Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

प्रवास नेपाली सम्पर्क विभाग अमेरिका तथा मातहतका राज्य समितिहरू विघटन सम्बन्धी आधिकारिक धारणा - दिपक सुनुवार

प्रवास नेपाली सम्पर्क विभाग अमेरिका तथा मातहतका राज्य समितिहरू विघटन सम्बन्धी आधिकारिक धारणा - दिपक सुनुवार

images
प्रवास नेपाली सम्पर्क विभाग अमेरिका तथा मातहतका राज्य समितिहरू विघटन सम्बन्धी आधिकारिक धारणा - दिपक सुनुवार


म, प्रवास नेपाली सम्पर्क विभाग अमेरिका का प्रमुख दिपक सुनुवारले, रास्वपा प्रवास नेपाली सम्पर्क विभाग अमेरिका तथा यस मातहतका सबै राज्य समितिहरू प्रवास विभागको कार्यविधिअनुसार पूरा गरिनुपर्ने अनिवार्य प्रक्रियाहरू समयमै सम्पन्न नभएको, विभाग तथा मातहतका समितिहरूले आवश्यक औपचारिक अनुमोदन एवं प्रमाणीकरण केन्द्रबाट प्राप्त नगरेको, तथा सम्बन्धित पदाधिकारी (सचिव) ले पूरा गर्नुपर्ने जिम्मेवारी समयमै पूरा नगरेको अवस्थाको सम्पूर्ण नैतिक जिम्मेवारी प्रमुखको हैसियतले लिँदै विभाग तथा मातहतका समितिहरू विघटन गरी नयाँ अधिवेशनको मागसहित नेपालस्थित केन्द्रिय कार्यालयमा औपचारिक पत्राचार गरिएको जानकारी गराउन चाहन्छु।

किन यो अवस्था आयो भन्ने सम्बन्धमा म विस्तृत रूपमा आफ्नो धारणा सार्वजनिक गर्न चाहन्छु।

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग अमेरिकालाई आजको यो अवस्थासम्म ल्याउन सुरुवाती दिनदेखि शून्यबाट एक-एक गर्दै संगठन निर्माण गरिएको थियो। प्रवास विभाग अमेरिका र यस मातहतका १३ वटा राज्य समितिहरू गठन गरिएको थियो। प्रवास विभागको कार्यविधिअनुसार अधिवेशनमार्फत म विभाग प्रमुखको रूपमा निर्वाचित भई पूर्ण समिति गठन गरिएको थियो र चुनाव अगाडिसम्म सबै कार्यहरू व्यवस्थित रूपमा अगाडि बढिरहेका थिए।

नेपालको चुनावको समयमा विभागको जिम्मेवारी विभागका उपप्रमुखज्यूलाई कार्यवाहक प्रमुखको रूपमा दिई म नेपाल गएको थिएँ। निर्वाचन सम्पन्न भयो। पार्टी शक्तिशाली बन्यो। लगभग दुई तिहाइकै सरकार गठन भयो। करिब चार महिनाको नेपाल बसाइपछि अब प्रवास विभागलाई अझ सशक्त, अझ चलायमान, अझ समावेशी तथा बौद्धिक व्यक्तित्वसहित अगाडि बढाउनु पर्छ भन्ने सोचका साथ अमेरिका फर्किएको थिएँ। नेपालमा आफ्नै पार्टीको शक्तिशाली सरकार बनेको अवस्थामा देश विकासका लागि प्रवासी नेपालीहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ भन्ने विश्वासका साथ प्रवास विभागलाई अझ मजबुत बनाउनु पर्ने आवश्यकता महसुस भएको थियो।

तर अमेरिका फर्किएपछि विभागभित्रका गतिविधिहरू नियाल्दा विभाग एक किसिमको अराजक दिशातर्फ गएको देखियो। विभागभित्र गुटबन्दी, बहुमतको धाक, प्रक्रियाभन्दा शक्ति प्रदर्शन, र “बहुमत छ, जे गरे पनि हुन्छ” भन्ने किसिमको अभ्यास बढ्दै गएको पाइयो। यतिसम्म कि, नेपालबाट फर्किएको विभाग प्रमुखलाई विभिन्न झुटा प्रपञ्च, सड्यन्त्र र आरोप लगाई कुनै तथ्य पुष्टि नगरी, प्रमाणित नगरी, सिधै बहुमतको आधारमा कारबाही र बर्खास्त गरिएको अवस्था समेत सिर्जना गरियो।

प्रश्न यहाँ उठ्छ, प्रवास विभाग अमेरिका भित्र आखिर कस्तो किसिमको राजनीतिक संस्कार र संगठनात्मक थिति बसालिँदै छ ?

अझ अचम्मको कुरा, यी सबै गतिविधिहरूको बारेमा नेपालस्थित प्रवास विभाग केन्द्रिय संरचना समेत मौन देखिनु झन् गम्भीर विषय बनेको छ।

हामीले प्रवास विभाग अमेरिकालाई सुरुवाती दिनदेखि अत्यन्त कठिन परिस्थितिमा निर्माण गरेका हौं। सीमित स्रोत, थोरै साथीहरूको साथ, र “हामी प्रवासीहरूले पनि देशको लागि केही गर्नु पर्छ” भन्ने भावनासहित पार्टी सभापतिको भिजनलाई साथ दिँदै संगठन निर्माण गरिएको थियो। हामीसँग राजनीतिक पृष्ठभूमि र अनुभव नहुँदा पनि देशप्रतिको जिम्मेवारीबोध थियो। त्यही भावनाका साथ विभागलाई यहाँसम्म ल्याइएको हो। तर आज विभागभित्र जुन प्रकारको अभ्यास, गुटबन्दी र गतिविधि देखिँदैछ, त्यसले गम्भीर दुःख र चिन्ता पैदा गरेको छ।

