Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नयाँ वर्ष कहाँ आयो ! -डिल्लीराज अर्याल

नयाँ वर्ष कहाँ आयो ! -डिल्लीराज अर्याल

नेप्लिज डायस्पोरा

२९, चैत्र २०७६
images
हेर्दाहेर्दै शहरमा नयाँ जोश आयो
बिजुलीको उज्यालोमा खोसाखोसआयो
कताकता सुनें स्वर - नयाँ हल्ला आयो
बुझें मैले फरक कुरा नयाँ गल्ला आयो !
बजारले भन्न थाल्यो - शुभकामना छ
गाउँलेले भन्न थाल्यो - शुभभावना छ
सुनेपछि - किन यसो भने? भन्ने लाग्यो
कस्तो शुभ हुने होला? भन्ने पनि लाग्यो
जताततै बाजा बजे हल्ला जस्तो आयो
गीतनाचसित भोज चल्ला जस्तो लाग्यो
यता दाउ दलालका उता भोज जाग्यो
लाटासोझा खान बसे भाग राम्रै लाग्यो
के खाइयो कहाँबाट आयो थाहै छैन
कोरोनाको हल्लासँगै भाग्य सुख चैन
लर्को लाग्यो डाँडापाखा शहर रित्तै भयो
चाल देख्दा यो मान्छेको अर्को रुने भयो
खुट्टा बाङ्गा गराएर नाच्न थाल्यो मान्छे
पकाएर बाँड्यो थाक्यो भोकै भयो भान्छे
नबाँड्नेले खाइरह्यो नाच्न थाल्यो पछि
भोकै हुने भन्न थाल्यो एकान्तमा बसी
आयो आयो भन्दै थिए आए जस्तै लाग्यो
एकथर खाने नाच्ने अर्को भोकै रह्यो
यो,यस्तो त छँदैथियो कहाँ नयाँ आयो
खाने नाचिरहेकै छ भोको भोकै रह्यो
नयाँ आयो भन्नेसँग यौटै प्रश्न मेरो
नयाँवर्ष मनाउनेले तोड्ला यस्तो घेरो?
नतोडेर उस्तै राखे नयाँ कहाँ आयो?
कहाँ आलु, तोरी, सर्स्यूँ कहाँ तिल,रायो?
जतिसुकै हल्ला चले पनि ‘नयाँ आयो’
उही घाम जून आए खै के नयाँ आयो?
‘चुपचाप घरै बस’ भन्ने दिन आयो
जेजेसुकै भन नयाँ वर्ष कहाँ आयो?
अखबार हेर्दा मात्र नयाँ वर्ष आयो !
मुहारपुस्तिकामा मात्र नयाँ वर्ष आयो !
कहाँ हाम्रा अनुहारमा नयाँ वर्ष आयो ?
हल्लै आए हुने भए नयाँ वर्ष आयो !
पाल्पा अहिले: काठमाडौँ ३२

images
प्रकाशित मिति :चैत्र २९, २०७६ शनिवार - ०७:२५:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend