- सुदर्शन पौड्याल
समाजलाई कहिलेकाहीँ एउटै घटनाले पनि यति नराम्रोसँग झस्काउँछ कि हामी केही समयका लागि आफ्नै वरिपरि हेर्न थाल्छौँ । हालै बाराको जीतपुरसिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले नेपाली समाजलाई त्यसरी नै झस्काएको छ। खेल्ने, रमाउने र आमाबुबाको काखमा सुरक्षित हुर्किने उमेरकी एउटी बालिका यति क्रूर अपराधको सिकार बन्नुपरेपछि सडकदेखि संसदसम्म आक्रोश पोखियो। दोषीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठ्यो।
यसअघि सुर्खेतकी १६ वर्षीया इनिशा बि.क.को मृत्युको घटनाले पनि यस्तै पीडा, आक्रोश र न्यायको माग जन्माएको थियो। प्रहरी अनुसन्धानअनुसार उनी यौन हिंसाको सिकार भएकी थिइन् र घटनामा चार किशोर पक्राउ परेका थिए। पछि आएको डी.एन.ए. तथा सेरोलोजी परीक्षणले तीमध्ये तीन जनाको संलग्नता नदेखाएको र एकजना मुख्य अभियुक्तको संलग्नता देखाएको समाचार सार्वजनिक भयो। घटनाको अनुसन्धान र त्यसको प्रक्रियालाई लिएर परिवार तथा समाजमा प्रश्नहरू पनि उठे।
निर्मला पन्तको घटना सम्झने हो भने यो पीडा झन् पुरानो देखिन्छ। २०७५ सालमा १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको घटनाले देशव्यापी आक्रोश जन्माएको थियो। वर्षौँ बितिसक्दा पनि उक्त घटनाको अनुसन्धानले समाजलाई सन्तुष्ट पार्ने निष्कर्ष दिन सकेको छैन। यी सबै घटनाको प्रकृति, परिस्थिति र अपराधमा संलग्न व्यक्तिहरू एउटै थिए भनेर भन्न मिल्दैन। तर यिनले हामीलाई एउटा गम्भीर प्रश्न भने अवश्य सोध्छन्— हामीले सार्वजनिक रूपमा देखिरहेका यस्ता घटना नै हाम्रो समाजमा हुने यौन हिंसाको सम्पूर्ण तस्बिर हुन् त ? सायद होइन।
समुद्रमा तैरिरहेको हिमशिला हेर्दा त्यसको माथि देखिएको सानो भाग मात्र हाम्रो आँखामा पर्छ। पानीमुनि त्यसको कति ठूलो हिस्सा लुकेको हुन्छ भन्ने कुरा सतहबाट हेर्दा अनुमान गर्न पनि कठिन हुन्छ। हाम्रो समाजमा देखिएका यौन हिंसाका घटना पनि त्यस्तै हिमशिलाको शिखर मात्र हुन् कि? परिवारभित्र, नातागोताभित्र, चिनजानका मानिसबाट, विद्यालय वा समुदायको परिवेशमा हुने कतिपय घटना डर, लाज, सामाजिक प्रतिष्ठा वा पारिवारिक दबाबका कारण बाहिर आउँदैनन् भन्ने कुरा नकार्न सकिन्न।
यो प्रश्न असहज छ, तर प्रश्न असहज हुँदैमा त्यसबाट भाग्न मिल्दैन। यौन हिंसाका घटना सार्वजनिक भएपछि हामी प्रायः अपराधी खोज्छौँ, पक्राउको समाचार पढ्छौँ, कठोर सजायको माग गर्छौँ र केही समयपछि अर्को समाचारतर्फ लाग्छौँ। अपराधीले सजाय पाउनुपर्छ— यसमा कुनै द्विविधा छैन। पीडितले न्याय पाउनुपर्छ— यो पनि उत्तिकै स्पष्ट कुरा हो। तर यति मात्र गरेर हाम्रो दायित्व पूरा हुन्छ त ?
अपराध भइसकेपछि न्याय खोज्नु आवश्यक छ, तर अपराध हुनुअघि त्यसलाई रोक्न हामीले के गरिरहेका छौँ भन्ने प्रश्न झन् ठूलो हो ।हाम्रो सामाजिक संरचना हेर्दा यस्ता घटनाका धेरै तह देखिन्छन्। यौन हिंसामा पीडक सधैँ अपरिचित व्यक्ति नै हुन्छ भन्ने हाम्रो एउटा पुरानो धारणा छ। तर धेरैजसो घटना चिनेजानेका, आफन्त, नातेदार वा विश्वास गरिएका मानिससँग जोडिएका हुन्छन्। यस्तो अवस्थामा घटना बाहिर ल्याउनु पीडितका लागि मात्र होइन, परिवारका लागि पनि ठूलो सामाजिक चुनौती बन्न पुग्छ। त्यसपछि सुरु हुन्छ— इज्जतको हिसाबकिताब।
समाजले के भन्ला ? आफन्तले के सोच्लान्? छोरीको भविष्य के होला ? विवाह कसरी होला ? परिवारको प्रतिष्ठामा के असर पर्ला ?
यही ‘इज्जत जोगाउने नाममा कतिपय अवस्थामा पीडितलाई नै चुप लगाइन्छ। अझ दुःखद कुरा त, बलात्कार वा यौन दुर्व्यवहार गर्ने व्यक्तिसँगै पीडितको विवाह गरिदिने जस्ता अमानवीय उपायलाई समेत हाम्रो समाजमा समाधानका रूपमा स्वीकार गरिन्छ। कतिपय अवस्थामा प्रहरीकै रोहवरमा समेत मेलमिलापका नाममा यस्तो जघन्य कृत्य भएको देखिन्छ। अपराधीलाई दण्ड दिनुपर्ने ठाउँमा पीडितलाई नै अपराधीको जीवनसाथी बनाइदिएपछि परिवारको इज्जत जोगिन्छ भन्ने सोच कति विकृत होला! अनि त्यसलाई सदर गर्ने समाज र कानुनका रक्षक भनाउँदाहरू! यथार्थ कहालीलाग्दो छ।
तर समाजको मानसिकता त्यतिमै रोकिँदैन।
कतिपय अवस्थामा पीडितलाई नै प्रश्न गरिन्छ— त्यहाँ किन गएकी? त्योसँग किन कुरा गरेकी? मोबाइलमा किन कुरा गरेकी? त्यस्तो कपडा किन लगाएकी? राति किन बाहिर निस्केकी? एक्लै किन हिँडेकी? उसको व्यवहार नै त्यस्तो थियो कि !
यस्ता प्रश्नहरू सुन्दा लाग्छ, अपराध गर्ने व्यक्तिको हातभन्दा पहिले पीडितको चरित्र जाँच्ने सामाजिक अदालत हाम्रो समाजमा अझै निकै बलियो छ।
बलात्कार वा यौन दुर्व्यवहार कसैको कपडा, हिँडाइ, बोली, प्रेम सम्बन्ध, मोबाइल प्रयोग वा सामाजिक व्यवहारको परिणाम होइन। कुनै व्यक्तिको इन्कारलाई नमान्नु, उसको असहमतिको बेवास्ता गर्नु, डर, धम्की, दबाब वा छल प्रयोग गर्नु— यी सबै सीमा उल्लङ्घन हुन्। नाबालिगको हकमा त यो विषय अझ संवेदनशील हुन्छ। एउटा बच्चाले कुनै व्यवहार गरेको, कसैलाई मन पराएको, कसैसँग कुरा गरेको वा डिजिटल माध्यम प्रयोग गरेको कारण उसमाथि यौन हिंसा गर्ने अधिकार कसैलाई प्राप्त हुँदैन।
तर हामीले पुस्तौँदेखि नारीको चरित्रको एउटा छुट्टै मापदण्ड निर्माण गरेका छौँ। कहाँ जाने? कोसँग बोल्ने? कसरी हिँड्ने? कस्तो कपडा लगाउने? कति रातिसम्म बाहिर बस्ने? सामाजिक सञ्जालमा के राख्ने? कसलाई साथी बनाउने? यी प्रश्नमा आजको कथित शिक्षित समाज र परिवारमा समेत नारीका लागि एउटा छुट्टै आचारसंहिता बनाइएको छ।
अझ विडम्बना के छ भने, आफूलाई आधुनिक र नारीमैत्री ठान्नेहरू पनि आफ्नै घरकी छोरी, बुहारी वा पत्नीको हकमा पुग्दा यही पुरानो नैतिक प्रहरीको भूमिका निर्वाह गर्न थाल्छन्। समाजमा नारी स्वतन्त्र हुनुपर्छ भन्ने भाषण दिने व्यक्ति (महिला वा पुरुष दुवै) आफ्नै घरमा छोरी, बहिनी वा पत्नीमाथि ‘त्यो नगर’, ‘त्यहाँ नजाऊ’, ‘त्योसँग नबोल’, ‘यस्तो फोटो नराख’ भन्दै नियन्त्रण गर्नुलाई आफ्नो अधिकार र कर्तव्य ठान्छ। तर त्यही व्यक्तिले (आमा, फूपू, दिदीजस्ता महिलाले समेत) घरका कनिष्ठ पुरुष सदस्यहरूलाई महिलाप्रति सामाजिक आदर र समभावको दृष्टि राख्न उत्प्रेरित गर्ने कुरामा भने एक शब्द पनि खर्चेको देखिँदैन। बरु हामीले मौका-प्रसङ्गमा “मर्दका सय वटी”, “आइमाईको भर हुँदैन”, “अर्काको घर जाने जात” जस्ता लिङ्गभेदी भनाइहरूको आड लिँदै जानी-नजानी आफ्ना वरिपरिका कलिला दिमागहरूमा नारीद्वेषी भावनाको बीजारोपण गरिरहेकै छौँ।
हाम्रो सामाजिक संस्कारमा नारीप्रतिको दृष्टिकोण पनि निकै विरोधाभासपूर्ण छ। एकातिर भनिन्छ— ‘नारी आदिशक्ति हुन्’, ‘नारी दुर्गा हुन्, लक्ष्मी हुन्, सरस्वती हुन्’, ‘नारी ममतामयी जननी हुन्’, ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्।’ अर्कातिर यही महानताको चारो थापेर नारीलाई पुरुषभन्दा पृथक, कमजोर, पवित्र र नियन्त्रणयोग्य प्राणीका रूपमा प्रस्तुत गरिन्छ।
नारीलाई देवी बनाउनु र नारीलाई समान मानिसका रूपमा स्वीकार गर्नु एउटै कुरा होइन। किनभने देवीलाई पूजा गर्न सकिन्छ, तर उसको निर्णयमाथि प्रश्न गर्न पाइँदैन। देवीलाई उच्च आसनमा राख्न सकिन्छ, तर उसको आफ्नै इच्छा, आकाङ्क्षा र स्वतन्त्रता स्वीकार गर्न आवश्यक ठानिँदैन। जननीका रूपमा सम्मान गर्न सकिन्छ, तर उनको व्यक्तित्व, करिअर, चाहना र शरीरमाथिको अधिकारबारे कुरा गर्न असहज मानिन्छ।
यसरी नारीलाई ‘विशेष’ बनाउँदै जाँदा हामीले अनजानमै उनलाई ‘समान’ मानिसका रूपमा हेर्न बिर्सिरहेका त छैनौँ?
अर्कातिर समाजमा सामाजिक विकासवादको दुहाई दिँदै आफ्नो सङ्कीर्ण सोचलाई विज्ञानसम्मत मान्नेहरूको अर्को आवाज पनि उत्तिकै चर्को छ— नारी र पुरुष प्राकृतिक रूपमै भिन्न हुन्, बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी नारीलाई प्रकृतिले नै तोकेको हो, त्यसैले सामाजिक भूमिकामा बराबरी खोज्नु प्रकृतिविरुद्ध जानु हो।
निश्चय नै नारी र पुरुषबिच जैविक भिन्नता छन्। बच्चा जन्माउने क्षमता पुरुष र नारीमा समान छैन। तर जैविक भिन्नता र सामाजिक अधिकार एउटै कुरा होइनन्। प्रकृतिले शरीरका केही काममा भिन्नता दिएको भन्दै समाजमा कसले पढ्ने, कसले कमाउने, कसले निर्णय गर्ने, कसले घरबाहिर जाने र कसले कसको शरीरमाथि अधिकार राख्ने भन्ने नियम पनि प्रकृतिले नै बनाएको निष्कर्षमा पुग्नु कति उचित होला ?
