Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको इन्जा साहित्य पुरस्कार दिइने!

'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको इन्जा साहित्य पुरस्कार दिइने!

Madhuri

२९, माघ २०७७
images
'कोटेश्वरको केटो' लाई एक लाख रुपैयाँ राशिको इन्जा साहित्य पुरस्कार दिइने!

 

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित एक लाख रुपैयाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति 'कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ ।

सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर 'कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

राजेन्द्र पराजुली विशेषगरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा (२०५०), जाडोमा भोक (२०६२), सपनामा माक्र्स (२०६८), शुक्रराज शास्त्रीको चस्मा (२०७३), अघोरी (२०७५) गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् । एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्य जगतलाई दिइसकेका छन् ।

राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झण्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् । कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पार्यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ । जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् । अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ ।

२०२१ सालमा काठमाडौंको कोटेश्वरमा जन्मिएका उनी जसरी नेपाली साहित्यमा स्थापित छन्, उसैगरी पत्रकारितामा पनि सम्मानित छन् । पत्रकारितामा निष्ठा, व्यावसायिकता र धैर्य आवश्यक पर्छ । यी कुरामा पराजुली कहिल्यै चुकेका देखिँदैनन् । बेलाबखत उनी साहित्यका बारेमा टिप्पणी पनि लेख्छन्, ती टिप्पणीले लामो समयसम्म नेपाली साहित्यिकजगत्मा चर्चा पाइरहन्छ । न कहिल्यै हल्ला, न कहिल्यै चर्चा न त पुरस्कार वा सम्मान नै पनि, राजेन्द्र पराजुली चुपचाप अविरल आफ्नो साहित्य यात्रामा हिँडिरहेका छन् । यी शालीन, प्रतिभाशाली र शान्त लेखकलाई पुरस्कृत गर्न पाउँदा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) गर्व महसुस गर्छ ।

इञ्जा मुख्यायल
भर्जिनिया, अमेरिका -

images
प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - ०१:४४:३५ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend