(अप्रिल ६ अर्थात् २०७९ चैत्र २३ मा जीवनमा बिर्सन नसकिने घटना घटेको छ । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्थाले टि आर सी विधेयक संशोधनको माग राखेर बानेश्वरको एभरेष्ट होटल अगाडि २०७९ चैत्र ५ देखि सडक आन्दोलन गर्ने भनी आन्दोलनको घोषणा गर्यो । म पनि चितवनबाट झोला बोकेर राजधानी आइपुगेँ ।
म आइपुग्नासाथ हामीमा बृहत् छलफल भयो । हामीले भन्यौं हामी शान्तिका प्रतीक सुरक्षाकर्मीका परिवार हौं हामीले शान्तिलाई दखल पुर्याउने कुनै पनि त्यस्तो काम गर्नुहुँदैन जसले गर्दा हाम्रा सहिद भएका, घाइते तथा अंगभंग भएका वीर योद्धाहरूलाई दाग लागोस् ।
यस्तै सहमतीपछि हामीले विभिन्न राजनितिक दलका नेताहरू भेटघाट गरेर विधेयक संशोधन पेश गर्ने भनी निर्णय गर्यौं ।
भोलिपल्टदेखि हामी सडक आन्दोलन सहित विभिन्न राजनीतिक दलका माननीय ज्यूहरू भेटघाटमा लाग्यौं ।
हाम्रो दैनिकी जस्तै बनेको थियो आन्दोलन २३ गतेसम्म आइपुग्दा । हामीमध्ये ५/७ जनाले विधेयकका विरुद्धमा आफ्ना धारणाहरू राख्ने गरेका थियौं ।
हामी कहिले आँसु बगाएर मन्तव्य दिन्थ्यौं त कहिले आक्रोश व्यक्त गर्थ्यौं । जुन व्यवस्थाका निम्ति हामीले हाम्रो मान्छे गुमायौं ,जहाँ राज्यले हाम्रो मान्छेलाई मर्न वाध्य पार्यो ।
अहिले शान्ति सम्झौताको १७ वर्ष हुँदासम्म हामीलाई न व्यवस्थाले हेर्यो न राज्यले । राज्यले पूरा गर्नु पर्ने धेरै कुराहरू छन् । राजपत्रमा नाम निकालेर सहिद घोषणा गर्यो तर सहिद परिवारले पाउनुपर्ने सेवा सुविधा हामीलाई दिएन ।
शिक्षा ,स्वास्थ्य र रोजगारी जस्ता मूलभूत कुराहरूबाट हामी र हाम्रा सन्ततिलाई पर राखेको छ । छोराछोरीलाई उमेरको डोरीले कसेर राज्य आफू उम्केको छ । यी विषयहरू परिपूर्णसँग सम्बन्धित भए । त्यसबाहेक अरु विषय पनि छन् ।
सबैलाई थाहा नहुन सक्छ राज्यले आजसम्म सुरक्षाकर्मी परिवारलाई सहिद परिवार भनेर परिचय पत्र दिएको छैन ।
हिजोआज सदनमा तेर्सिएको टि.आर.सी.(Trc) विधेयकले द्वन्द्वका सबै पीडितलाई समेटेको छैन ।एकपक्षीय छ । सुरक्षाकर्मीहरूलाई पीडक अंकित गरिएको छ । हामीले यी यावत कुराहरूलाई जोडेर उचित न्यायको माग गरेका हौं ।