन थाल्यो ।
तर, ध्यानकाे मामलामा भने कत्ति पनि सफल भएन । गुरुले सबै कुरा बिर्सेर, याे सारा जगत, आफन्त, इष्टमित्र, शुभेच्छुक, विराेधी, काम, क्राेध, लाेभ र माेह समेतका सबै कुरा बिर्सेर एकाग्र चित्त गरी ध्यान बस्नुपर्ने बताएका थिए । ऊ कत्ति गरे पनि ती मध्ये कतिपयबाट मुक्त हुन नसकेकाे महशुस गरिरह्याे र उसमा ध्यानको सकारात्मक असर पर्न सकेन ।
कत्ति प्रयास गरे पनि सफल नभएपछि उसले एक दिन गुरुलाई साेध्याे, ' हैन गुरु, म याे ध्यानमा एकाग्र हुनै सकिन , किन हाेला ?' 'जत्ति काेशिस गरे पनि मनमा नयाँ नयाँ कुरा खेलिरहन्छ ।'
गुरुले आश्चर्य मान्दै साेधे, ' कुन पेशामा हुनुहुन्छ यहाँ ?'
'खासै केही छैन गुरु, यसाे अलिअलि साहित्य लेखि टाेपल्छु ।'- उसको जवाफ थियाे ।
' ए, ल त्यसाेभए यतातिर नलाग्दा बेश, यी साहित्यकार, पत्रकार, लेखक भनेका निद्रामा पनि मनमा कुरा खेलाउने र आफूभन्दा अर्काका कुरामा चासो राख्ने प्राणी हुन् । यसैले तिनका लागि यसकाे कुनै काम छैन ।'' गुरुले एकै सासमा भने ।
ऊ उनकै अनुहार हेरिरह्याे ।
- पोखराथोक, पाल्पा ।
(विनाेद नेपालको यो लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :माघ ४, २०७६ शनिवार -
२२:४३:१४ बजे