अहिलेको एनआरएनएले विदेशमा रहेका नेपालीको सही प्रतिनिधित्व गर्दैन भन्दै अमेरिकामा रहेका केही वुद्धिजीविहरुले सार्बजनिक अपिल गरेका छन् ।
डाक्टर सुरेन्द्रराज देवकोटा र आमोद पोख्रेल लगायतका वुद्धिजीविहरुले यो अपिल गरेका हुन् ।
"एनआरएनएका नाममा केहीले गर्ने चटक, नैतिकताबिहिन र लाज लाग्ने गतिबिधीहरुले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएकोले, हाम्रो चासो र चिन्ता अभिब्यक्त गरेका हौं ।" उनीहरुद्वारा जारी अपिलमा भनिएको छ ।
उनीहरुमा अमेरिकाबाट सुरेन्द्र राज देवकोटा, पीएचडी, राजेन्द्र ब. राउत, रमेश पन्त, पीएचडी, सुमन पराजुली, पीएचडी, आमोद पोख्रेल, पीएचडी, घनश्याम भट्ट, पीएचडी, तरुण पौडेल र अष्ट्रेलीयाबाट महेश भण्डारी, पीएचडी रहेका छन् ।
उनीहरुद्वारा जारी अपिल यस्तो छ :
विगत कैयन वर्षदेखि गैर आवासिय नेपालीको वास्तविक प्रतिनिधित्वका वारेमा प्रश्न उठिरहेको पृष्ठभूमी र दुई दुई वर्षमा काठमाण्डौंमा हुने अधिवेशन/सम्मेलन/जमघट तथा त्यहाँबाट घोषणा गरिने सिण्डीकेटेड पदाधीकारी र बन्ने/बनाइने समितिले सन्सारभर छरीएका नेपाली आप्रवासीको प्रतिनिधित्व सही गर्दैनन ।
विश्वभरका देशहरुमा वर्षौंदेखि बिभिन्न इलम, अध्ययन, पेसा र ब्यवसायका शिलशिलामा रहेका लाखौं नेपालीको मातृभूमीप्रतिको माया, सद्भाव र सहयोगलाई दलीयकरण, ब्यापारीकरण र नगदीकरण गर्ने एनआरएनए भन्ने संगठन्, त्यसका मतियार र स्वघोषित नेतागणप्रति घोर आपत्ती जनाउदै उक्त संस्था प्रति नेपाल सरकार एवं थरिथरी राजनितिक दल, ब्यापारिहरुको स्वार्थी अभिष्टप्रति दुख प्रकट गर्दछौं ।
चाहे उत्तर अमेरिका, युरोप, अष्ट्रेलीया, मध्यपूर्व, अफ्रीका वा एसीयाली मुलुकमा रहेका नेपालीमूलका आप्रवासीहरु मध्य दुई प्रतिसतले पनि स्वेच्छाले सदस्यता नलिएको एनआरएनए को वास्तबिकता हो । यस्को सदस्य, उम्मेद्वार बन्ने/बनाउने, जित्ने/जिताउने, यावत कर्महरु अपारदर्शी मात्रै होइन कि निर्वाचनको प्रकृया नै खरिदबिक्री र लीलामी हुने गरेको सार्वजनिक भैरहन्छ । मुद्धा-मामीला, घिनलाग्दा गतिबिधिहरु निरन्तर चर्चाका विषय भैरहन्छन । यस संस्थाको प्रादुर्भाव नै अपारदर्शी र कतिपयको अबैध कर्मलाई बैधता दिलाउन भएको देखिदै आएको अहिले सरोकारवालाहरुलाई स्पष्ट हुँदैछ । त्यसकै चपेटामा गैरआवासीय नेपाली नागरिकता समेत परेको छ ।
एनआरएनएका नाममा केहीले गर्ने चटक, नैतिकताबिहिन र लाज लाग्ने गतिबिधीहरुले अधिकांश आप्रवासी नेपालीको प्रतिष्ठा र साखमा धक्का पुग्ने काम भएकोले, हाम्रो चासो र चिन्ता अभिब्यक्त गरेका हौं । विदेशमा नेपाली मूलका आप्रवासीका नाममा दलीय झण्डा, दलीय भाषा, दलीय भक्ती र ब्यक्ती विशेषहरुको साथै केही ब्यापारीको सेवा गर्ने, नेपालीहरु बिचमै फाटो र झगडा गराउने यस्तो एनआरएनए, यस्तो संरचना र खेलोमेलो आप्रवासी नेपालीको चाहना होइन । बिदेशमा रहेका नेपाली र नेपालका बिचको संबन्ध बारेमा जुन भाष्य निर्माण गर्न खोजिदै छ, साथै देश भित्र र बाहिरका नेपाली नेपाली बिचको भ्रातृत्व र भावनामा खेलबाड गर्ने र आपसमा बिभाजन गराउने किसिमका गतिबिधिहरुप्रति चनाखो रहन सबै नेपालीलाई आग्रह गर्दछौं । बलियो नेपाल, एकिकृत नेपाली, आप्रवासी नेपालीको परिष्कृत सहकार्य - हाम्रो आह्वान हो । धन्यवाद, अक्टोबर २०२३
तपशील :
सुरेन्द्र राज देवकोटा, पीएचडी, अमेरिका
राजेन्द्र ब. राउत, अमेरिका
रमेश पन्त, पीएचडी, अमेरिका
सुमन पराजुली, पीएचडी, अमेरिका
आमोद पोख्रेल, पीएचडी, अमेरिका
महेश भण्डारी, पीएचडी, अष्ट्रेलीया
घनश्याम भट्ट, पीएचडी, अमेरिका
तरुण पौडेल, अमेरिका