यसै क्रममा पार्टीको विधान तथा प्रवास विभागको कार्यविधिलाई गहिरिएर अध्ययन गर्दा विभाग तथा मातहतका राज्य समितिहरू गठन गर्दा पूरा गर्नुपर्ने अनिवार्य प्रक्रियाहरू पूरा नभएको, आवश्यक वैधानिक अनुमोदन तथा प्रमाणीकरण केन्द्रबाट प्राप्त नभएको, साथै कार्यविधिअनुसार तोकिएको समयसीमा समेत समाप्त भएको अवस्था देखियो। सम्बन्धित प्रक्रियागत कार्यहरू समयमै सम्पन्न गरिनुपर्ने जिम्मेवारी पूरा नगरिएको कारण सम्पूर्ण नैतिक 

 

 

जिम्मेवारी प्रमुखको हैसियतले लिँदै मैले मिति मे १७, २०२६ मा विभाग तथा समितिहरू विघटन गरी नयाँ अधिवेशनको मागसहित केन्द्रिय कार्यालयमा औपचारिक पत्राचार गरेको हुँ।

तर सत्य तथ्य नबुझी, कुनै छानबिन नगरी, सिधै “पार्टी हित विपरीत कार्य गरेको” भन्दै २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको र अर्को आदेश नभएसम्मका लागि निलम्बन गरिएको पत्र प्राप्त हुँदा म अचम्मित भएको छु।

अझ अचम्मको कुरा, विभाग तथा समितिहरू कार्यविधिअनुसार वैधानिक अवस्थामा नरहेको, नयाँ अधिवेशनमार्फत पुनः वैधानिक बनाउन आवश्यक रहेको विषय स्पष्ट रूपमा केन्द्रमा जानकारी गराउँदा समेत कुनै गम्भीर अध्ययन वा छानबिन नगरी प्रमुखलाई कारबाही प्रक्रिया अगाडि बढाइएको देखिन्छ। उता विभागले रोजेको व्यक्तिलाई कार्यवाहक प्रमुख कायम गर्न निर्देशन जानु झन् शंकास्पद विषय बनेको छ। यसले कतै न कतै सीमित घेराभित्रबाट संगठन सञ्चालन भइरहेको स्पष्ट संकेत गर्दछ।

पार्टी सभापति र पार्टीको विधानले यस्तो अभ्यासलाई कहिल्यै स्वीकार गर्दैन। प्रवास विभाग विधि र विधानभन्दा माथि हुन सक्दैन।

म स्वीकार गर्छु, मसँग राजनीतिक पृष्ठभूमि र अनुभव छैन। काम गर्ने क्रममा जान-अन्जानमा कमजोरीहरू भएका होलान्। तर आज पार्टीको उचाइ, सरकार गठन, र प्रवास विभागको बढ्दो भूमिकालाई हेर्दा विभागलाई अझ सक्षम, समावेशी, बौद्धिक तथा पेशागत प्रतिनिधित्वसहित अगाडि बढाउनु अत्यन्त आवश्यक छ भन्ने मेरो स्पष्ट धारणा रहेको छ।

म सधैं पदमा बसिरहनका लागि संगठन निर्माण गर्ने व्यक्ति होइन। आफ्नो नैतिकता, इमानदारी र जिम्मेवारीका साथ विभागलाई यहाँसम्म ल्याउने प्रयास गरिएको हो। अब देश निर्माणका लागि र प्रवास विभागलाई अझ सक्षम नेतृत्वको आवश्यकता छ र त्यसका लागि मार्ग प्रशस्त गर्न पनि तयार छु। किनकि यो पदको लागि होइन, देश र विभागको भविष्यको लागि हो।

नेपालले अहिले जुन प्रकारको परिवर्तनको यात्रा सुरु गरेको छ, त्यसलाई अझ प्रभावकारी बनाउन प्रवासी नेपालीहरूको पनि महत्वपूर्ण भूमिका रहनेछ। त्यसकारण प्रवास विभागलाई विभिन्न क्षेत्रका योग्य, सक्षम, अनुभवी, बौद्धिक तथा पेशागत व्यक्तित्वहरू समेटिएको पूर्ण समावेशी संरचनासहित पुनर्गठन गर्नु अत्यन्त आवश्यक छ। र यसको लागि नयाँ अधिवेशनमार्फत व्यापक रिफर्मेसन आवश्यक रहेको मेरो ठहर छ। म यस विषयमा निरन्तर आवाज उठाइरहनेछु। अहिलेको प्रवास विभागको संरचनामा व्यापक सुधार, पुनर्संरचना तथा रिफर्मेसन अत्यन्त जरुरी र अपरिहार्य भइसकेको छ।

यो सम्पूर्ण जानकारी नेपालस्थित केन्द्रिय नेतृत्वसम्म वास्तविक रूपमा पुगोस्, आवश्यक परे सत्य तथ्यको छानबिन होस्, र प्रवास विभाग अमेरिकालाई सही दिशामा अगाडि बढाइयोस् र देश निर्माणको लागि अभिन्न अंग बनाइयोस् भन्ने उद्देश्यले नै यो धारणा सार्वजनिक गरिएको हो।

दिपक सुनुवार
प्रमुख
विघटित प्रवास नेपाली सम्पर्क विभाग अमेरिका

 

images
प्रकाशित मिति :जेठ ८, २०८३ शुक्रवार - ०१:४१:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend