चाहे घर छाडेर पढ्नको लागि होस् या घुम्नको लागि होस् बाहिर जाने बेलामा आमाले अर्हाई सिकाई गर्नुहुन्थ्यो। त्यति मात्र कहाँ हो र? चाहिनेभन्दा धेरै खर्च नगर्नु भन्दै खर्च पर्चको पनि व्यवस्था गरिदिनु हुन्थ्यो। फेरीपनि मलाई बिदा गर्ने बेलामा मेरी आमाको ध्यान सधै आफ्नो पटुकीमै हुन्थ्यो। बिस्तारै पटुकीको छेउ तान्दै त्यसमा बेस्सरी कसेर बाधेको गाठो फुकाउदै भन्नुहुन्थ्यो - ''केहि अफ्ठेरो पर्छकि भनेर यति दुमो राखेकी थिए, लौ यो पनि राख्नु।
"पाए भनेर बेस्सरी फ़ुर्किएर खर्च नगर्नु ! टिठ लाग्दो बनेर पनि नहिड्नु । चाहिएको खण्डमा खर्च गर्नु, नत्र फिर्ता लिएर आउनु।'' एक पटक दुइ पटकको कुरा होइन प्राय: यसो गरिरहनु हुन्थ्यो। छुट्टिने बेलामा म आमाको पटुकी नजानिँदो हेरिरहन्थे आमा पनि केहि न केहि दिनु नै हुन्थ्यो। यो हाम्रो परम्परा जस्तो बनेको थियो।
यो त कलेज पढ्न लागेपछिको कुरा हो। योभन्दा पहिला पनि यो पटुकी मेरो लागी सधै बिशेष हुन्थ्यो।
काम गर्दा सजिलो हुन्छ भनेर होला, गुनियोको अगाडिको मुज्जालाई हल्का माथि पारेर फनक्क बेर्ने मेरी आमाको १२ हाते पटुकी उहाको लागी आड दिने त थियो नै, मेरो लागि पनि आशा र भरोशा लाग्दो थियो। कहिलेकाही गाउमा लाहुरे आउदा दिएको चक्लेट होस् या कसैले खुशियालीमा बाडेको सगुन ती सबै यहि पटुकीको बाटो भएर मसम्म आउथे। आफुले खानै लाग्दा आमालाई झलक्क मेरो याद आउथ्यो रे ! त्यसैले होला केहि भाग बचाएर, त्यहि पटुकिमा बाधेर मलाई ल्याइदिनु हुन्थ्यो। त्यसैले त होला आमा घरमा आएर यसो पटुकीमा हात लाने बित्तिकै म खुशी हुन्थें। कहिलेकाही आउने बित्तिकै आमा काममा लाग्नुहुन्थ्यो तर म भने आमाले के ल्याइदिनु भएको छ होला भनेर कौतुहलताका साथ् त्यही कम्मरमा हेरिरहन्थे।
साझ बिहान घास पात गर्न बन पाखामा जादा होस् या खेतीपाती गर्न खेतबारीमा जादा होस् त्यहा भेटिने किम्मु र फ़डियार बाहेकका सबै फलफुलहरु (खनिया, डमराइ, बयर, बेलौती, आरु, आप्, अमिलो, मियाल, खल्लुक, अमारो, बडहर, नास्पाती)ले मेरी आमाको पटुकी राम्रोसंग चिनेका थिए।
एकदिनको कुरा हो- आमा खेतमा पानि लगाउन जादा हल्का पाकेको बेलौती सकी नसकी हागो नुगाएर टिप्नु भएछ। त्यहिपनि पटुकिमा राखेर मलाई ल्याइदिनु भएको। बेलौतिको एक छेउमा भर्खर चराले खान लागेको हुदा आमाको पटुकिमा केहि फोहोर लागेजस्तो देखियो तर आमालाई त्यो बिषयमा केहि गुनासो भएन। बरु हातमा अलिकति पानी लगाएर आमाले त्यसलाई स्वाट्ट पुछ्नु भयो र मलाई दिनुभयो।
आमा बाहिरबाट आउनुभयो त पटुकी पनि आयो। पटुकी आयो त मलाई पनि केहि न केहि पक्कै आयो। म कहिलेकाही त च्याप्चुप खाइहल्थे तर कहिलेकाही सम्झेर सोध्थें, "आमा हजुरले पनि खानुस न!" आमाको प्रायस: एउटै जवाफ हुन्थ्यो - "तिमीले खाएपछि मलाई नखाए पनि खाए जस्तो हुन्छ।" मलाई पछि थाहा भयो आमाले कहिले खाँदै नखाई र कहिलेकाही खाँदाखाँदैको भाग मलाई ल्याईदिनु हुँदो रैछ।
यसैगरी, कहिलेकाही लडेर चोट लाग्दा होस् या झुक्किएर हात काट्दा होस्, आमाले हत्त न पत्त गरेर त्यहि पटुकीको छेउ काटेर चोट लागेको ठाउमा बेरिदिनु हुन्थ्यो। कतैबाट आउदा पसिनाको धारा बग्यो भने त्यहि पटुकीको छेउ तानेर पसिना पुछिदिनुं हुन्थ्यो। त्यसैले त होला मेरी आमाको पटुकी मेरो लागि हिजो आजका प्रतिष्ठित बैङ्क, फलफूल पसल र सपिङ्ग मल /महलभन्दा कम भरोसाको थिएन। देश बिदेशका पसलहरुमा राखेका आकर्षक फलफूलहरु त भेटे तर आमाले पटुकिबाट निकालेर दिनुभएको फलफूलको स्वादको धित मेटाउन सकेकी छैन। ठूला ठूला सपिङ्ग महलहरुमा राखेका चक्लेट्हरु त खाए तर पनि आमाले पटुकिबाट निकालेर दिनुभएको चक्लेटको तिर्सना मेटाउन सकिन।
हिजोआज मलाई महशुश भएको छ की आमाको कम्मरको पटुकी कपडाको लहरो हैनछ, यो त आमाको मन र मुटुको देखिने रुप रहेछ।
म आज विदेशमा छु । आमालाई सम्झिरहन्छु । विपनामा मात्र होईन सपनामा पनि देखिरहन्छु । विपनामा त म बोलिचाली हुन्छ कहिलेकसो । तर सपनामा म त्यहिदिनहरुमा पुग्छु । मेलाबाट हिलोमैलोसंगै रुझेर र भिजेर आएकी आमाको त्यहि पटुकी तान्न पुग्छु आजपनि । थाकेर आएकी आमाले खाँबो समातेर पींढीमा बस्दै गर्दा पटुकीमा हात राखेर केहि न केहि आज पनि दिनुहुन्छ। बस उतिबेला म फुरुंग हुदै उफ्रेर नाच्थें तर आज यो सपनाबाट ब्युझेंपछि केहीबेर सिरानी भिजाउँछु र आफ्नो काममा लाग्छु। आमालाई सपनामा देख्दा खुशी लाग्छ तर सम्झनामा मात्र रहने त्यो सपनाले पीडा दिन्छ। प्यारी, मेरो मुटुकी धड्कन, आमासँग छुट्टिनु पर्दाको पीडा ! टाढा हुनुको पीडा !
दिनभर म आमा र आमाको पटुकी सम्झन्छु। सधैजसो खाली नहुने मेरी आमाको पटुकी हिजो आज हात खुट्टा कमजोर भएर हिड्न नसक्दा रित्तिएको होला। अपार माया, सम्झना र जिम्मेवारी महसुस हुदाहुदै पनि नजिकैबाट त्यो पटुकी नियाल्न सकेकी छैन । दुखजिलो गरेर मैले पनि बिदेशबाट आमाका नाममा केहि त पठाउछु तर आमाको पटुकीबाट निस्केकोजस्तो बहुमुल्य हुदैन होला ।
मेरी आमाजस्तै पिढी कुरेर बसेका लाखौ आमाहरु जसले हामीलाई हुर्काउने बेलामा भै नभई कैहिल्यै पनि आफ्नो पटुकिलाई बैंक र सपिङ्ग महलभन्दा कम हुन दिनु भएन, उहाहरुको पटुकी कहिल्यै रित्तो हुन नपरोस। हामीले दिने माया, ममता, सदभाव र सम्मानमा कुनै कमि नआओस। तीजको यो रमाइलो अवसरमा मैले सबैलाई सम्झेको छु र धेरै आमालाई सम्झेकी छु। सम्पुर्ण आमा -बुवा, दाजु -भाइ, दिदि -बहिनिहरुमा ‘हरितालिका तीज २०७८’ को हार्दिक मंगलमय शुभकामना !!!
(नेपालमा पाल्पा घर भएकी कला पोखरेल हाल बेलायतमा सपरिवार बसोबास गर्दै आउनु भएको छ। सम्पादक।)