Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सरकार ! के हामी नेपाली नागरिक हैनौं र ? -सुप्रभात भण्डारी

सरकार ! के हामी नेपाली नागरिक हैनौं र ? -सुप्रभात भण्डारी

नेप्लिज डायस्पोरा

२६, जेठ २०७७
images
सरकार ! के हामी नेपाली नागरिक हैनौं र ? -सुप्रभात भण्डारी

 

हिजोआज हरेक दिन बिहानदेखि बेलुकीसम्म मेसेञ्जर, भाईबर, टेलिफोनमा यता यस्तै प्रश्न आउंछन के भयो र ? अब कहिले उडन पाईन्छ ? के चार्टर बिमान आउंछ र ? सरकारको निर्णय के भयो र ? दुतावासको सुचना केही छ कि ! कोरोना महामारीका कारण अडकेर बस्नुपरेका दिदी बहिनी दाजुभाई बीचमा यस्तै कुरा हुन्छ र प्रश्न आईरहन्छन ।

१९९० को दशकमा अमेरिका पहिलोपटक आएको थिएं । त्यसपछिपनि पटक पटक अमेरिका घुम्न आएको छु । यसपटक मेरी छोरीज्वाईं २ नातिसंग भेटगर्न अमेरिका ३ महिनाको निमित्त भनेर पत्नि सहित आइयो यसैबिच महामारी र नेपालको उडान बन्दका कारण यतै अडकेर बस्नुपर्दाको दिनचर्या यसरी यस्तै कुरा गरेर दिन बित्दैछ।

बिहान एकजना नानीले मोबाईलमा प्रश्न गर्नुभयो, नेपालबाट केही खबर आयो कि अंकल र ? मैले गोलमटोल उत्तर दिएं, अहिलेसम्म त आएको जस्तो लाग्दैन तर केही दिनसम्ममा त पक्का आउला नी भनेर भनें । कुरा गर्ने नानी अमेरिकामा अध्यनरत विद्यार्थी हुन, (उनका पिता चिकित्सक हुनुहुन्थ्यो) को नेपालमा ह्रिदयाघातका कारण केही दिन अगाडी निधन भएको थियो । पिताका मृत्युका खवरले बिलखवन्दमा परेकि उनि उडेर नेपालमा दुखको घडीमा परिवारजनसंग समाहित हुन पुग्न आतुर रहेकिछन। कुरा प्राकृतिक पनि हो परिवारका सदस्यको मृत्युको घडीमा परिवारजनका केही भावनात्मक तथा सांस्कृतिक कर्तव्य गांसिएकोहुन्छ। यसैबिचमा नेपालमा बिदेशमा अडकिने नेपालीहरुलाई नेपाल फर्काउने योजना रहेका खवरहरु आईरहेकाछन र बिदेशस्थित दुतावासहरु नामावली संकलन गर्न क्रियाशिल रहेका पनि छन । यसै बिच ट्राभल एजेन्टहरु नेपाल सरकारले अनुमति देलाकि भनेर टिकट बुकिंग गराउने होडमा लागेको समेत देखिन्छ।

आजै एक जना दाजुले नेपालमा हिजोमात्र आफ्ना पतिको मृत्युका खवरले बिचलित बनेका एक महिलाका खवर सुनाउनुभयो । त्यस्तै नेपालको अन्तराष्ट्रिय बिमानस्थल बन्दका कारण केही समय पहिले ललितपुरका एकजना न्युयोर्कमा बस्ने भाइका पिता सिकिस्त बिमारी भएका अवस्था देखि मृत्युहुंदा समेत घर पुग्न पाएनन भने अर्का एक भाईको आमाको मृत्युको समयमा स्वदेश जान नपाएर परदेशमा नै क्रियाकर्म गरे भने अर्का एक मित्रका आमा उपचारमा रहेका र अक्सिजन दिएर राखेको समाचारले चरिजस्तै भुरुरु उडेर जान पाए हुने भनेर बेदना पोखेका थिए। यस्ता कुरा सुन्दा मानवता भएका कुनै पनि मन भक्कानिएर कुंडिनु त स्वभाविकनै भयो ! साथै छोटो समयकालागि आएका कतिपय मानिसहरुलाई आफ्ना दैनिक सेवन गर्नुपर्ने औषधि लगायत सक्किंदै गर्दाको पीडा र बिदेशमा डाक्टरको प्रेस्किप्सन बिना औषधि लिन नपाईने र नेपालबाट गएकाहरुलाई डलरमा तिर्नुपर्दाको सकस भिसा सकिएका वा सक्किंदै गर्दाको अप्ठेरो, लगायतका अन्य कुराहरु पनि आफ्नो ठाउंमा छंदैछ । नेपालका व्यापार ब्यबसाय र घरायसी कारोबार छोटो समयको लागी ब्यबस्थापन गरेर आएका थियौं, अहिले पुरै चौपट भएको छ। त्यहाँ रहेका आफन्तहरु र सामाजिक सम्बन्धसंगको कुरा अफ्ठेरोको अर्को पाटो हो।

