मार्टिन चौतारीको लेखन आश्रम विद्वत्वृत्ति अन्तर्गत रहेर गत वर्ष(२०५९)को पौष २८ देखि माघ १८ सम्मका लागि भनेर धुलिखेल गएको थिएँ । यो अवधि धुलिखेलको हाई भ्यू रिसोर्टमा बिताउने भनिए पनि पुरै दिन त्यहाँ बिताउन पाइएन । सम्झनाका पत्रमा बनेपा, बल्थली र धुलिखेलका ती दिनहरू झल्झली याद आइरहेछन् ।
त्यतिवेला मलाई मार्टिन चौतारीको कार्यालयबाट धुलिखेल पुग्न कति समय लाग्छ ? भन्ने पनि थाहा थिएन । आ–आफ्ना सामान लिएर हामी कार्यालयबाट मोटरमा बस्दा भागीरथी श्रेष्ठ, लक्ष्मीप्रसाद मैनाली, केदार शर्मा, नारायण वाग्ले, म र मार्टिन चौतारीका प्रत्यूष वन्तसमेत ६\७ जना थियौं । बिहान सबेरै हिंडेपनि ठाउँठाउँमा रोकिंदै ठाउँ, दृश्यहरूको अवलोकन गर्दै गरेको र मोटरको लामो लाइन पार गर्नु परेकाले निश्चित समयमा पुग्न नसकिएको कुरा बुझ्न समय लागेन ।
बनेपा पुग्दासम्म पटकपटक लाइनमा लाग्नुपर्यो । त्यसपछि बल्ल सरासर जान सकियो । धुलिखेल बजार पुग्नुपूर्व सडक छोडेर केहीप श्चिमोत्ततिर लागेपछि गन्तव्यमा पुगिएको जानकारी भयो ।मोटरबाट उत्रेर रिसोर्ट हाता भित्रका उकाला सिंढीहरू पार गरेर निश्चित ठाउँमा पुगेपछि हामी बस्ने कोठाहरू र सँगै बस्ने साथीहरूको निधो भयो ।
धेरै ठाउँबाट जम्मा भएकाले हाम्रै बीचमा पनि आपसी परिचय थिएन । परिचय, बसाइको व्यवस्था आदि भएपछि एक अर्कासँग दैनिक भेट हुने, खाना खाने र घुम्ने समय निश्चित गरेर हामी केहीबेर आराम गर्नतिर लाग्यौं ।
म पाल्पाको, त्यो पनि मदनपोखराको हरियालीमा हुर्केकोले होला, त्यहाँका डाँडापाखा हरियाली विहीन जस्ता लागे । त्यसैले पनि प्रारम्भिक चरणमा मलाई त्यो प्रकृतिमा, वातावरणमा, रमाउन सक्दिनँ जस्तो लागेको थियो, तर त्यहाँ त साहित्यको रोचक परिवेश थियो । त्यसकै सिलसिला र सङ्गत थियो । एक प्रकारको मानवीय सीप र कलाको चिन्तनमा समय गुजार्नु र केही रच्नु हाम्रो उद्देश्य र त्यसलाई सघाउने मार्टिन चौतारीको लक्ष्य थियो । त्यसैले हाम्रा मनमा हर्ष थियो, उत्साह, जोश र जाँगर पनि । मानसिक वातावरणलाई हर्षमय बनाएको थियो र हर्षको अनुभूतिमा सबै कुरा राम्रो लागेको, लाग्दै जान थालेको थियो ।
हामीले आफ्नो कोठामा सबैजसो सुविधा पाए पनि त्यो नौलो अनुभूतिभित्र यदाकदा आआफ्ना घर, विद्यालय, कार्यालय आदि पनि पर्थे । तिनको सम्झना पनि हुन्थ्यो र कहिलेकाहीं फोन पनि गर्ने गरिन्थ्यो । एकदिन नारायण वाग्लेजीले कान्तिपुरमा खगेन्द्र संग्रौलाको लेख पढ्दै गत वर्ष यहीं बसेर लेखेको पुस्तक भन्दै चर्चा गर्नुभयो । त्यो पुस्तक यतिबेला प्रकाशित भएको रहेछ ।केदार शर्माले त्यसभित्रका केही निश्चित अंशहरूको आलोचनागर्दै ‘त्यस्तो लेख्न नहुने ’भन्दै हुनुहुन्थ्यो । पढ्न नभ्याएको पुस्तक हुनाले मैले भने त्यो चर्चा सुनें मात्र ।
साथीहरूमध्ये केहीको बिहान सबेरै उठेर घुम्न जाने बानी रहेछ ।नारायण वाग्ले र केदारजी सबेरै निस्कनुहुन्थ्यो तर हामी भने यदाकदा मात्र घुम्थ्यौं । त्यो पनि धेरै टाढा होइन त्यहीं तलमाथि,वरपरमात्र ।
भागीरथी श्रेष्ठ, केदार शर्मा, नारायण वाग्ले, गोविन्द पाण्डे, लक्ष्मीप्रसाद मैनाली र म त्यो विद्वत्वृत्तिमा त्यहाँ पुगेका थियौं । गोविन्द पाण्डे, लक्ष्मीप्रसाद मैनाली र म बस्ने कोठा एउटै थियो । मञ्जुश्री थापा, प्रत्यूष वन्तहरू त्यसका व्यवस्थापक भएकाले होला उहाँहरूको बसाइ अलग्गै थियो ।
उत्तरतिर फर्केको धुलिखेलको डाँडामा रहेको हाम्रो आश्रम पुषको तुषारो परेको बेला, चिसो पानीका कारण जाडोको बयान गरिसाध्यै थिएन । घाममा बाहिर बस्दा पनि चिसो सिरेटोले मुटुकपाउँथ्यो । स्नानगृहमा पनि धारो खोलेको २÷३ मिनेटपछि बल्लतातो पानी आउँथ्यो, नत्र त चिसो नै । अझ कहिलेकाहीं त जोडले धारोमा हान्नुपर्थ्यो पानी खसाल्न । त्यो अभ्यास मलाई थिएन ।
रिसोर्टका सञ्चालक लुइँटेलजी बडो मिठो शैलीमा प्रस्तुत हुने गर्नुहुन्थ्यो । खाना खाने बेला दैनिक आफै उपस्थित भएर र बाँडेरपनि वातावरणलाई रमाइलो बनाउनुहुन्थ्यो । हाम्रातिर त व्यावसायिक मान्छेमा पनि त्यस्तो नरम र मीठो व्यवहार कमै पाइएको अनुभव मलाई छ ।
एकदिन हाम्रो माथि डाँडातिर जाने सल्लाह भयो । वाग्लेजीले माथिको मन्दिरको बारेमा चर्चा गर्नुभएको थियो । रिसोर्टबाट गोरेटो, बारीका कान्ला हुँदै हामी माथि सल्लाघारीमा पुग्यौं । त्यो सल्लाघारीको बीचमा पुग्न अलिकति ओरालो झर्नुपर्थ्यो । हल्का ओरालो झरेपछि एउटा रमाइलो ठाउँ रहेछ जसमा एउटा मन्दिर रहेछ ।
पत्रपत्रिकाहरूमा बेलाबेलामा चर्चामा आएको त्यो मन्दिर रत्यहाँको घटनाबारे वाग्लेजीले चर्चा गरिसक्नुभएको थियो ।जङ्गलभित्रको मन्दिर, आश्रम र तिनले चर्चेको हाताभित्र प्रवेशगर्दा बडो रमाइलोको अनुभूति भैरहेको थियो । मैले त्योभन्दा अझ आनन्दको अनुभूति त्यतिबेला गरें जतिबेला योगी भेषधारी कृषकाय दुई व्यक्ति त्यहाँ हाम्रो स्वागतार्थ बस्ने व्यवस्था गर्दै सोधपूछ गर्न थालेका थिए ।
शुरुमा हाम्रो एकापसमा परिचयको आदान– प्रदान भयो । हाम्रो परिचयमा त उही नाम, थर, घर, पेशा, आदि आदि मात्र हुन्थे र भए। खासै नयाँपन भएन, थिएन । उनको परिचय दिने तरिकामा भने अचम्मको शैली थियो । परिचय पछि केही जिज्ञासा राखिए । हाम्रा प्रश्न जति रोचक हुन्थे, उनको उत्तर दिने शैली पनि त्यत्तिकै रोचक, मिठा र आश्चर्यजनक हुन्थे । उनको भाषाशिल्प अनौठो थियो । त्यसमा केही आध्यात्मिक चेत थियो र त्यसलाईव्यावहारिक पक्षसँग नजिक्याउने कोशिस पनि । त्यसैले होला कतै हामीसँग मिल्ने, कतै फरक पर्ने विचार आइरह्यो ।
त्यहाँ नियमित र अखण्ड हवन चलिरहेको जानकारी सहित वरपरको सामान्य जानकारी पनि उनले दिए । करिब ३२÷३५ वर्षउमेरका लाग्ने ती योगी ‘मुक्तिनाथ गिरी’ का स्पष्ट धारणा भने आएजस्तो लागेन । त्यत्ति मात्रले उनलाई राम्ररी चिन्न सकिने कुरो पनि थिएन ।
आफूलाई बाबा रमेश गिरीका शिष्य बताउने मुक्तिनाथ गिरी त्यो शैलेश्वर महादेव मन्दिरमा लामो समयदेखि बस्ने गरेका रहेछन् ।त्यो मन्दिर, आश्रम आदिको रेखदेख उनकै जिम्मामा रहेछ । २०४८देखि २०६० सम्म चलाउने गरी शुरु गरिएको महाशक्ति यज्ञ हालसम्म निरन्तर चलेको रहेछ ।
पढाइको कुरो गर्दा उनले वी.एस.सी. उत्तीर्ण गरेको कुरा बताए । मेरा मनमा भने वी.एस.सी. गरेका ती बाबा कुनै पेशामा नलागेर किन संन्यासी बने होलान् ? किन यस्ता ठाउँमा आएर बसे होलान्? भन्ने जस्ता प्रश्नहरू उठिरहे । अरू साथीहरूका मनमा पनि यस्तै प्रश्न उठेका थिए होलान् । त्यतिञ्जेल बस्दा हामीले उनीसँग थुप्रै प्रश्नहरू पनि गर्यौं, धेरै जानकारी लिन खोज्यौं तर फरक ढङ्गका उनका उत्तरले अल्मल्याए । उनले यसै भन्न खोजेका होलान् भन्ने अन्दाज लाउने, अनुमान गर्ने काम मात्र भयो ।
अन्य कुराहरूका साथै छुवाछुतका कारण समाजमा बढिरहेको तनाव, विवाद आदिबारे पनि त्यहाँ चर्चा भयो । केही अघि दलितहरूको मन्दिर प्रवेशबाट चर्चामा आएको थियो त्यो मन्दिर । त्यसैले पनि त्यति वेला त्यहाँ त्यो विषयमा चर्चा हुनु, जानकारी लिन खोज्नु स्वाभाविकै हुन्थ्यो र भयो पनि ।
त्यसै क्रममा उनले भने- ‘पहिलेको तुलनामा अहिले समाजमा दृश्यगत द्वन्द्व बढेको छ । घरघरमा बालबालिकाप्रति सद्भाव बढेको छ, उनीहरू खुसी छन्, तर बाबुआमामा त्रास बढेको छ । उनीहरू बढी डराउँछन् । त्रास भावनामा छ, व्यवहारमा छ, मायाँमा छ । तिनकै कारण डर लाग्छ ।
हरेक प्राणीलाई चिनाउन रूप र नाम हुन्छन् । कालान्तरमा तिनको रूप हराउँछ, तर नाम रहन्छ । पुस्ता बदलिए जस्तै मान्छेको कर्म बदलिन्छ । पुर्खाका कर्म र सन्ततिका कर्म एउटै हुन्नन्, बदलिन्छन् । बदलिएका छन् तर पनि परम्परा चल्नैपर्छ,कुनै न कुनै रूपमा परम्परालाई चलाउनै पर्छ । ....।'
उनले भनेका यस्तै खालका भनाइ बडा घतिला र रमाइला लाग्दै थिए । उनले धेरै कुरा गरे । धेरै कुरा बताए र अनेकौं जिज्ञासा शान्त पार्न पनि खोजे । हामीले पनि मजा मानेर सुनिरह्यौं ।
मेरा मनमा आधुनिक युगका, आधुनिक विषय विज्ञानमा स्नातक उत्तीर्ण गरेका मान्छे संन्यासी बनेर त्यस्तो एकान्तमा किन बसे होलान् ? घर गृहस्थी छोडेर त्यसरी बस्ने रहर, बाध्यता वा स्वेच्छाके थियो होला ? भन्ने सोच आइरह्यो । उनको त्यो बसाइ बडो रोचक विषय बनिरह्यो । त्यसैले पनि घर गृहस्थी छोडेर त्यसरी बस्ने उनको रहर, बाध्यता वा स्वेच्छा के थियो ? भनेर जान्न खोज्नु स्वाभाविकै थियो, तर त्यस्ता कुराका जवाफ कत्ति गर्दा पनि पाइएन । बरु उनले छुवाछुतका कुरा गरे । कसरी चल्यो ? भन्नेबारेमा आफ्ना भनाइराखे । पुराना ग्रन्थहरूमा वर्णन गरेका सागरहरूका चर्चा गरे । संसार बीउबाट चल्ने, बीउको प्रसारण भिन्न-भिन्न तरिकाले हुने कुराको चर्चा गरे । चराले, पशुहरूले, मान्छेले, मुसा आदि प्राणीले बीउलाई पिंmजाउने, छर्ने र प्रकृतिलाई हराभरा पार्न मद्दत गर्ने कुरा मिठो शैलीमा बताए ।
हो, यो हामीलाई थाहा भएकै कुरा हो, चराले भिन्न भिन्न तरिकाले रुख बिरुवाका बीउ फिंजाउने गर्छन् । पशुहरूबाट बीउ फिंजाइएका प्रशस्त उदाहरण छन्, तर त्यो हाम्रो मनमष्तिष्कमा भएर पनि प्रस्तुतिमा प्रायः आउन्न । उनको ज्ञान,अनुभव व्यवहारमा राम्रै गरी मिल्ने देखिन्छ । त्यसरी ज्ञान,अनुभव बटुलेका मान्छे बसेको मन्दिरमा त्यो विवाद कसरी आयो ? विवाद आउनु पूर्वत्यहाँको सोँच र वातावरण कस्तो थियो ? त्यसको टुङ्गो कसरी लाग्यो ? आदि आदि तर्कहरू मनमा खेल्दै रहे ।
अँध्यारो बढ्न थालेको थियो । अब हामीसँग त्यहाँ बसिरहन धेरै समय थिएन । घाम अस्ताएको पनि धेरै समय भैसकेको थियो ।त्यसैले फेरि आउने र अलि लामो समय बस्ने सोचका साथ त्यहाँबाट बिदा भएर निवासतिर फर्क्यौं । मनका थुप्रै खुल्दुलीमनमै रहे । फर्कंदा पनि मनमा फेरि अलि लामो समय बस्ने गरी आउने सोच आइरह्यो ।
चारैतिर अँध्यारोले ढाक्दै थियो । माथि डाँडाबाट झर्ने बेलामा बाटो भुलिएछ । बाटो बिराउनेले हण्डर खानु स्वाभाविकै थियो ।बाटो बिराउनेले जहिले पनि हण्डर खान्छ भने हामीले नखान मिल्थ्यो र ? मिल्दैनथ्यो, मिलेन र त खायौं । ‘बाटोको जानकारी सधै राख्नुपर्छ, बाटो कहिल्यै भुल्न हुन्न’ भन्ने चेतनासम्मपनि रहेनछ हामी लेखक, पत्रकार भनिनेहरूमा । रहेको भए हामीले बाटोको विचार गर्नुपर्थ्यो, तर गरेनौं र त भुल्यौं ।
हुनत जब जब अँध्यारो बढ्छ, तब तब बाटो भुलिने सम्भावना बढ्नेगर्छ । बाटो चिन्न वा जान्न उज्यालो चाहिन्छ । जहाँ उज्यालो हुन्न,त्यहाँ बाटो नभुलिने कुरै भएन । बाटो भुलेपछि धोका पाइने कुरामा पनि कुनै सन्देह छैन, त्यसैले हामीले त्यो भुलाइबाट पाएको कष्टलाई स्वाभाविक रूपमा लियौं र पत्ता लागेपछि हाँस्दै हाँस्दै रिसोर्टतिर झर्यौं ।