जातीय आरक्षणको घोर विरोध गर्छु म
धर्मको नाममा विष पिलाई
अरूलाई चेतना शून्य पारेर
एउटै मात्र जातको मान्छेका "टाउको" बन्ने
एउटै मात्र जातको मान्छेका " बाहु" बन्ने
एउटै मात्र जातको मान्छेका "उरु" बन्ने
र,
एउटै मात्र जातको मान्छेका " पाइताला" बन्ने
आरक्षण प्रणालीको विरोध गर्छु म
मन्दिरमा एउटै मात्र जातको पुजारी बन्ने
राष्ट्रपति, प्रधानमन्त्री एउटै मात्र जातको मान्छे बन्ने
आरक्षण प्रणालीको घोर विरोध गर्छु म
एउटै मात्र जातको मान्छेले फलाम पिट्नुपर्ने
एउटै मात्र जातको मान्छेले लुगा सिलाउनु अनि बाजा बजाउनु पर्ने
एउटै मात्र जातको मान्छेले नाच्नु- गाउनु पर्ने
अनि,
एउटै मात्र जातको मान्छेले वेद पढ्नु पर्ने
र, पूजाआजा गर्नु- गराउनु पर्ने आरक्षण प्रणालीको
घोर विरोध गर्छु म
एउटै मात्र जातको मान्छेहरू उच्च, सम्मानित र स्पृश्य हुने
तर,
निश्चित जातको मान्छे मात्र नीच र अस्पृश्य हुने
यस्तो विभेदी आरक्षण प्रणालीको घोर विरोध गर्छु म
हजारौँ वर्ष कामीको भूमिका अभिनय गर्दै गर्दा
कतै मैले आफूलाई कामी नै ठानेँ कि?
हजारौँ वर्ष बाहुनको भूमिका अभिनय गर्दै गर्दा
तिमीले आफूलाई साँच्चिकै शास्त्रकै बाहुन पो ठान्यौ कि?
तिमी आफू मान्छे हुँ भन्ने बिर्सिएर
आफूलाई केवल 'जात' पो मान्यौ कि?
एउटा स्याउलाई 'बाहुन' नामकरण गर्दा स्वादिलो फल हुने
तर, त्यही स्याउलाई " कामी" नामकरण गर्दा
छुन, खान नमिल्ने?
समस्या " स्याउ" मा छ कि तिम्रो मानसिकतामा?
एउटै मात्र जातमा बिहे गर्नु पर्ने
निश्चित जातले मात्र अलग्गै बसेर खानुपर्ने
यस्तो क्रूर आरक्षण प्रणालीको घोर विरोध गर्छु म
धर्मको आडमा
हजारौं वर्षदेखि "आरक्षण" मा रहेर
आफै मात्र फुले- फक्रेको जातले
आफूले पैतालामुनि कुल्चिएर राखेका मान्छेहरूले
आफ्नो "टाउको" खोज्न थालेको देखेर
फुल्न- फक्रन संघर्ष गर्दै गरेको देखेर
उसको अहंकार
आफ्नै प्राण फुत्किन लागेको झैँ गरी
जात व्यवस्थाको " पानी- पानी" भन्दै चिच्याइरहेछ !
जति सक्छ- चिच्याइरहोस!
केही मान्छेलाई 'भगवान' बनाउने
त, केही मान्छेलाई 'शूद्र' बनाउने
धर्म र जातको
यस्तो घिन लाग्दो आरक्षणको घोर विरोध गर्छु म !