मुक्तक - १
दु:खको समयले नि उसलाई डराउन सक्दैन
कुनै दुष्टको आतङ्कले पनि हराउन सक्दैन
जसको शिर छ बा आमाको चरणकमलमा
उसलाई कसैले घाउ बनेर चराउन सक्दैन ।
मुक्तक - २
साउनको झरी प्यारो मन खोलेर रुझ्नुपर्छ
मनको बाँध कसिलो हुन्छ नभने नि बुझ्नुपर्छ
प्रेम हृदयको भाव अनि अन्तरंग आवाज हो
मिठो प्रेमलाई हृदयले नै, सम्हालेर पुज्नुपर्छ ।
मुक्तक - ३
कहाँ गए पृथ्वीनारायण शाहका एकिकरण
कहाँ गए नेताजीका भोट माग्दाका शरण
दिन दहाडै भइरहेछन् चोरी अनि घुसखोरी
अझ कत्ति हो , कत्ति किशोरीका चीरहरण ।
मुक्तक - ४
कहाँ गएका थियौं राजा यतिञ्जेलसम्म
मेरो घाँटी समातेरै अरूले नै रेटुञ्जेलसम्म
निकै ढिलो भैसक्यो आधी उमेर गैसक्यो
अनेकौं समस्याले घेरिनेछौ भेटुञ्जेलसम्म ।
मुक्तक - ५
ख्याती कमाउनु ऎश्वर्य कमाउनु छाडा नहुनू
घमण्ड मनमा बोकेर भैमा न भाडा नहुनू
आफ्ना सधैं आफ्नै हुन्छ्न् , पराइ भएर नि
कहिल्यै पनि आफन्तहरूबाट टाडा नहुनू ।
- बुनपा काठमाण्डौ कपन ।