Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

र यी सब हुनुको कारण छ, प्रीय कवि -दीपक विश्वकर्मा

र यी सब हुनुको कारण छ, प्रीय कवि -दीपक विश्वकर्मा

नेप्लिज डायस्पोरा

३, श्रावण २०७७
images
र यी सब हुनुको कारण छ, प्रीय कवि -दीपक विश्वकर्मा

 

हरेक साँझ बिहान बज्ने
मन्दिरको घण्टाको टङ टङ टङको आवाज
मलाई कर्णभेदी र अप्रीय लाग्नुको कारण छ
हरेक साँझ शुरू हुने मन्दिरको आरति
मलाई मसानको शोला जस्तै लाग्नुको कारण छ
हरेक बिहान शुभसाइतमा उद्घोषित् हुने शंखध्वनी
मलाई सोकधुन लाग्नुको कारण छ ।

उपरोक्त मान्यताहरू मेरा आफ्ना मान्यताहरू हुन् । जो कतिसय मानिसहरूलाई अति तुच्छ लाग्न सक्दछ । कतिपय मान्यताहरूको विकास यसरी भएको छ कि कसैलाई सास्वत सत्य लाग्दछ र कसैलाई ग्राह्य नहुन सक्छन् । हाम्रो समाज विभेदको जगमा खडा भएको समाज हो । विशेषगरी हिन्दु समाजमा मानिसमानिस बीचमा जो खाडल खडा भएको छ, यसले मानिसहरूलाई एकअर्कोलाई आफुभन्दा तुच्छ वा सर्वोदय मान्दछ । हामी आफुलाई हिन्दु मान्दछौं, तर सनातनको नाममा एकसुत्रमा आवद्ध हुन सकिरहेका छैनौ । हाम्रा आफ्नै चाड छन् । हाम्रा आफ्नै पर्वहरू छन् र तिनलाई सम्पन्न गर्ने परिपाटीहरू आफ्नै छन् । मन्दिर छ, तर सो मन्दिर खास जातिकोलागि मात्र खुला छ । मन्दिरमा शंख बज्दछ, तर त्यो शंखध्वनी सबैलाई कर्णप्रीय लाग्दैन । किन लाग्दैन ? कारण उही हो, शदियौं देखि सनातनको नाममा समाजमा चल्दै आएको घृणित जात ब्यवस्था ।


पश्चिम रुकुम, चौरुजहारीको नवराज वि.क. लगायत आधा दर्जन युवाहरूको जातीय नरसंहार पछि मलाई मात्र होइन, निकै धेरै मानिसहरूलाई आफुले अतितमा भोगेका, वर्तमानमा भोग्दै आएका विभेदका घटनाहरूसंग एकाकार हुने नमिठो मौका जु¥यो । मलाई मात्र होइन, धेरैलाई जगको औकातको आभाष भएको छ अहिले । समाज शिक्षित भएको भान हुन्छ । समाज सुसंस्कृति भएको समेत भान हुन्छ । तर जसरी शिक्षामा विकास भएको छ, जसरी हामीलाई देशदुनियाँको सेरोफेरोमा रुमलिएर समाज सभ्य र सुसंस्कृत लाग्दछ तदनुसार सामाजिक ब्यवहारको भने नामोनिशाना कहिँ भेटिदैन ।


यतिबेला देशमा कम्युनिष्टहरूको राज छ । राज पनि यति बलियो छ कि दुईतिहाईको चरमचुलीमा बिराजमान छन् कमरेडहरू । विशेषगरि जनयुद्धको रापमा हुर्किएको आजको नयाँ पुस्तालाई जात त्यति असहज लाग्दैन । कमरेडहरू बास बस्न आएको, एउटै भान्सामा खाना खाएको, संगै रात बिताएर अर्को दिन बाटो लागेको धेरैजसो उत्पीडित समुदायका युवाहरूले देखे भोगे । चौरजहारीको मृत्युमैदान यसैपनि जनयुद्धको उद्गमस्थल भएको, सो भेगका सयौं उत्पीडित युवाहरूले जनयुद्धमा बलिदान दिएको आदि कारणले पनि नवराजहरू आफ्नो जात प्रेमको तगारो नबन्ने कुरामा ढुक्क थिए वा विश्वस्त भए ।


जनयुद्ध चरमचुलीको बेला थियो । दुबै पक्षका योद्धाहरूको सहादतको शिलशिला कायम थियो । त्यस्तो जघन्य अवस्थामापनि हाम्रो घरमा कमरेडहरूको बास बसाइमा कुनै कमि थिएन । हाम्रो जात थाहा पाएपछि केही कमरेडहरू निकै नजिक हुन्थे र आफ्नो मनको कुरो खोल्दै भन्थे—मैले पनि तपाईंहरूकै जातकी कमरेडहरूसंग बिहे गरेको छु नि दाइ । यस हिसाबले म त तपाईहरूको ज्वाईं परे हैं ।


कमरेडको कुरोले हामी पनि प्रफुल्ल हुन्थ्यौं । गोपनियताको कारणले धेरै निधिखुदि गर्ने कुरो भएन । तर पनि केही कुरा हुन्थे । र मन ढुक्क बनाइन्थ्यो— हँ नेपालमा अब चाँहि पक्कै केही हुन्छ ।


जनयद्धको पटाक्षेप पछि भने हाम्रो आंकलनले हावा खायो । हाम्रा थरका चेलीबेटी बिहे गर्ने कमरेडहरूले पुनः विवाह गरी स्वजाति ससुराली बनाउन पुगे । बाहुनी, क्षेत्रिनी, मगर्नी बनेका दामाई, कामी र सार्कीका छोरी चेलीहरू जहाँबाट प्रस्थान गरेका थिए उहीँ फर्किए । तिनै कामीका ज्वाईं बनेका र मेरोमा बास बस्ने एकजना कमरेड संग कहिलेकाँहि भेट हुने गर्दछ आजपनि मेरो । केही समय पहिले मसंग जातीय विषयउपर फेसबुके जुहारीमा उत्रिएका थिए उनी । मेरो पोष्टमा कमेण्ट गर्दै लेखेका थिए— “कहाँ छ आजकाल नेपालमा जातपात दाइ ? संविधानले बर्जित गरेको छ । छुवाछुत बिरुद्धको सजाँय ऐन आइसकेको छ । लाभका सबै पदहरूमा आरक्षणको ब्यवस्था भएको छ ।” उनको दावीउपर जवाफ दिँदै मैले उनलाई जातकै कारणले पहिलो विवाहलाई तिलान्जलि दिएर अर्को विवाह गरेको के सम्झाएको थिएँ, सोही सम्झाइ मै उनले आफ्नो पहिलेको कमेण्ट नै मेटाएर संवादबाटै गाएब भए ।


आमउत्पीडित समुदायको कम्युनिष्ट विचारधाराप्रतिको प्रमुख आकर्षण जातीय वितृष्णा नै पहिलो कारण हो । कार्ल माक्र्सले धर्मलाई अफिम भन्दै ब्याख्या गरे । तदनुसार जातब्यवस्था धर्मको जगमा खडा भएको कारणले कम्युनिष्टहरू धर्म मान्दैनन्, सोही कारणले जातपात पनि मान्दैनन् भन्ने आम सोचाइ बन्न गयो । जनयुद्धमा मात्र होइन, नेपालमा कम्युनिष्ट पार्टीको स्थापना पछि कम्युनिष्ट नामका पार्टीमा सामेल हुने आम उत्पीडित समुदायको आकाक्षा पनि जातको अन्त्य नै थियो । यसको ज्वलन्त उदाहरण कहिँ खोज्नु पर्दैन । म आफै यसको जीउँदोजाग्दो दृष्टान्त हुँ ।


बास्तबमा म कम्युनिष्ट पार्टीमा मेरो आफ्नो उन्नतीको लागि लागेको थिइन । मेरो उन्नती त पढाइमा निहीत थियो । पढाइको लागि खर्च भर्ने अन्तर्राष्ट्रिय दात्रीसंस्था युनाइटेड मिसन टु नेपाल थियो । तर आफ्नो नीजि भलाइ भन्दा जात ब्यवस्थाको पतन मेरो लागि सर्बोपरी थियो । मैले जुन ठाउँमा औपचारिक शिक्षालाई बहिष्कार गरेर राजनीति शुरु गरेँ, सो ठाउँमा कमाण्ड संहालेर बसेका कमरेडले भेटघाट भएको केही दिनमै भनेका थिए— छिट्टै नेपालमा हाम्रो सत्ता आउने छ कमरेड । सामन्तवादको उल्मुलन हुनेछ । हामी शासक बन्ने छौं । जातपातको मूल जड सामन्तवाद हो । सामन्तवादको अन्त्य भएपछि जातपात रहने कुरै भएन । हुन पनि त्यो समयमा कम्युनिष्टहरूले जातपात मान्दैनन्, बुढाबुढीलाई बाँकी राख्दैनन् भन्ने कुराको खुब चर्चा थियो । प्रचारमा आएजस्तो बुढाबुढीको नासको कुरोउपर विश्वास गरिएन, तर जात नरहने कुरामा भने विश्वस्त हुन पुगियो । फलस्वरुप क्याम्पस पढ्ने, डिग्री हातमा बोकेर सरकारी जागिर खाएर सिडियोसाप बन्ने सपनालाई तिलाञ्जलि दिएर तिनै कमरेड संगै झोले बनियो चार वर्ष ।


