Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा गोलीबाट झण्डै मरेको त्यो रात - दमन बिक्रम शाह

अमेरिकामा गोलीबाट झण्डै मरेको त्यो रात - दमन बिक्रम शाह

नेप्लिज डायस्पोरा

२७, जेठ २०७९
images
अमेरिकामा गोलीबाट झण्डै मरेको त्यो रात - दमन बिक्रम शाह

अमेरिकाको सुरक्षा ब्यवस्था, नेपाली समाजको भ्रम र यथार्थ मिसिएको यो मेरो एक अविस्मरणीय अनुभव हो । गएको हप्ता झण्डै ज्यान जाने घटनाबाट म आफै कसरी बांचे भनेर लेख्न लागिरहेको छु ।

आज अनायास फेसबुक हेर्दै थिए मेरो नजर एउटा समाचारमा गएर ठोक्कीयो, शिर्षक थियो क्यालीफोर्नियामा नेपाली माथि सांघातिक आक्रमण ! सागर तामाङ भन्ने भाइलाई पछाडिबाट प्रहार गरेर मरणासन्न हुने बनाएर सम्पूर्ण सामान लुटेछन । भाइ सागर तामाङप्रति मेरो गहिरो सहानभुती छ ।

अब मेरो प्रसंग जोड्दैछु। घटना हो २७ मे २०२२, समय राती १ बजे ।

म सधैं राती १० बजेसम्म काम गर्छु । त्यस दिन मेरो पारिवारिक मित्रको छोराको दीक्षान्त भएको दिन, मित्रले बधाई तथा शुभकामना दिने कार्यक्रमको आयोजना घरमै गर्नु भएको थियो । साढे १० बजे पुगियो बधाई शुभकामना दिइयो, खाना खाँदा गफगाफ गर्दागर्दै रातीको साढे १२ बज्यो ।

आफ्नो गाडी पंचर भएका कारण साथीको घरमा गाडी राखेर साथीको गाडीमा उक्त जमघटमा गएं । राती १२ बजेर ४५ मिनेट जाँदा साथीको घरमा राखेको पंचर गाडी घच्याकघच्याक गर्दै घर लिएर आएँ त्यस्तै राती १२ बजेर ५० मिनेटको समयमा घरको पार्किङमा पुगे ।

गाडीबाट एउटा खुट्टा निकालेको थाहा छ । त्यसपछि के भयो थाहा छैन । १ बजेर २० मिनेटमा होश आयो, भुईंमा घोप्टो परेर सुतिरहेको पाएँ, उठेर घरभित्र पुग्दा त अगाडीका दुई दाँत छैनन । लगाएको सेतो सर्ट रातै छ । टाउकोबाट रगत अबिरल बगिरहेको थियो । छोराले हल्का मलहमपट्टि गरेपछि टाउकाको चोटले होला फेरि भुसुक्क निदाँए ।


बिहान ६ बजे उठ्दा सिरानी रगताम्ये थियो अनि डराएँ र पुलिसलाई फोन गरे । फोन, घडी, नगद, डेविट क्रेडिट कार्ड लगेको रहेछ, अमेरिकामा सुनको बारेमा ज्ञान नहुनाले सुनका गहना लगेन ।पुलिस आयो एम्बुलेन्स आयो सामान्य चेकजाँच गरि अस्पताल रिफर गर्यो । सिटी स्क्यान र केहि थान एक्सरे गर्यो अनि ओखति मुलो दिएर घरमा आराम गर्न पठायो ।

घटनाको विश्लेषण गर्दा र घाउको प्रकृति हेर्दा बन्दुकको बट( कुन्टादा) ले टाउकोमा हिर्काएर मलाई बेहोस बनाई लुटपाट गरि गाडीबाट बाहिर फाल्दा भुईंमा ठोक्किएर मेरा दाँत झरेका रहेछन । गाडी लैजान खोज्दा पंचर भएका कारण लान नसकेको रहेछ ।

आराम गर्न थालेपछि म डिप्रेसनमा जान थाले घटनालाई विश्लेषण गर्दा झनझन डर लाग्न थाल्यो र डर भगाउन सामाजिक कार्यक्रमहरुमा सहभागी हुन थाले । सबैलाई लाग्यो सामान्य घटना रहेछ ।


म बसेको शहर बाल्टिमोर हो र यसलाई मिनी नेपालभन्दा खासै फरक पर्दैन । म पनि सामाजिक कार्यमा सकृय केहि थान नेपालीमा पर्दछु ।हरेक आपत विपत ब्यवस्थापनमा सकृय सहभागिता जनाउँदछु । तर आज आफै माथि वज्रपात हुँदा ओर्किदा फर्किंदा आफैलाई मात्र पाउँछु । अनि संझन्छु म माथि आश्रित मेरो परिवार केटाकेटी बुवा आमा दाजुभाइको के गति हुन्थ्यो होला । धन्न भगवानले हात थापे एक थान ज्यान जोगाइदिए ।

म हरेक नेपालीका दुखसुखमा सरिक हुने व्यक्तिमा पर्छु भन्ने मेरो विश्वास छ । तर मेरो घटना, मेरो पीडा र मेरो घाउका उपर समाजका साथीभाईबाट उल्लेख्य साथ सहयोग पाउन नसकेको महशुस गरिरहेको छु । एउटा सक्रिय ब्यक्ति पनि यति निरिह हुनुपर्छ भने बाकी सामान्य मानिसको हकमा म कल्पना मात्र गर्न सक्छु । र भन्न चाहन्छु परदेश भनेको परदेश नै रहेछ । 

यो घटना मलाई मात्र भएको होईन म त एउटा उदाहरण मात्र हुँ । यस्ता घटना समाजमा धेरै भइरहेका छन । कतिले भन्छन र सुनिन्छ । कतिले भन्दैनन र सुनिन्न । कतिको त बोलेर सुन्ने पनि मानिस छैनन होला । यस्ता कुरा मनमा खेलिरहन्छ ।

यस प्रकृतीका घटना भोली अरु कसैलाई पनि हुनसक्छ । म लेख मार्फत हामीमा सजगता जरुरी छ भन्ने सन्देश सबैमा प्रवाहित गर्न चाहन्छु । मलाई कसैले विचरा भनोस वा सहयोग गरोस भनेर यो लेख लेखेको छैन । यो लेख पढेर भोली तपाई कामबाट निस्कने बेलामा र गाडीबाट निस्कने बेलामा आफ्नो वरिपरी सामान्य विचार गर्नुस भनेर सन्देश दिन चाहन्छु । 

बांचेको छु र आज आफ्नै पीडा मिसिएको घटना लेख्न पाएं । धन्न त्यो रात गोली हानेनछन । त्यो रात गोली खाएको भए म मरिसकेको हुन्थें यो बिरानो मुलुकमा । यस्ता आपतका घट्ना अरु कसैलाई नपरोस ।

 

images
प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - ०९:२०:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend