कालीको आवाज घन्किएको छ
चिसो पानीको सितलतासँगै
पश्चिममा आकाश खुलेसँगै
हातखुट्टा दर्बिला भएका छन्
भन्लान् कोही कोही
कागज त हो
हो साँचो हो
सुगौली पनि त कागज नै हो
दक्षिण बग्दैमा नदीहरू
पानी दक्षिणको हुने भए
पृथ्वीको शिर अर्कैको भैसक्थ्यो शायद
* * *
नैतिकता उठ्दाखेरी
दक्षिणतिरको शक्ति
थचक्क बस्नुपर्ने भएको छ
भलै बाघको गर्जन किन नआओस्
२०७७ जेठ ३१ को दिन
सगरमाथाको शिर उचो भएको छ
तराई प्रफुल्ल मुद्रामा गमक्क परेको छ
पहाडकी रानी सौन्दर्यताले मक्ख छिन ?
राष्ट्रघातीको आरोप स्खलित भएको छ
सयौं थुङ्गाको फूलको माला
मखमलीमा रुपान्तरित भएको छ
खुशीयालीमा जोड जोडले खुट्टा बजार्दा पनि
खुशी देखिन्छिन् नेपाल आमा
* * *
उजिरसिँहहरूको अभेद्य किल्लाले
जोगाएको निशानीलाई
अब्बल दर्जामा राखिराख्ने
देशका खम्बाहरू युगका श्रष्टा बनेका छन् आज
जाज्वल्यमय चम्किलो तारा बनेका छन्
हेपिदै आएको संस्कृतिलाई चुनौती दिँदै
जुरुक्क उठाएका छन् नेपाली स्वाभिमान
निर्माण भएको छ जिउँदो जाग्दो अजम्मरी इतिहास
बाघे पञ्जामाथी दर्बिलो झापड उठेको छ
बस्ती बस्ती भोको पेटभित्र पनि
म र मेरो देश भनिकन शान चम्केको छ
एक साथ उठेका हातहरूले कोरोनाको बिगबिगीको बेला
पाँच मिनेट हल गुञ्जायमान हुँदा
तीन करोड छातीहरू
फुलेका छन् हर्षले
इतिहासमा हारेकाहरूलाई
जीतको मीठो पाठ पढाएका छन्
कालान्तरसम्म नेपाल नेपालै भएर रहनेछ
आफ्नो सम्पूर्ण तागतको साथ
नयाँ इतिहास रचेको छ मेरो देशले
- रिब्दीकोट गापा -३, पाल्पा ।