यी त प्रतिनिधि पात्र उदाहरण मात्रै हुन, मानिसहरुको आवत जावत बन्द गराउने दोषको श्रेय यो कोरोना रुपी भाईरसुलाई जाने भो नै, तर पनि कतिपय देशले कोरोनाका महामारी बिचमापनि हवाई उडानमा सहजता ल्याएकाथिए भने, कतिपय देशले आफ्ना नागरिकहरुलाई स्वदेस फर्काएका समाचारहरु छन नै तर हाम्रो देशको हकमा लकडाउन र अन्तराष्ट्रिय बिमानस्थल बन्दका बिचमा पनि लगभग ८००० मानिसहरु चार्टर बिमानबाट बाहिर गएको सुनिंदा नेपालमा जम्मा ८ जना मानिस मात्रै भित्रिएको खवरको समाचार बनेको थियो भने, बल्ल अब बर्मा तथा युएईबाट अडकेर बसेका नेपालीहरु स्वदेश भित्राउन थालिएकोछ। ढिलैभएपनि कमसेकम बिदेशको भूमीमा अलपत्र परेका नागरिकहरु स्वदेश फर्कन पाउंछन कि भन्ने लक्षण देखिएको छ। केही मुलुकबाट आफ्ना केही नागरिकहरुलाई हवाई मार्गबाट स्वदेश ल्याएको सुन्दासुन्दै यसैबिच नागरिक उड्डयन प्राधिकरणका तर्फबाट चार्टर बिमानमा रोक लगाएको समाचारले अर्को अन्योलता ल्याएकोछ।

नेपालका कतिपय नागरिकहरु संसारका थुप्रै देशमा धेरै वर्षदेखि अध्यनका लागि वा रोजगारिका लागि नयां नयां अवसरको खोजिमा बिदेशिने क्रम रहेकैछ । पहिले पहिले बिद्यालय तहको अध्यनमा समेत नेपालीहरु भारतका थुप्रै स्थानमा दार्जिलिंग, कालिम्पोंग, देहरादुन, नैनीताल आदी स्थानमा अध्ययन गर्दथे हिजोआज बिद्यालय तहमै भारतमा पढन जानेक्रममा केही कमी आएकैछ। बिगतमा पनि नेपालीहरु कामको खोजिमा भारतका बिभिन्न स्थान तथा बर्मा आदि ठाउंमा जाने गरेका इतिहास रहेको थियो ।

पछिल्लो समयमा मानिसहरु अध्ययनका लागि युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा वर्षेनी हजारौं हजार जाने गरेका र अहिले आएर बर्षमा यो संख्या पचासौं हजार हुनथालेको छ। वर्षेनी पढन बिदेशीएका हजारौं हजार बिद्यार्थीहरु पढाई सकेर स्वदेश नफर्कने क्रम बढदोछ। यस्तै स्वदेशमा रोजगारीका अवसरहरु कम देखेर वर्षका लाखौं मानिसहरु खाडी राष्ट्र र मलेशिया आदी देशमा गईरहेकाछन। जसको कारण देशमा रेमिट्यान्सबाट ठुलो रकम भित्रि रहेकोछ । यहि रेमिट्यान्स धेरै बर्षदेखि नेपाली अर्थतन्त्रको मेरुदण्ड बनेर बसेको कुरा घाम जस्तै छर्लंग छ।

स्वभाविक रुपमा नेपालीहरु बिदेशमा अस्थायी वा स्थायी रुपमा बसोबास गर्दैमा नेपालमा रहेका परिवारजनसंगको सम्बन्धमा कुनै फरक हुन सक्तैन । भने बिदेशमा रहेका नेपालीको पनिआफ्नो स्वदेशप्रतिको र आफ्ना परिवारजन प्रतिको मायांमा कुनै कमी हुने कुरा पनि त हुनेभएन। साथसाथै नेपालीहरु घर फर्कने वा नेपालीहरु आफ्ना परिवारजन भेटगर्न बाहिरजाने कुरो पनि हुनेनै भो।

रह्यो कुरा बिश्व महामारीमा रहेको कोरोनाको ताप र यसबाट बिश्वले कोरोना संक्रमणमा रोकथाम गर्न अवलम्बन गरेको लक डाउन, सामाजिक दुरी आदीको सिध्दान्तको प्रथम चरणबाट बिश्वका मुलुकहरु लकडाउनका स्वरुपहरुलाई परिमार्जित गर्दै पुर्ण रुपको लक डाउनको अन्त्यको दिशातर्फ उन्मुख भईरहेका छन ।

माथि उल्लेख गरिसकेको जस्तै कतिपय मुलुकले लकडाउनका बिचमा नै आफना बिदेशमा रहेका अडकिएका नागरिकहरुलाई स्वदेश फर्काए, तर हाम्रो देशको हकमा लकडाउन भएको ७० दिनपछि बल्ल हवाई उडानबाट आफ्ना नागरिक फिर्ता ल्याउन शुरु गरेको भएतापनि अझै स्पष्ट कार्य योजना सहित अगाडी बढन नसक्दा अन्योल कायमै छ। संसारका कुनैपनि भू भागमा गएका प्रत्येक नेपाली नागरिकहरुको स्वदेश फर्कन पाउनु अधिकार पनि हो।

अहिलेको सन्दर्भमा यस्तो यावत कुराहरुबाट बिदेशमा अडकिएर बस्नुपरेका नेपालीहरुको एउटै प्रश्न रहेकोछ कि कतै हामी गैर नागरिक भयौं कि ? अफ्ठेरोमा परेका धेरै नेपालीहरुले मलाई यहाँ पनि अभिभावक जस्तै मानेर गरेका यी प्रश्नहरुलाई सम्झेर मलाई पनि सोध्न मन लागेको छ -सरकार ! के हामी नेपाली नागरिक हैनौं र ?

(सुप्रभात भण्डारी नेपाल अभिभावक महासंघको केन्द्रिय अध्यक्ष हुनुहुन्छ। अमेरिका घुम्न आउनु भएका भण्डारी भर्जिनिया राज्यमा छोरीज्वाईसंग बस्नु भएको छ। सम्पादक।)

कार्यक्रम जोग संजोगमा पत्रकार सतिश चापागाईंसंग प्रवासमा अड्किएका नेपालीको पक्षमा आवाज उठाउदै सुप्रभात भण्डारी।

https://www.facebook.com/nepalesediaspora/videos/593498764593180/

images
प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - २१:०७:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend