Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

साँच्चै प्रजातन्त्र खै ! -डिल्लीराज अर्याल

साँच्चै प्रजातन्त्र खै ! -डिल्लीराज अर्याल

सतीश चापागाईं

७, फाल्गुण २०७८
images
साँच्चै प्रजातन्त्र खै ! -डिल्लीराज अर्याल


खै हाम्रा जनमा स्वदेशतिरको कर्तव्य देखिन्न खै
मान्छेमा क्षमता भए पनि कुनै गन्तव्य देखिन्न खै
श्रद्धा आदर भाव मित्रजनको सद्भाव भेटिन्न खै
यस्तै नै व्यवहार भन्छ दुनियाँ साँच्चै प्रजातन्त्र खै !

हाम्रै भोट लिई बनेर अगुवा गर्दैन केही कतै
जम्दै भोज भतेरमा शहरमा मस्ती गरी बस्छ है
घुम्दै जीप र कारमा अझ उही तर्दोछ आँखा सधै
बोल्नै मुश्किल भेटमा यदि भए साँच्चै प्रजातन्त्र खै !

हाम्रा माग समाज देश दुनियाँ स्वीकार्य बन्दैन खै
हाम्रा काम तमामको हित हुने हो हैन सोच्दैन यै
सेवा भाव समाप्त पार्दछ सधै आफू ठुलो बन्छ खै
दोषी नै उसका भए नजरमा साँच्चै प्रजातन्त्र खै !

बोल्नै हुन्न भने विरोध उसको गर्ने कुनै आखर
सोची भन्न हुँदैन कार्य उसको सम्बन्धमा आखिर
जेजे भन्नु छ भन्छ गर्नु सबले पर्ने भए त्यो सबै
ती हाम्रा अधिकार नै पर भए साँच्चै प्रजातन्त्र खै !

हाम्रो भोट लिएर बोल्न नदिने मान्छे तिनै भैदिए
हाम्रै भोट लिने र काम परकै गर्ने स्वयं भैदिए
आफ्नै स्वार्थ निमित्त भुल्न उसले सक्ने भएमा सधै
सोच्दै सोध्छु भएर दङ्ग म सधै साँच्चै प्रजातन्त्र खै !

मैले आज भनें भने यदि कतै केही विरोधी कुरा
सम्झाए हुँदि देशका हित हुने मीठा र राम्रा कुरा
गर्छस् के अझ राजनीति उसले चिच्याउँदै भन्छ नै
जम्मै दोष अकार्थको दिन मिले साँच्चै प्रजातन्त्र खै?

भ्रष्टाचार विरोध द्वेष झगडा चोरी छ चारैतिर
चिन्ता रोग अभाव त्रास जनमा देखी उठेको पिर
केले मिट्छ र फौजबाट जनता नेता र यो राष्ट्रकै
आआफ्नै सुरमा सबै यदि गए साँच्चै प्रजातन्त्र खै !

हाम्रा ज्ञान र मान काम क्षमता आचारका मूल्य खै
सेवा त्याग र सौम्यता मधुरता तिन्का सही मूल्य खै
छन् आयोग बनावटी सब भए मूल्याङ्कनै सत्य खै
यस्तै पीर सहन्छु सोच्छु मनले साँच्चै प्रजातन्त्र खै?
२०७८ फागुन ६
सतीशजी मैले एउटा कविता पठाएको छु है।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - ०७:०५:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend