बाल्टिमोर अमेरिका
गैर आवाशीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आईसीसी ७४ औ बैठक) को शनिबार सम्पन्न बैठक संघको आगामी निर्वाचनलाई मध्यनजर गर्दै सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन तथा आइसीसी डेलिगेट छनौट प्रक्रिया, सदस्यता ब्यबस्थापन (एमआईएस सिष्टम) र इलेक्ट्रोनिक भोटिंगका बिषयमा व्यापक छलफल गरेर सकिएको छ।
बैठक नेपालको समय अनुसार शनिबार साँझ ६ बजेबाट कन्फ्रेन्स कल मार्फत शुरु भएको थियो। बैठक बिनाकुनै निर्णय सकिएको आईसीसी सदस्य शंकर खड्काले बताएका छन्।
बैठकमा संघका सचिव गौरी राज जोशीले एमआइएस सिस्टम, कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रस्ताव र संघका अध्यक्ष कुमार पन्तले निःशुल्क सदस्यता र महासचिव डा. हेम राज शर्माले विधानसंसोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकमा बोल्ने अधिकांस पदाधिकारीहरुले निःशुल्क सदस्यता वितरणको अबधारणा राम्रो भएपनि एनसीसीको सहमति बिना तत्काल केहि निर्णय नगर्न सुझाब दिएका छन्। आईसीसी उपाध्यक्ष मन के सी, उपाध्यक्ष रबिना थापा, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, अमेरीकाज क्षेत्रिय संयोजक राजन त्रिपाठी, क्षेत्रीय संयोजक रोशन थापा लगाएत बहुमत पदाधिकारी तथा सदस्यहरूको सुझाब अनुसार अध्यक्ष कुमार पन्तले निर्णय सुनाउने क्रममा महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा सचिव गौरी राज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र भुषण घिमिरे रहेको समिति गठन गरेको जानकारी दिएका थिए । यो समितिले अरु ५ जना सदस्य थप गरी ८३ देशका एनसीसीहरुसंग व्यापक छलफल गरेर बोर्डलाई प्रतिबेदन पेश गर्ने र सोहि प्रतिबेदनपछि संघले आफ्नो धारणा बनाउने निर्णय बैठकले गरेको आईसीसी सदस्य शंकर खड्काले बताए।
यसैगरी, आईसीसीको निर्वाचन अन्लाईन गर्ने बिषयमा पनि साधारण सभाबाट एउटा स्वतन्त्र निर्वाचन समिति गठन गर्ने सोहि स्वतन्त्र निकायले निर्वाचन गराउने सुझाब बैठकका सहभागीहरुले दिएका थिए। यो बिषयमा पनि कुनै निर्णय हुन् सकेन।
आजको बैठकमा उपस्थित ७० भन्दा बढी सदस्यले निर्वाचन निश्पक्ष बनाउन तेस्रो पक्षलाई निर्वाचन गराउने जिम्मा दिन सुझाब दिएका थिए । साथै, बैठकले भोटिंग अन्लाईन भएपनि आइसीसीका उमेद्वारहरुले प्रस्तावक र समर्थकहरु सहित नेपाल मै गएर उमेद्वारी दर्ता गराउनु पर्ने प्राबधान गर्न सुझाब दिएको छ ।
छलफलमा उपस्थित उपाध्यक्ष द्वय मन केसी र रविना थापाले संघका बैठकका प्रस्तावमा थप छलफल आवश्यक रहेको र सबैलाई समेटेर अघि बढ्नुपर्ने विचार राखेका थिए ।
बैठकमा १ सय ४ जना पदाधिकारीहरुको उपस्थिति थियो।