पार्टीमा छँदै जातको जो बबण्डर मैले भोगेँ सायदै कसैले भोगँे होला । विश्वविद्यालयको डिग्री थिएन मसंग । तर पढालेखाजस्तो थिएँ । उमेर थियो, त्यसैले कसैले पनि मलाई मेरो समुदायको रुपमा आंकलन गर्न सक्दैन थियो । मानवीय प्रवृत्ति हो, सोही सेरोफेरोमा एकजना बाहुनी कमरेड मेरो पछि लागिछन् । यो पछि लागेको कुरो ती कमरेडको कानमा पुगेछ । यो काने खबरले जो तुफान खडा ग¥यो । त्यस तुफानले विशाल छालको रुप लिन पुग्यो । उनीहरूको पारिवारीक बैठक बस्यो । सो बैठकमा मलाई पनि सामेल गराइयो । बैठकले रोद्ररुप लियो । सोही रुोद्रताको कारणले मेरो पार्टी प्रतिको आस्था भरोषा र विश्वास पनि सेलाउँदै गयो ।

कमरेडले लामो कुरो केही भनेका थिएनन् । मात्र उनले भनेका हुन्— “बाहुनी ताक्ने हिम्मत गर्नु भएछ त हेमन्त कमरेड !” संघमा काम गर्ने एकजना परियार थरकी महिला कमरेढको नामै लिएर भन्नुभयो—“बाहुनी ताक्नेले बालकुमारी कमरेडसंग विहे गर्न सक्नुहुन्छ ?” यो अप्रत्यासित आरोप, लाल्छला र आग्रहले मलाई आजप्रयन्त मर्माहत बनाउने गर्दछ ।


आज देशमा बाहुनी ताकेको आरोप लगाउने तिनै महान कमरेडहरूको अजम्बरी शासनसत्ता छ । सोही पार्टीका होनहार कमरेडकी अर्धाङ्गिनी राष्ट्रप्रमुख छिन् । चौरजहारीको रापमा हुर्किएका योद्धाहरूको सरकारमा बलियो कमाण्ड छ । यति हुँदाहुँदै पनि— नवराजहरू मारिएकै छन् । अंगिराहरू मारिएकै छन् । मन्दिर, धारा, कुवाको पबित्रता कायमै छ र जातको हवन चलिरहेकै छ ।


नवराजको सहादत पछि मैले एउटा लामो कविता लेखेँ । सो कवितालाई छापा मिडिया बुटवल टुडेले छाप्यो । अमेरिका निवासी भाइ सतिश चापागाईको इ—पेपरले प्रमुखता सहित छाप्यो । केही साथीहरूले शेयर गर्नु भयो । थुप्रै घतलाग्दा कमेण्टहरू आए । विद्धान कवि भाइ गिरि श्रीस मगरले अन्तराका केही पङ्तीहरूलाई बेजोडको उपमा दिनु भयो । बास्तबमा उपरोक्त पङ्तीहरू मेरो जीवनका भोगाइहरू हुन् । जहाँतहिँ बाबुराम खनाल, जंगबहादुर क्षेत्री, इश्वरी खनाल, रणबहादुर क्षेत्री, लक्ष्मण रायमाझी, कुन्दन अर्याल र बेदु शर्मादाइहरू भेटिदा रहेनछन् । यात्राको दौरानमा यति चोखा मानिसहरू पनि भेटिएकि उनीहरूले पिँडीमा बास बस्न समेत दिएनन् । “यो त भैसीखाने जात हो, यसलाई काम नदेऊ” भन्दै रोजगारदाताको कान भर्ने महापण्डितहरू समेत भेटिए ।

अन्त्यमा—
यहि कारणले प्रीय कवि
मन्दिर मलाई
मेरो आफनो जस्तै लाग्दैन
त्यहाँ साँझसबेरा बज्ने शंखध्वनीले
राग बासन्ती बनेर
मलाई मन्त्रमुग्ध पार्नै सक्दैन
यसैले,
मलाई माफ गर कवि
म सन्ध्याबेला उतारिने
आरतिको सोलाको राप
मुक्तिको उत्कण्ठा अभिलाषा सहित
मनले ताप्न सक्दिन ।

र यी सब हुनुको कारण छ, प्रीय कवि ।

images
प्रकाशित मिति :श्रावण ३, २०७७ शनिवार - ०७:४९:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend