शान्ति अर्याल अधिकारी
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०७७ पनि हामीबाट एक बर्षको लागी बिदा भएको छ ।
कुनैबेला थियो, तीज भन्ने बित्तिकै मनै फुरूङ्ग भएर आउथ्यो। जस्तै पिडा ब्यथाहरु मनमा भएपनि भुलेर हाँस्न मन लाग्थ्यो, चारैतिर हर्ष खुशी र उमंग छाएको देखिन्थ्यो । बाटो घाटो भन्ज्याङ चौपारी गाउँ शहर जताततै महिनौ अगाडिबाट तिजका गीतहरु घन्किरहेको सुनिन्थ्यो । सबैतिर रातै मात्र देखिन्थ्यो ।बाताबरण नै भिन्दै भएको आभाष हुने गर्दथ्यो । पछिल्लो समय त बिधालयदेखि लिएर हरेक संघसंस्थाहरूमा दर खुवाउने नाच्ने र रमाईलो गर्नेहरूको कमी थिएन ।
तर यसपटक त्यस्तो हुन सकेन ,बिगतका बर्षहरुमा जस्तै तिज त आयो तर खुशीयाली छाउन सकेन ।महामारी को पिडा खेपिरहेका मनहरु मा तीजले उज्यालो छर्न सकेन । छरोस पनि कसरी ? बर्षात को कारण बाढीपहिरो को पिडा एकातिर छ भने अर्कातिर महामारी फैलिरहेको छ । झनै सक्रमण बढ्ने डरले नेपाल सरकार ले तीज पर्व लाई नै मध्यनजर गरेर देश मा पून लकडाउनको सूचना सार्वजनिक गर्यो ।कतिपय स्थानहरुमा निषेधाज्ञा नै जारी गरिएको छ । एक जिल्ला बाट अर्को जिल्ला मा पुग्न निकै कठिनाई हुने गरेको देखिन्छ । यसर्थ पनि बाहिर निस्किने बाताबरण रहेन । तीजमा माईत गएर बृद्द भएका बाबा आमा सग सगै दर खाने , दिदी बहिनी दाजु भाई साथी सङ्गी भेट्ने र छमछमी नाच्ने रहर यदाकदा बाहेक सबै चेली को अधुरै रह्यो । साडी चोली गरगहना मा सजिएर नाच्ने गाउने रमाउने रहर पुरा हुन सकेन ।
देशमा मात्र होइन देश बाहिर समेत तीजको नाममा हुने औपचारीक वा अनौपचारिक कुनै पनि कार्यक्रमहरू संचालन हुन सकेनन। महिनौ अगाडिदेखि दर खाने र रमाईलो गर्ने स्थिति यसपटक रहेन । बिगत लामो समयदेखि नै त्यही संस्कृतिमा रमाउदै आएका हामी बर्षको एक दिन आउने चाड हो यत्तिकै चूप लागेर घर भित्रै रहन त कसको मनलाई स्विकार्य हुन्छ र ? तर बिडम्बना प्रकृतिले निम्त्याएको यो बाध्यात्मक परिस्थितिलाई स्विकार गरी पहिला ज्यान बचाउ, बाँचिएछ भने रमाईलो फेरि गरौला भनी एकान्त बास मै रहनुको बिकल्प रहेन । ठूलो ठूलो आवाजमा तीजका गीतहरु घन्किने भन्ज्याङ चौपारीहरूमा यसपाली शुन्यता छायो । चेलीबेटीको आवातजावातले रङ्गीन र उत्साहित देखिने गाउँघरको बाताबरण पनि सुनसान नै भयो । मन भुलाउनैको निम्ति आ आफ्नै घर घरमा कोठा कोठामा रमाउने प्रयास गरेका तिज गीतको लाईभ र भिडियो पनि सामाजिक संजालमा बिरलै पाईयो । यो देख्दा लाग्यो महामारीले साच्चिकै सबैको मनमा पिडा दिएको छ । नाच्ने गाउने रमाउने त कसैलाई जाँगर नै रहेन ।
बाह्रै महिना काममा ब्यस्त रहने र कामले थकित भएका बिदेशी भूमिमा रहेका नेपाली महिलाहरू समेत तीज भनेपछि हुरुक्कै हुने र बिदा मिलाई मिलाई दर खाने नाच्ने गाउने एक आपसमा खुशी साटासाट गर्ने गरेर केही हदसम्म जन्मभूमि र आफन्त बाट टाढा रहनु पर्दाको पिडालाई भुल्ने प्रयास गरेको पाईन्थ्यो ।बिभिन्न किसिमका सामाजिक संघ संस्थाहरुले औपचारीक कार्यक्रम नै गरेर दिदी बहिनीहरुलाई नचाएको दृष्य निकै चाखलाग्दो हुने गर्दथ्यो । तर यसपटक कुनै पनि नेपाली समाजले कार्यक्रम गर्न सकेनन् । बाताबरण शून्य नै देखियो । कतिपय देशहरुमा यदाकदा दर खाने कार्यक्रमको आयोजना गरेर रमाउने प्रयास गरे पनि कार्यक्रम पश्चात संक्रमण भेटिएको खबरहरू बाहिरियो। जसले गर्दा समुदायमा झनै त्रास मात्र थपेन सचेत रहन समेत सुचित गरायो । बिगत एक बर्षदेखी म आफै बस्दै आईरहेको देश पोर्चुगलमा पनि गत बर्ष तीजलाई निकै भब्य रूपमा पाएको थिएँ रमाईलोसग बितेको थियो । तर यो पटक त्यसो हुन सकेन । अन्य देशहरू जस्तै महामारीको पिडा खेपिरहेको यो देशले पनि झन्डै २ महिनाको लकडाउनपछि खुल्ला गरेको छ तर संक्रमणको अबस्था देखा परिरहेकोले नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ । माक्स सेनिटाईजर अनिबार्य गरेको छ । १० जनाभन्दा बढी भेला नहुन र कुनै पनि भिडभाड हुने खालका गतिविधिहरू नगर्न निर्देशन गरेको छ ।
पोर्चुगिज सरकारको यो निर्देशन र चाडबाडको नाममा भिडभाड हुने खालका कुनै पनि कार्यक्रम नगर्न भनी नेपाली समुदायलाई सचेत बनाउदै एनआरएनए पोर्चुगलले निकालेको बिज्ञप्तिलाई समेत मध्यनजर गर्दै लामो समयदेखि तिज मनाउने सोच राखिराखेको नेपाली महिला समाज पोर्चुगलले अन्तिम चरणमा आएर कार्यक्रम स्थगन गर्न बाध्य भयो । त्यस्तै महिलाहरूको क्षेत्रमा क्रियाशील अर्को संस्था नेपाली नारी समाज पोर्चुगलले पनि खुल्ला पार्कमा भब्य तयारी गरिरहेको कार्यक्रम स्थगित गरी छोटो समय रेष्टुरेन्टमा औपचारीक कार्यक्रम गर्यो । तीज बिशेषभन्दा पनि अन्य कामले गर्नैपर्ने स्थिति भएर बाध्यतावस कार्यक्रमको आयोजना गरिएको आयोजक पक्षले बताए पनि यसले बाहिर भने सकारात्मक सन्देश जान सकेन । पोर्चुगिज सरकारको निर्देशन र एनआरएनएको बिज्ञप्तिलाई समेत बेवास्ता गरी सक्रंमण फैलिरहेको अबस्थामा कार्यक्रम गरियो भनेर चौतर्फी आलोचना गरेको पाईयो । कारण बर्तमान अबस्थामा स्वास्थ्यको दृष्टिकोणले यसो गर्नु उचित देखिएन ।
तीजको महत्व ब्रत र उपासना
नेपाली नारीहरुको महान् चाड हरितालीका तीज भनेर यसलाई लिने गरिन्छ ।पहिला पहिला बिशेषगरी नारीहरूले मात्र मनाउने गरे पनि पछिल्लो समय भने परिबर्तन हुदै आएको छ । आजभोली नारी र पुरुष दुबैको साझा पर्बको रूपमा समेत चिनिन लागेको छ ।धार्मिक रूपमा यसको छुट्टै महत्व भए पनि लौकिक, सामाजिक र सांस्कृतिक रूपमा पनि यसलाई लिने गरिन्छ । पछिल्लो समय त ब्यापारिक रूपमा समेत बढेको पाइन्छ । देखासिकी गर्ने, सकी नसकी नयाँ कपडा र गरगहना किन्नैपर्ने जस्ता केही नकारात्मक कुराहरू रहेपनि ब्यापारी लाई भने यसले फाईदा नै पुर्याएको छ । हुनत म धेरै धर्मको ब्याख्या गर्न सक्दिन र जान्दिन पनि तर आफुले बुझेको थोरै कुरा मात्र उल्लेख गर्न चहान्छु । पौराणिक कालमा हिमालय पर्वत कि छोरी पार्वतीले भगवान शिवलाई पति पाउ भनी सानै उमेर देखी निकै कठोर ब्रत गरेको र त्यही ब्रतको प्रभावले शिवजीलाई पतिको रूपमा पाएको भनेर धार्मिक ग्रन्थ हरूमा बर्णन गरेको पाईन्छ । त्यही ब्रत आरम्भ गरेको दिन भाद्र शुक्ल तृतियाको दिनलाई तिजको रूपमा मनाउने र ब्रत उपासना गर्ने परम्परा रहेको भनेर पनि उल्लेख गरेको पाइन्छ । त्यही समय देखि नै भाद्र शुक्ल तृतियाकोको दिन तिज मनाउने ब्रत उपासना गर्ने र मन्दिरहरूमा भेला भई नाच्ने गाउने बजाउने र रमाईलो गरी मनाउने गर्न लागियो । बिशेष गरी मन्दिरहरूमा नाचिने यो नाच पछिल्लो समय पायक पर्ने स्थानहरू पाटी पौवा भन्ज्याङ चौपारी डाँडा काँडा हुदै होटल रेष्टुरेन्टसम्म पनि पुग्न लागेको छ ।
हुनत हिजो आज हरेक कुराहरूलाई नकारात्मक टिप्पणी र आलोचना मात्र गर्न लागिएको छ ।धार्मिक ग्रन्थ र पौराणिक कालका कुराहरू आफुलाई आधुनिक सम्झिनेहरूलाई पाच्य हुदैन । अस्ति मात्र सामाजिक संजालमा म आफै लामो बहस गर्न बाध्य भए । गीतहरू पनि नो ब्रत प्लीज भनेर बजारमा आउन लागे । भनिन्छ हिन्दु धर्मले नारीमाथी शोषण गर्यो रे ! दमन र अत्याचार गर्यो रे ! हो हत्या हिंसा अन्याय र अत्याचारको बिरूद्ध आवाज उठाउनै पर्छ ।समाजमा देखिएका बिकृति र बिसंगतीलाइ चिर्दै अगाडि बढ्ने साहस जुटाउनु पर्छ । तर हिजो के भएको थियो भनेर बहस गरिराख्नुभन्दा बर्तमान कसरी चलिरहेको छ भनेर हेर्नु उचित होला जस्तो लाग्छ ।
बिगतबाट शिक्षा लिदै बर्तमानलाई सुधार्दै अगाडि बढ्नु नै उपयुक्त होला भन्ने लाग्दछ । हिमालय कि छोरी पार्वतीलाई भगवान बिष्णुसग बिहे गर्ने कुरा गर्दा पार्बती स्वयंले सानै उमेर देखी भगवान शिवलाई पति पाउनकै निम्ति कठोर ब्रत गर्दै आएको र शिबसग बाहेक अन्य कसैसँग बिहे गर्न आफु तयार नभएको कुराहरू शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । न कि उनलाई कसैले ब्रत गर्न दबाब दिएको पाईदैन । भगवान शिवलाई सबैभन्दा प्रेमिल पतिको रूपमा पनि लिने गरेको पाईन्छ । किनकि उनीहरूमा अगाध प्रेम थियो यहाँसम्म कि पार्वतीको मृत शरीर बोकेर शिब संसार घुमिरहेका हुन्थे । श्रीमतीको मृत शरीर बिग्रिएर टुक्रा टुक्रा भई सकिँदा पनि छोड्न चाहेका थिएनन । यस अर्थमा पनि आजका अबिबाहित नारीहरू शिब जस्तै प्रेमिल पति पाउ भनेर स्वईच्छाले ब्रत बस्नु शोषित हुनु होइन होला ।
आजको श्रीमानहरु कोही पनि श्रीमतीलाई पाउको पानी खान बाध्य बनाउँछन् जस्तो लाग्दैन । तर कुनै पनि श्रीमतीलाई आफ्नो श्रीमानप्रति श्रद्धा छ आफु खुशी श्रीमानको जल खान चाहन्छिन् भने त्यो उनको नितान्त ब्यक्तिगत र अधिकारको कुरा पनि होइन र ? रह्यो कुरा ब्रतको भगवान सबैका हुन । सकिन्छ भने भगवानको आराधना गर्न र ब्रत बस्न श्रीमान श्रीमती दुबैजनाले हुन्छ। यसमा बिरोध जनाई राख्न आवश्यक छ जस्तो लाग्दैन । फेरी स्वास्थ्यको दृष्टिकोणले पनि कहिलेकाही ब्रत बस्नु उचित ठानिन्छ ।
म पनि धर्म माथी आस्था राख्छु समय अनुसार ब्रत बस्ने गर्छु । तर ब्रतको फल अरू के मिल्छ थाहा छैन तर मेरो मनलाई आत्मसन्तुष्टी भने पक्कै मिल्छ । यसर्थ पनि म ब्रत बस्ने गर्छु । सबै भन्दा ठुलो कुरा ब्रत बस्नै पर्छ भनेर कसैलाई पनि कर गरिदैन ।स्व ईच्छा ले गर्ने हो ब्रत ।आत्म सफा छ , भक्ति भाब छ , कसैलाई नराम्रो ब्यबहार गरिएको छैन ,आफ्नो कारण कसैले मन दुखाएर रूनु परेको छैन भने ब्रत बसिराख्नु पनि पर्दैन । मनमै सफा छैन जहिले अरूको अहित गरेर रूवाउने मानिस जति दिन भोकै बसे पनि अर्थ रहन्छ जस्तो लाग्दैन ।
हिजोको दिनमा भएका गलत कुराहरु सुधार हुदै गएको देखिन्छ । आज कुनै पनि श्रीमान पाण्डवहरुले जस्तो जुवाको खालमा श्रीमतीलाई राख्न पक्कै तयार हुदैनन। बिवाह र मृत्यु संस्कारमा समेत महिलाको बाक्लो उपस्थिति हुने गरेको पाईन्छ । गाईसगै छोरीलाई दान गरेर दिने प्रथाको अन्त्य भएको छ ।
बिहेमा नै श्रीमान, सासु र नन्द, अमाजु समेतको खुट्टाको पानी खान सिकाउने चलन तोडीदै छ । यस्ता खालका सामाजिक बिकृतिहरूलाई धर्मसग जोडेर धर्मले शोषण गर्यो भन्नुभन्दा सबैको प्रयासमा सामाजिक रूपमा देखिने बिकृतिहरुलाई हटाउनतर्फ लागियो भने बिगतमा भएका गलत कुराहरुलाई तोड्दै समाजलाई अगाडि बढाउन पक्कै प्रेरणा मिल्नेछ ।
हरेक धर्म र संस्कृति का आ आफ्नै बिशेषता हुने गर्दछन नकारात्मक कुराहरु लाई चिर्दै सुधारात्मक तरिकाबाट सबैखाले धर्म र संस्कृतिहरूलाई स्वीकार्न सक्नु नै महानता हो जस्तो लाग्दछ ।
चाईनाबाट शुरु भएको कोरोनाको महामारी हाम्रो देशसम्म पुगेको छ। सम्झंदा पनि डर लागेको छ भोलि के होला भनेर ! अरु देशमा जस्तो क्षति नहोस, समय मै महामारी टरेर जाओस। यो बर्ष जे भएपनि अर्को बर्ष रमाईलो गरेर तीज पर्व मनाउन पाईओस । यहि कामना छ !
हामी सबै सचेत बनौ र सुरक्षित रहौ ! धन्यबाद।
लिस्बन पोर्तुगल