पस्री पाउ, बनेर भक्त, महिमा गायौ सधै शत्रुको
बिर्सी भाउ, भतेरको कुकुर भै ढोका ढुक्यौ शत्रुको
खोजी कत्ति भएन देश-हितको या बन्धुको,जातिको,
भित्री स्वार्थ र लाभमा बिटुलिने शिक्षा कताको थियो ?
ठूलै हाँक दियौ, गर्यौा गफ ठुला, प्रारम्भमै देखियो
मार्यौा मानिस युद्धमा अघिसरी हाम्रो घरै रित्तियो
भर्ने चाह रहेछ फेरि वनका साङ्ला यहाँ भित्रियो
साँचेका सपना गए गजबले नेपाल यो थोत्रियो ।
कस्तो निर्ममता रहेछ मनमा मार्यौ हजारौँ मुना !
पाएकै छ पलाउनै र? अहिले थाल्यौ त जादू टुना?
सम्झ्यो चस्स दुखाउँदैछ मुटुमा जाँदैन त्यो सम्झना
सिन्को भाँच्न समेत मुश्किल भए के गर्दछौ कल्पना ?
दिन्नन् साथ भने कुनै विदुरले, के कृष्णको पाउला?
के दुर्योधन - मन्त्रले शकुनिको यो राज जोगाउला ?
शङ्काग्रस्त छ राज्य पार कसले राम्रो गरी लाउला ?
छन् चारैतिर शत्रु, द्वन्द्व घरमा, सन्मित्र को आउला ?
यौटा बाघ उता कुरेर निहुरी हेर्दैछ घाँटीतिर
ब्वाँसाको दल तम्तयार छ यता घेरेर चारैतिर
कौवा, चील र गिद्धले गगन नै ढाक्दै गए आखिर
आशा, तागत, मेल बन्धुबिचको बाहेक क्यै हुन्छ र ?
यो हेर्यो यसमा चलेन कहिल्यै सम्वाद राम्रा कुरा
यो हेर्यो यसमा उठेन कहिल्यै आवाज, टिक्ने कुरा
गर्दैनौ कहिल्यै बसेर घतिला सम्वाद, बन्छौ छुरा
माखो मार्न समेत मुश्किल भए के गर्नु चर्का कुरा ?
पाल्पा,
हाल: काठमाण्डौं ३२, मनोहरवस्ती