अमेरिकाको ५० राज्यमध्ये कुनैमा थोरै र कुनैमा धेरै नेपाली छन् । करिब दुई लाख गैरआवासीय नेपाली अमेरिकामा रहेको तथ्यांक केही अनुसन्धानमुलक संस्थाहरुले देखाएका छन् । तीमध्ये १७ प्रतिशत गरिबीको रेखामै रहेको तथ्यांकहरु छन् । सरकारी तहमा र निवृत्तिभरणयोग्य सेवामा रहनेको संख्या नगन्य छ । व्यवसाय सञ्चालन गर्नेहरुको संख्या पनि ठूलो छैन । बालबालिका र वृद्धवृद्धाको संख्या न्यून छ भने साताको ४० घण्टा वरपर काम गर्नेको संख्या धेरै रहेको अनुमान छ ।
अमेरिकामा गैरआवासीय नेपालीको राजनीतिक पहुँच औंलामा गन्न सकिने मात्र छ । ठूलो समस्या परेमा एकीकृत भएर सद्भाव देखाउने राज्यस्तरमा नेपाली समुदायका संघसंस्था छन् । संघीयस्तरमा गैरआवासीय नेपाली संघ अमेरिका (एनआरएनए) छ । नेपाल सरकारले पनि स्वीकार गरेकोले एनआरएनएप्रति विश्वास त छ । तर, संघीय तथा राज्यस्तरमा फिँजारिएको एनआरएनए र अन्य संस्थाको अधिकांश समय पिकनिक, भोजभतेर, पर्व, निम्तोमा बित्ने गरेको छ । समस्याको खबर आएमा पुगेर सल्लाह र ढाडस दिने तथा जोखिममा परेकालाई पैसा संकलन गर्ने काम केही भएका छन् । तर, दीर्घकालीन सफलता र प्रभाव पार्ने उपलब्धिमुलक कामको अनुभूत कमैले गरेका हुनन् । अमेरिकामा रहेका नेपालीमध्ये ५० प्रतिशत सदस्यसमेत नहुनुले पनि ठूलो भनिएको एनआरएनएको परीक्षण र नतिजा पुष्टि गर्छ ।
समस्याहरुलाई साँघुरो बनाएर समुदायको विकासमा सुष्मदेखि समष्टीरुपमा काम गर्नु सामुदायिक संस्थाको जिम्मेवारी र दायित्व हुन्छ । आप्रवासी हामी अधिकांशको बसाई निकै संंघर्षपूर्ण छ । हरेक साता न्यूनतम् कम्तीमा ४० घण्टा काम गर्दा दैनिक जीवन चल्नेबाहेकको प्रगति सहज देखिंदैन । अपार्टमेन्ट भाडा, युटिलिटी, बीमा, सवारीसाधनको किस्ता, टेलिफोन वा मोवाइलको बीलहरु, छोराछोरीको स्कूल–कलेज खर्च तथा मोर्गेजलगायतका कारण बंैकमा जम्मा हुने आम्दानीको हिस्सा अत्यन्त कम हुन्छ । यससँगै समाजिक जीवनमा जोडिँदाका केही खर्चहरु पृथक छन् । यी सबै खर्चका बीचमा ठूलो समस्या आयो भने सानो परिवारमा ठूलो बज्रपात पर्छ । यही अवस्थामा मानिस समाज र सामाजिक संस्थामा निर्भर हुन्छ ।
गो फन्ड मि र पेपालका विभिन्न एकाउन्टबाट वा सिधै बैंक खातामा जाने गरी आर्थिक सहयोग नगरेका यो आलेख पढ्नेमध्ये कोही पनि हुनुहुन्न सायद । सुनिएको र नसुनिएको, देखिएको र नदेखिएको, अघिपछि सहयोगमा ठूलो सक्रियता देखिएको र कमजोर सक्रियता देखिएकोसहितका अनेक तत्वले आर्थिक सहयोग जुट्ने मात्रा निर्भर गर्छ । यसैका कारण कमजोर, सुशुप्त र दैनिक परिश्रममा बाँच्ने मानिसले दुःखमा साथ कम मात्र पाउँछ ।
हामीसँग समाज छ भन्ने भरोशा भएमा कमजोर मानिसमा पनि आत्मबल बढ्छ र प्रगति हुन्छ । अन्यथा, विरामी भएर आपत्मा परे, ठूलो दुर्घटना परे, घर आगलागी भए के गर्ने ? यस्ता घटनाको कल्पना गरेर मानिसमा नराम्रा विचारले डिप्रेससम्म गराउँछ । यस्तो अक्सर समाजमा धेरै घुलमिल नभएको व्यक्तिमा बढी देखिन्छ । पीडित त अन्तिममा नेपाली नै हुन्छ । यो रोग विस्तारै फैलिँदै जाने खतरा पनि त्यत्तिकै रहन्छ । त्यसैले आशा, भरोशा र आत्मबलको आधार स्थापित गर्नु जरुरी छ ।
गम्भीर विरामी परेर लामो समय उपचारपछि घर फर्केने व्यक्तिको आर्थिक अवस्था कल्पना गरौं त ? मानसिक तनावले परिवार कामविहीन हुन्छ, जोहो गरेको रकम सकिंदै जान्छ र विस्तारै परिवार संकटमा फस्छ । त्यस्तो बेला सरकारी सुविधाका मापदण्डभित्र पनि पर्दैन । यस्तो अवस्था आउन नदिन सामाजिक भरोसा ठूलो सहयोग हुन्छ । प्रचारित व्यक्तिमा बाहिरि सहयोग जुटे पनि प्रचारमा नरहेको व्यक्ति वा परिवारले पनि हामीसँग समाज छ भन्ने महसुस गराउनु आवश्यक छ, जहाँ संकटमा पर्नेले परमेश्वर भेट्नेछ ।
जब विपत् आउँछ त्यहाँ कुनै वर्ग हुँदैन, सहयोग र साथको आशा मात्र पलाउँछ । राज्यसहित समाज र दाताको सहयोगको राहततिर एकोहोरो नजर हुन्छ । अप्ठेरोमा परेका बेला नै सामाजिक संस्था, सहयोगी हातको सेवा र कर्तव्य आवश्यक पर्ने हो । मानवीय कर्मको परीक्षा पनि यही बेला हुने हो । त्यसैले जुनसुकै आपत्मा पनि सहयोगी बन्न यो स्तम्भकारको प्रस्ताव छ, ‘दैनिक पाँच मिनेट दान गरौं’ र एउटा वृहत् कोष निर्माण गरौं । तपाईंको पाँच मिनेटले तपाईं वा मलाई वा हामी जोसुकैलाई पनि जुनसुकैबेला आपतमा राहत हुनेछ ।
त्यसो त, सरकारी, गैरसरकारी तथा राजनीतिक रुपमा पनि अग्रसर हुनसक्ने गरी हामीले हाम्रा भावी पुस्तालाई प्रोत्साहित गर्नु छ । अघिल्लो पुस्ताको संघर्षले नयाँ पुस्ता मुलधारका निकाय तथा राजनीतिक पहुँचमा पुगे भने मात्र हाम्रो समुदाय बलियो बन्ने छ । अहिले विद्यार्थी कालमा रहेका हाम्रा नयाँ पुस्तालाई सबल–सक्षम बनायौँ भने भोली उनीहरु हाम्रो समुदायप्रति उत्तरदायि हुनेछन् । त्यसैले उनीहरुका लागि लक्ष्यभेदनमा जान वृत्तिविकासका काम हामीबाटै गर्न जरुरी छ, त्यो वृहत कोषबाटै सम्भव छ ।
अमेरिकाको सबै राज्यमा सञ्जाल रहेको एनआरएनए यहाँ सक्रिय रहेका सबै संस्थाहरुको छाता संस्था बनेर बृहत कोषको निर्माणमा जुटेमा सफलता मिल्नेमा सायद कसैको विमति नरहला । हरेक राज्यमा रहेका समितिहरुबाट आफ्नो आफ्नो राज्यमा कोष निर्माण गर्ने र नियमावली बनाएर राहतको कार्यक्रम सञ्चालन गर्दा फलदायी हुने विश्वास यस स्तम्भकारको छ । अमेरिकावासी गैरआवासीय नेपाली पाठक तथा संघसंस्थाहरुप्रति इच्छाशक्ति भएमा कसरी कार्यक्रम सञ्चालन गर्न सकिनेछ भन्ने विषयमा तपाईँहरुको सुझावसमेत समेटेर आगामी अंकमा विस्तारित कार्यक्रम प्रस्तुतिका लागि स्तम्भकारको कोशिस रहनेछ ।