लाग्थ्यो - समय पानी हो
जसको कुनै रूप-रङ्ग हुँदैन
र, जसलाई कुनै पनि शक्तिले छुँदैन
तर, समय- पानीमा
मान्छेको भीडले जस्तोजस्तो रङ्ग घोल्छ
त्यस्तैत्यस्तै देखिदो रहेछ
कहिले अति सुन्दर देखिदो रहेछ
त कहिलेअति कुरूप देखिदो रहेछ
आखिर चस्माको रङले पनि समयलाई छुँदो रहेछ
लाग्थ्यो- पानी झैँ निष्पक्ष भई
सबैको तिर्खा मेट्छ यसले
जीवनबीजलाई फुलाएर
चेतनाको शिखर भेट्छ यसले
तर कस्तो पक्षपाती हुँदो रहेछ समय-
कसैको पीडामा रुँदो रहेछ
त कसैको पीडामा हाँस्दो रहेछ
कतै उज्यालो प्रकाश
त कतै अँध्यारो रात भएर बाँच्दो रहेछ
निष्ठुरी भै कसैको गला रेट्दो रहेछ
त कसैको पाइला नै मेट्दो रहेछ
कति स्वार्थी हुँदो रहेछ "धर्म " ले जितेको समय
कसैको निधारमा सौभाग्य मात्रै
त कसैको निधारमा दुर्भाग्य मात्रै लेख्दो रहेछ
लाग्छ- समय पक्षपाती कलम रहेछ
केवल शक्तिको भक्तीगीत लेख्दो रहेछ
लाग्थ्यो - समय- पानीको कुनै गन्ध हुँदैन
कुनै भीडको गन्धले यसलाई छुँदै-छुँदैन
तर, जस्तोजस्तो सुगन्ध भिडले छोड्छ
त्यस्तैत्यस्तै सुगन्ध आउँदो रहेछ
जस्तोजस्तो दुर्गन्ध भीडले छोड्छ
त्यस्तैत्यस्तै दुर्गन्ध छाउँदो रहेछ
लाग्छ- समयलाई स्वच्छ वा प्रदुषित
मान्छेको भीडले नै बनाउँदो रहेछ
सुगन्ध र दुर्गन्ध त
समय- नाकले पनि जनाउँदो रहेछ
दर्शनले पनि त्यस्तो बनाउँदो रहेछ
लाग्थ्यो- समय- पानीको कुनै स्वाद हुँदैन
कुनै पनि स्वादले यसलाई छुँदै छुँदैन
प्राणीको हर्ष र पीडा देखेर
समय हाँस्दै - हास्दैन अनि रुँदै- रुँदैन
तर, लाग्छ- मान्छेको भीड्ले
समयलाई कहिले स्वादिलो
त कहिले अति बेस्वादिलो बनाउँदो रहेछ
कति स्वार्थी छ मान्छे -
सुस्वाद जति आफ्नै मात्र जीवन- भागमा
खन्याउँदो रहेछ
स्वाद लिन समय- जिब्रो चाहिंदो रहेछ
लाग्थ्यो - समयको गति कहिल्यै मन्द हुँदैन
यसको मूलमा पुग्ने बाटो कहिल्यै बन्द हुँदैन
तर, लाग्छ- भीडले काँध थाप्दा
छिटो बग्दो रहेछ समय
भीडले बाँध बाँध्दा ढिलो बग्दो रहेछ समय
त कहिले मान्छेको भीडले गर्दा नै
आखिर उल्टो पनि त बग्दो रहेछ समय
लाग्थ्यो -
जन्म र मृत्यु बीचको
समय- पिजडामा कैद छ जीवन
सक्तैन कसैले तोड्न यो बन्धन
तर आज लाग्छ -
मान्छेका भीडको मुट्ठीमा कैद छ समय
र, धर्मले सम्मोहित " समय"ले
आफ्नो प्रकृति भुलेको छ
साँचो कुरो भन्दैछु-
त्यसैले त धर्मको दिन खुलेको छ
आज आफैसँग प्रश्न सोध्छु-
म आखिर किन जन्मिएँ?
समयको अधिनमा छु कि
मेरो अधिनमा छ यो समय?