Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

झांक्री जी परदेशीको कुरा पनि सुन ल - कृष्णराज शर्मा

झांक्री जी परदेशीको कुरा पनि सुन ल - कृष्णराज शर्मा

नेप्लिज डायस्पोरा

२, कार्तिक २०८०
images
झांक्री जी परदेशीको कुरा पनि सुन ल  - कृष्णराज शर्मा

म पनि आज ''बिफोर कुखुरी काँ' उठें । उठेर शौच-फौच सकेपछि सदाझैं मोवाईलमा हात गयो । शुरुमै एउटा भिडियो क्लिप देखियो । भिडियोमा देखिएको अनुहारले आकर्षित गर्यो । मेकअपले चट्ट परेकी नारी अनुहार देखेपछि मेरो मन त तरुनो भैहाल्यो । हतारहतारमा आँखाका चिप्रा हातले पुछेर हेरें । अहं, अझै चित्तै बुझेन ! सिरानी मात्थिर राखेको चश्मा लगाएर फेरी हेरें । के के नै षोडसी सुन्दरी होलिन भनेको त, के को षोडसि हुन्थ्यो,पोडषी ( झण्डैझण्डै पचास ) पो रैछन् ! उहिले उहिले हाम्रा गुरुले पढाएको कथामा आउने 'शूर्पणखा' जस्ति ! मुखभरी विदेशबाट आयातित महंगो सौन्दर्य साधन 'बेसन' दलेर पो 'अच्छा' देखिएकी रैछन् । हा...हा...सिता हुन खोजेकि ! ...

त्यसपछि भिडियो क्लिपको बीच्चमा भएको सेतो त्रिकोणलाई बुढी ओंलाले थिचें । भिडियो चालु भयो । रातो पोतेको ओंठ भित्रका दन्तलहर पनि खुले । रिटायर्ड जर्नेलनिको जस्तो रातासेता थुतुनो बाट 'सोल्जर्स' हरुलाई 'अटेण्सन्' मा राख्दै पाठ पढाउँदै गरेको मज्जाले सुनें । सुन्दै गएँ,सुन्दै गएँ,नन्स्टप सुनें । एकातिर खुब मज्जा आयो । जर्नेलनिले तत्ततलाई जे भन्न पर्थ्यो,मज्जाले भनिन् । घत् लाग्यो । धोक्को फेरेर दोहोर्याएर सुनें । तर अर्कोतिर बाध्यताले पराई बन्न पुगेका नेपाली दाज्युभाइप्रति डाहले जलेर मर्न नसकेको झ्वाँक सुनेपछि उठ्नु रिस उठ्यो । 

शुर्पणखाले भनिन् - 'कान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।  ...यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु …. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र ?'

"...डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । ... तपाईंहरूको एउटा सोल्जर (सिपाही) को माथि दिमाग नउठेको देखेर म छक्क परें ।"

अब म भन्छु - सुन,कान खोलेर यता सुन शुर्पणखा ! तिमिहरुले नै होईन यो देशका युवाहरुलाई विदेश लखेट्न शुरु गरेको ? थाहा छ कसरि थाले युवा विदेश जान ? तिमि त फुच्चि थियौ तिम्रा बाऊ आमालाई एक पटक आज बेलुका गएर सोध्नु । के भएको थियो र बहुदल आएपछि आमा ? भनेर । म फेरी भन्छु अटेन्सन भएर सुन । 

 

०४६ सालपछि ०४८ सालमा काँग्रेसले पुर्ण बहुमतको सरकार बनायो । एमाले दोश्रो ठुलोदलको रुपमा स्थापित भयो । तेश्रो थियो- नौ सिट जितेको सजमो,नेपाल । राप्रपालाई त मान्छे नै भन्दैन्थ्यौ । ल, राप्रपालाई त भैगो,छोडिदिऊँ । पंचायतका बिरुद्ध सबैभन्दा बढी भिडेको सजमो नेपाल,सबैभन्दा बढी सरकारी पेलानमा परेको होईन ? त्यसैकारण यिनीहरुद्वारा ठाऊँ ठाऊँमा गिरिजा कसरि खेदिए,थाहा छ ?  सरकारी सेवासुबिधामा काँग्रेसको एकलौटी रजाईं थियो । बहुदल आएपछि सबैलाई गास बास कपास पाईन्छ भनेर हाम्फालेका युवा यस्तो सरकरी रबैया  देखेर निरास भए । जति योग्य र सक्षम भएपनि क्रमश: काँग्रेस एमाले नभए जागीर पाउनै नसक्ने भयो । त्यसपछि युवाहरु वैदेशिक अबसरका लागि हान्निएको कुरा बिर्सियौ ? 

