गैर आवासीय नेपाली संघ एनआरएनको नयाँ नेतृत्व चयनका लागि चुनवी प्रक्रिया काठमाडौंमा सुरु भइसकेको छ । सन् २००३ देखि सुरु भएको एनआरएन मुभमेन्ट २० औं वर्षमा प्रवेश गर्दा अहिले ११ औं महाधिवेशनको संघारमा आइपुगेको छ । विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकाले अहिलेसम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारले प्रस्तावक र समर्थक पाउन मुस्किल रहेको बताउने गरेका छन् । १ जना उम्मेदवारका लागि सशरिर दुई जना प्रस्तावक र दुई जना समर्थक आवश्यक पर्छ । ४१ सय ९२ जना प्रतिनिधिहरुले नेपाल र विदेशबाट गरी मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने भए पनि काठमाडौंमा प्रतिनिधिको संख्या विगतको तुलनामा एकदमै पातलो रहेको छ । जसका कारण पनि उम्मेदवारलाई प्रस्तावक र समर्थक जुटाउन हम्मेहम्मे परेको हो ।
यसैगरी एनआरएन सचिवालयले डेलिगेट्स दर्ताको शुल्क भने घटाएको छ । यसअघि २ सय अमेरिकी डलर तय गरिएकोमा विहीबार साँझ बसेको आइसीसीको बैठकले नेपाली १५ हजार रुपैयाँ मात्रै दर्ता शुल्क तोकेको हो । शुक्रबारसम्म १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अहिलेसम्म ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै बताए पनि एक जना आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । आरके शर्मा मिडिल इस्टका हुन । यसैगरी कतारमा व्यवसाय गर्दै आएका राजु रेग्मी (राज)ले उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्दा जापानका रोविन शेरचनले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार जापानका गोविन्द प्रसाद श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। युरोपका सोम सापकोटाले उप महासचिवमा उम्मेदवारी दर्ता गराउँदा हङकङ्ग निवासी राधिका गुरुङले आइसीसी महिला सचिवमा उम्मेदवारी दर्ता गरिन् ।
जापानका पासरमणी पोखरेलले सचिव पदमा मनोनयन दर्ता गराएका छन् भने अमेरिकाका सिपी पौडेलले सह कोषाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
जापानका शिव पौडेलले एसिया प्रशान्त संयोजकमा, प्रदीप न्यौपाने एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमै मनोनयन दर्ता गराएका छन् ।
सुरेन्द्र घिसिङले युवा संयोजकमा, अस्ट्रेलियाका दिनेश पोखरेलले क्षेत्रीय संयोजकमा, अरुण कु। ठाकुरले ओशियना उप संयोजकमा मनोनयन दर्ता गराएका छन्। यस्तै गोकुल घिमिरेले ओसियना उपसंयोजकमा उम्मेदवारी दर्ता गराएका छन्।