पर्बतमा जागिरे थिएँ। साथी थिए - शिव पासी र ईश्वर श्रेष्ठ ।
शिबरात्री छुट्टिको दिन भैहाल्यो ।जाडो कम हुँदै थियो । बिहान उठेर कुश्मा पल्तिर खरेहा नुहाउन गएम्। चाहा साहा खाएर चिसै कपडा बोकेर शिबालय मन्दिर गैयो। दर्शन गरेर टीका , दक्षिणा पनि गरियो ।हामी तिनै जनाले उत्तम खाँणको ब्लू स्काइ होटेलमा खाना खाइन्थ्यो। खाना खाइवरी फेरि गुप्तेश्वर गुफा गएम्। साथिहरुले जोगिको समाधिमा एकुन सर्को शिबबुटि पनि लगाए । मैले खान डराएँ।
- महेन्द्र चोक एसो माथि पुरानो घरमा गोबिन्द गुप्ताको मिठाइ पसल थियो ।गोबिन्दे पनि साथी जस्तै थियो । कहिले पैसा तिरेर मिठाई खाइन्थ्यो - कैले एक दुइवटा रसगुल्ला त्यसै दिन्थ्यो ।
हामी गुप्तेश्वरबाट फर्केर सरासर उसैको पसलमा पसेम् ।
- आज् शिउ रात्री, मैले बहुत बढिया घोट्टा बनाएछुं - भन्दै उसले तीनवटा शिसाको गिलासमा घेरा / घेरा बाक्लो दूध जस्तो परिकार टक्रायो र भन्यो - खाइ हाल्नुस्, बहुत बढियाँ छ ।
शिव पासी चम्की हाले - हं , हं यार ! बाइगड ! आज् त लगाउनु पर्छ।
ईश्वर जे भनेपनि मान्थ्यो, गिलास समाएर तानिहाल्यो।
मलाइ भने सिक, सिक लाग्यो । गोबिन्दे र पासिले कर गरे र मैले सुरुप्प पारेँ।
के बात मारम् र ! कति हो कति मीठो ।घोटेको दुधमा ल्वाङ्ग , सुकमेल ,चिनी मिसाएर बनाएको । छोड्न मनै लागेन, गिलाँस पनि चाट्चुट पारेँ।
अनि आआफ्नो कोठातिर लागियो ।अब घोट्टाले काम गर्न थाल्यो।यता हेर्छु - घुमेकै छ , उता हेर्छु घुमेकै छ ।ब्लू स्काइ होटेलको तलामा मेरो कोठा थियो । साथी - दाइ हुनुहुन्थ्यो तर कोठामा हुनुन्थेन , बागलुङ्ग जानुभाथ्यो।
हैन , सुत्छु भो ; सुतेपछी सन्चो होला नि - भनेर ओछ्यानमा पल्टिएँ।
ए मेरा बा , कोठा माथिका दलिन हरु त फन्फनी घुम्न थाले ।आँखा चिम्म गर्छु- रिंगाउन छाड्दैन।
अब खाट नै उड्न थाल्यो।
ए , लौ,लौ खाट त दाहिनेतिर पल्टिन थाल्यो भनेर जोडले समाउछु - फेरि देब्रे तिर कोल्टिन्छ। चरप्प समायो - सिरानी तिर घोप्टिन्छ खाट् । अनि फेरि गोडारितिर । हे माहादेउ ! बचाउ भनेँ। कोले बचाउने हो।
- अनि त खाटै सित म उड्न थालेँ - माथी , माथी , झन माथी अक्कासमा ।
- अब मलाइ कन्फ्युज भो - म ज्युदै छु कि मरिसकें भनेर ।तिर्खा लागेको छ ,बाहिर मान्छे बोलेको सुनिएको छ - त्यसैले म जिउदै छु जस्तो मान्छु ।
फेरि , हैन यस्तो हुनु भनेको त मर्नु नै होला । केही कुरा सम्झिन्नँ - म त मरेकै हुं क्या हो जस्तो मान्छु ।
यस्तो बारंबार भैरह्यो।
कतिबेला निदाएं ,मेसै भएन ।
जाग्दा त साँझ परेछ । खाना खाने बेला भएछ ।टाउको गह्रुङ्गो भएको , दुखेको । अझै रिँगाउदै थियो ।
तल झरेँ । भित्ता समाएर टोइलेट गएँ ।आएर टाउको निहुराएर भान्सामा बसेँ।
- हन , के भैच र हो नारान सरलाइ ? उधोमुन्टो लार बस्नुभैच।रौसी खानुओको र - घरबेटी आशा भाउजूले ख्यार , ख्यार पारिन्।
- हैन , घोट्टा खाथेँ , लाग्यो - भने । गलल्ल हाँसिन् र भात पस्केर दिइन। खाना पछि अलिकती अमिलो रालेर दिइन् । त्यो खाएसी बान्ता भयो र रिंगाउन छोड्यो।
पासिलाइ खास केही भएनछ , ईश्वर भने भात खानै आएन ।
त्यसपछी म दुहाई भएं । गाँजा , भाङ् , घोट्टा केही खाएको छैन ।