 

दुई दलका बाहेक हजारौं युवाहरु विदेश लागे । सक्ने विकसित देशमा पुगे नसक्नेहरु भारतमा भएपनि पुगेर जीविकोपार्जन गरे । ति मध्ये जनमोर्चाका एक युवा अहिले लगभग तीन दशक पुग्न लाग्यो आफ्नो प्यारो देश छोडेको । उनलाई देश छोड्न बाध्य बनाईयो ।

उनको सबै योग्यता क्षमता थियो । एउटै क्षमता थिएन - काँग्रेसको प्रमाण पत्र । उनले सरकारी जागीरमा कहिल्यै कर्के नजरले पनि हेर्न पाएनन् । एनजिओ-सेनजिओमा पनि उनिहरुकै ढलिमलि थियो । व्यापार व्यवशाय गर्न पैसा थिएन । साथीभाइसंग खोजेर जोडजाम गरेर व्यापार व्यवशाय थाले । त्यो पनि राम्रो भएन । सावाँ व्याजले ऋण चुलियो । साथीभाइहरु साथीभाइ रहेनन् । छोराछोरी र श्रीमतिका अनुहारहरु कहिल्यै उज्यालो हुन सकेनन् । अन्तमा भगवानको कृपा मिलेझैं जसरी तसरी अनेक हण्डर खाँदै विदेश पुगे । कानुन सानुन सप्पै पढेकी रहिछौ,एक पटक ति युवाको इतिहास पनि पढ त ! अनि उफ्रौली ! 

 

यसैको परिणतिमा विदेशीले नेपालका पिडित दललाई पक्डेर देशमा आजसम्म उधुम मच्चाएको थाहा छैन ? '०५२ साल फागून १' तिमिहरु जस्ताको उपज हो कि होईन ? त्यसपछि फेरी युवाहरु लाखौंको तादातमा विदेशिएका होईनन् ? नेपाल आमाका बिचरा युवा युवतीलाई माओवादी पिडित बनाउँदै एमाले-काँग्रेसका कति लेटरप्याड् सक्यौ ? लगभग करोडको हाराहारीमा युवाई विदेश पठाउने तिमिहरु, अनि त्यसरी विदेशिएका युवाले कहिल्यै हाँसिखुशि जन्मभुमीको नागरिकता त्यागेका होलान ।

संबन्धित देशको कठोर कानुनमा जीउन सहज होला भनेर रुँदैरुँदै नागरिकता त्यागेका पो छन कि ! मनमा कतै 'हरि' छ ? तर उनीहरुले कदापी आमाको छातीमा लात मारेकै छैनन् । तिम्रो यस्तो अपमानित अभिव्यक्तिले यस्ता युवाको आत्ममा कति चोट् पुर्याए होला ? तिम्रै शाखा सन्तान कति छन विदेशमा हेक्का छ ? तिम्रो भनाईले त 'नेपालीले नेपाली हुँ नभन्' भन्न खोजेको देखियो । राजनीतिमा संभावना बोकेका मान्छेको अभिव्यक्ति यस्तै हो ? 

 

करोडौं भारतीयहरु विदेशमा छन् । अमेरिकाको चुनावमा त भारतीहरुले तलमाथी पार्ने हैसियत राख्छन् । लौ त, भारतमा यस्ता शूर्पणखा बनेर देखाउन त ! के हुन्छ भारतमा ! भारतीयहरुमा दोहोरो भारतीयहरुमा कति हार्दिकता, सदभाव र मायाँ छ । यहाँ नेपालमा भने आँफैले विदेशिन बाध्य पारेर परदेशिएको युवालाई खेदो खनेको छ,अपमान गरेको छ । अझ मन्त्री भएँ भन्नेले । अनि मन्त्री भएर होटलमा बस्ने भनेर सरकारी सम्पत्ति हसुरेर विदेशमा उही रेष्टुरेण्ट चलाउनेका कोठामा अटाई नअटाई घुस्रेर,खादा भीरेर डलर पचाउनेको त्यत्रो फूर्ती ! आफ्नो स्वार्थ पुरागर्न कसैको पाखुरा ताने जस्तो तिम्रो मात्रै देश होईन, बुझ्यौ ?  छी:छी:छी: !!!

images
प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - २०:१९:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend