मेरी आमा अमेरिका आएर एकबर्ष बसेर जानुभयो । सबै ऋतुको अनुभव बटुल्नु भयो । एकबर्षको बसाईमा यहाँका अत्याधुनिक भौतिक विकास र सामाजिक सुव्यवस्था देखेर आमा दंग पर्नु भयो । कूचोले गर्ने काम मेशिनले गरेको । वञ्चरोले गर्नेकाम मेशिनले गरेको । हँसियाले गर्नेकाम मेशिनले गरेको । घाँसे मैदान क्षणभरमा मेशिनले मसक्क काटेको । पतझड् मौसममा थुप्रिएको पर्सेउलाको डुँगुर मेशिनले सोहोरेको । हिऊँ पर्नु अगावै बाटोमा नून छरेको । हिऊँको रास मेशिनले उठाएको ।
चिन्नुनजान्नुका गोराकाला मान्छेले मुसुक्क हाँस्दै 'हेल्लो' भनेको । दशकौं पहिले बनेका घर पनि आजै बनाए जस्तै टिलिक्क टल्केका । घर वरिपरिका बागबगैंचाहरु कलाकारले चित्र बनाए जस्तै मिलाएर चिटिक्क पारिएका । धूलोधुवाँ नामोनिशान नभएको । जताततै हरियाली । जताततै सफासुग्घर । घर बाहिरको यो बाताबरण देखेर आमा चकित पर्नु भएको थियो ।
घरभित्र पनि बिजुली पानीको नियमित आपुर्ती । हाम्रा ओली बाजेले भनेजस्तै फ्याट्ट बटन घुमाउँदा पाईपबाट प्याट्ट ग्यास चूल्हो बल्ने । बाहिर हिऊँ परेपनि भित्र जाडोले नछुने । बाहिर चट्चटी पसिना छुटेपनि भित्र शितलो हुने । धूलोधुवाँ चीसोले असर नगरेपछि त आमाको छातीको समस्या (दम) एकबर्ष सम्म कता भाग्यो कता ! यदाकदा बाहेक 'ईनहेलर' खासै प्रयोग गर्नै परेन । त्यो जमानाको मेरी आमाले यो जमाना देखेर कम्ता खुशि हुनुभएको होईन । असिमित खुशि हुनुभयो ।
अझ अनौठो त,स्ट्रोलरमा च्याँ-च्याँ गर्दै भक्कानिएर रुँदै गरेको शिशुको चित्कारको वास्तै नगरी काखिमा सानो कुकुर च्यापेर डुलाईरहेकी अश्वेत आमालाई देखेर भयो । ति आमाका आँखा मोवाईलमा थिए । कुकुर र बच्चा उत्रैउत्रै थिए । शिशुकि आमा मोवाईल हेर्दै मुसुमुसु हाँस्थिन् । आफ्नो सन्तानको भन्दा मोवाईल र कुकुरको मायाँ बढी ! केहिपर पुगेर स्ट्रोलरको साईड पकेटबाट केहि झिकिन् । अनि शिशुको मुखमा कोचिन् । बच्चा चूप्प लाग्यो । ति आमाले आफ्नो बच्चालाई न आफ्नो छातीमा टाँसिन् न त स्तनपान नै गराईन् । यहाँपनि मान्छेले गर्ने मायाँको काम मेशिनले गर्यो । मानवीय भावना मेशिनले निमोठ्यो । मेरी आमाले यस्ति 'आमा'लाई देखेर आठौं आश्चर्यमा पर्नुभएको थियो ।
घरभित्र र बाहिरका सबै गतिविधि राम्ररी देख्नुभएपनि अल्लि केहिपरको अमेरिकामा रहेको हिन्दु धार्मिक स्थलमा आमालाई पुर्याउन नपाएको पछुतो भैरह्यो । पापी कोरोनाले गर्दा लैजान खोजेको ठाउँमा जान सकिएन । हो,यतिबेलै देखि आमालाई घुमाउने र हामी पनि घुम्ने एउटा गन्तव्यमा यसपाला भने हामी पुग्यौं । त्यो थियो - न्यू बृन्दावन ! जुन वेष्ट भर्जीनीयामा छ ।
बृन्दावन शब्द सिधै श्रीकृष्ण भगवानसंग जोडिएर आउँछ । शास्त्रसम्मत भएर कल्पना गर्दा राधाकृष्णको प्रेमलिलाको अद्भुत पवित्रस्थलको चित्र मानसपटलमा खनिन्छ । गोकुलको समीपमा रहेको बृन्दावन अमेरिकामा पनि छ भन्ने सुनेपछि त्याहाँ पुग्न ऊ बेलादेखिनै लालायित थियौं । आमालाई घुमाउन नसकेको नमिठो मान्दै भएपनि यसपाली पुग्यौं ।
हामी बसेको ठाउँबाट लगभग पाँचघण्टामा पुग्यौं । बाटो चिल्लो । खुलेको मनमोहक सफा मौसम । कति सफा आकाश नीलो । नीलो आकाशमा रुलरको सहायताले तानेका सिधा रेखा तानेजस्तै जेटविमानहरुले छोडेका धूवाँको रेखा । तिव्रगतिका सवारीहरुको लस्कर । दायाँवायाँ रंग बदलिएका राता पहेंला वन । द्रुतमार्गका लागि ठाउँठाउँमा सिकर्मीले खाप काटेजस्तै चट्ट काटेका चुरे पहाड । यिनै पहाडका टाकुरी रेञ्जमा टेबुल फ्यान जस्तै घुमिरहेका पंखा । हावाबाट बिजुली निकाल्ने यी पंखा लस्करै परपर सम्म फैलिएका । ठुलठुला भीराला हरिया गौचरण । कतैकतै नेपालका पुराना बजारको झल्कोदिने पुरानै शैलीका बजार । ओहो,यि सबै कति मजाले देखिए ! भगवान श्रीकृष्णको साक्षात दर्शननै हुन्छकि जस्तो कस्तो गजबको यात्रा ! कस्तो शुभ मुहुर्तमा घरबाट साईत गरेछौं भन्ने मनमनले गम्दै पोहोरदेखि ताकेको गन्तव्यस्थल न्यु बृन्दावन पुग्यौं ।
शुरुमै गोरो छालाका अपरिचित गेरुबस्त्रधारी श्रीकृष्णदासले हामीलाई 'हरे कृष्ण !' को अभिवादनद्वारा स्वागत गरे । हामीले उसैगरि अभिवादन फर्कायौं । नजिकै मुलमन्दिर रहेछ । गेटमा मास्कको प्रयोगगर्न अनिवार्य सूचना देख्यौं । मुहारमा मास्क लगाउँदै भित्र पस्यौं । भित्रपस्दा भव्य कलात्मक विराट कक्ष सुनसान र सन्नाटायुक्त छ । त्यहाँ रहेका कृष्णका दासहरु गौतमबुद्ध झैं शान्त छन् । झलझलाकार चमकको भव्यतामा राधाकृष्ण र प्रभुपादको जीवन्त प्रतिमा लोभलाग्दो छ । यि सबै दृश्य देखेर हामी नतमस्तक बन्यौं । भगवान श्रीकृष्णका विभिन्न चरित्र झल्किने विविध तस्वीर र प्रतिमाहरु साक्षात उपस्थित भएको अनुभुति हुन्थ्यो । शायद कृष्णका गोपिनीहरुको भित्रभित्रै गुप्त थिए । ओहो ! विशाल कक्षभित्रै बिशाल गोबर्धन पर्वत कति बडेमानको हो ! देखिने हरेक दृश्यले आश्चर्यचकित बनाउँथे । यि सबै दृश्यावलोकनले हामी नतमस्तक बन्यौं । एक मनले भन्थ्यो- त्यहिं समाहित होईजाऊँ ! तर अमेरिकामा जे देख्यो त्यसैमा मोहित भएर जीवन चल्दैन ।
पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको न्यु बृन्दावन सिटिमा पाँच वर्गकिलोमिटरको मन्दिर परिसर अत्यन्त लोभलाग्दो छ । शास्त्रमा बर्णन गरिएजस्तै अनेकाअनेक हेर्नुपर्ने ठाउँ छन् । मन्दिर नजिकै रहेको भव्य ईन्द्रसरोवरको पारीपट्टी कृष्ण-बलरामका नाट्यरुपका पुर्णकद प्रतिमाहरु निकै आकर्षक लाग्छन । त्याहाँपुग्ने जो कोहिले प्रतिमाको अगाडी तस्वीर नलिई फर्कनै सकिंदैन । सरोवरमा तैरीरहेका सेता हाँसहरु र सरोवरका वरिपरी विचरण गरिरहेका मयूरहरु दर्शनार्थीको पछिपछि पाउँदा उत्तिकै आनन्दित बनाउँछ । बालकृष्णको शीर सजाउने यिनै मयूरका प्वाँख त हुन् ! कृष्णसंग संबन्धित यस्तै अनेक जीव वनस्पतिको सजावट बृन्दावन वरिपरि छन् ।
कृष्णले कंशबध गर्न जाँदा कंशले ऐरावत हात्तिद्वारा कृष्णलाई कुल्चेर मार्न राखेको हात्तिले कुल्चनुको साटो पुष्पमालाले स्वागत गरेको थियो । त्यहि ऐरावत हात्ति ढक्क मन्दिर अगाडी बडेमानको शालिक बनेर बसेको छ । अल्लि उत्तापट्टी ग्वाला कृष्णका प्रिय कामधेनु गाईको जोडी यसरिनै बनाईएको छ । चारैतिर बृन्दावनसंगै मधुवन छ । यो परिसरमा मयूर लगायत अरु पक्षीहरुको मन्त्रमुग्ध आवाजले शास्त्रमा बर्णन गरेजस्तै मथुरा गोकुल पुगेकै छनक मज्जाले मिल्छ ।अन्तरमनले त्यहिं डुबुल्की मारीरहुँ भन्छ । माथी नै भनें,भावनामा डुबेर अमेरिकामा चल्दै चल्दैन ।
यसभन्दा माथी भगवान कृष्णको दरबारसंगै नानाथरिका गुलाफैगुलाफको पुष्प बाटिका छ । बीचमा तलाउ छ । पानीको फोहरा ( वाटर फाउण्टेन ) ले मन आल्हादित बनाउँछ । वरिपरिका मृगहरुबाट बाटिका जोगाउन तारजालीले घेरिएको छ । मृगलाई टाँठो प्राणीको उपमा दिईन्छ तर त्यस्ता टाँठाबाठा फुर्तिला लागेनन् । हुनत गाईहरु पनि गाईजस्ता लागेका होईनन् । भू-खण्डको कारणले होला । जेहोस,मृगहरुको झुण्डको ओहोरदोहोरले भने बृन्दावनको शोभा अझ बढाएका थिए ।
मानिस दुई ठाउँमा पुगेर फर्कंदा दुईटै प्रकारका भावना लिएर फर्कन्छ । ति दुई ठाउँ हुन् - घाट र मन्दिर । घाटबाट फर्कंदा मानिसमा वैराग्यको भावना जाग्छ र भन्छ - खै के रहेछ र जिन्दगी ! मन्दिरबाट फर्कंदा अनुराग पलाउँछ र भन्छ - आहा ! जीवन कति सुन्दर छ ! हो, आज म पनि कृष्ण मन्दिरबाट फर्किंदै थिए । मेरो मन आशा उत्साह र उमंगले भरिएको थियो । हाम्रो गाडीले रफ्तार लिईसकेको थियो । मैले भनें खल्तिबाट चट्ट मोवाईल झिकें । कानमा लगाउने एअरपड झिकें । युट्युबमा कृष्णका भजन सर्च गरें । भजन पनि लोकलयलाई समातेर प्यारोडीमा बनाईएको रहेछ । भजनले भन्छ-
"गोपिनिको दया छ भने बृन्दावनमा गाई नाच्यो नभने ।"...यस्तै रमाईला-रमाईला भजनसजन सुन्दै घर फर्क्यौं । जेहोस, बर्षदिन पहिला देखेको बृन्दावन जाने सपनालाई आज साकार पार्यौं ।