मानव सभ्यताको प्रारम्भिक जीवन Hunter-gatherer (शिकारी र सङ्ग्रहकर्ता) थियो भन्दै आजका सबै सामाजिक भूमिका त्यही समयदेखि प्रकृतिले निर्धारण गरेको तर्क गरिन्छ। तर हामीले त्यही आदिम पुर्खाहरूको जीवनका अरू कति पक्ष आज हुबहु अनुसरण गरेका छौँ त? उनीहरूको बसोबास, उपचार, शिक्षा, सञ्चार, यातायात र जीवनयापनको अधिकांश तरिका हामीले परिवर्तन गरिसकेका छैनौँ र ? त्यसैले हजारौँ वर्षअघिको जीवनशैलीलाई आधार बनाएर आजको समाजमा पुरुष र नारीको भूमिका तथा अधिकारको सीमा निर्धारण गर्नु आफैँमा विचार गर्नुपर्ने विषय होइन र ?
अब फेरि यौन हिंसाका ती घटनातर्फ फर्कौँ। गरिमा चौधरीको घटनापछि दोषीलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठेको छ। यस्तो जघन्य घटनापछि मानिसको मनमा आक्रोश उत्पन्न हुनु अस्वाभाविक होइन। एउटी तीन वर्षीया बालिकामाथि भएको अपराध सम्झँदा कठोरभन्दा कठोर सजायको माग उठ्नु भावनात्मक रूपमा बुझ्न सकिने कुरा हो। तर केही क्षणका लागि त्यो आवेगलाई एकातिर राखेर ठण्डा दिमागले सोचौँ— मृत्युदण्ड के वास्तवमै यस्ता घटनाको सही समाधान हो ?
नेपालको संविधानले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको छ। त्यसैले मृत्युदण्डको बहस केवल सजायको बहस होइन; यो संविधान, मानवअधिकार र राज्यले प्रयोग गर्ने दण्डको सीमासँग जोडिएको प्रश्न पनि हो ।मृत्युदण्ड राख्ने कि नराख्ने भन्ने बहस आफ्नो ठाउँमा चलिरहला, तर मूल प्रश्न अर्को छ— हामीले मृत्युदण्डको कानुन बनायौँ भने के यौन हिंसा रोकिन्छ? अपराधीलाई अझ कठोर सजायको व्यवस्था गर्यौँ भने के बालबालिका सुरक्षित हुन्छन् ?
कानुन कठोर हुनु आवश्यक हुन सक्छ। तर कानुन कागजमा जति कठोर भए पनि अनुसन्धान कमजोर छ, प्रमाण सुरक्षित हुँदैन, पीडितले न्याय पाउँदैन, मुद्दा वर्षौँसम्म अल्झिन्छ र अपराधीलाई आफू पक्राउ पर्ने वा दोषी ठहर हुने डर नै छैन भने कानुनको कठोरताले मात्र समाज सुरक्षित बनाउन सक्दैन।निर्मला पन्तको घटनाले हामीलाई यही पाठ सिकाउँछ। घटना भएको वर्षौँ बितिसक्दा पनि अनुसन्धान र न्यायका प्रश्नहरू बाँकी नै छन्। गरिमा प्रकरणले फेरि तिनै प्रश्नहरू हाम्रो अगाडि ल्याइदिएको छ।
त्यसैले यौन हिंसा र बलात्कारलाई केवल ‘अपराधीलाई के सजाय दिने?’ भन्ने प्रश्नबाट मात्र हेर्नु पर्याप्त हुँदैन। यो सामाजिक समस्या हो। र सामाजिक समस्याको दिगो समाधान घटना घटिसकेपछि मात्र खोजेर पुग्दैन। विशेष गरी नाबालिग पीडित र नाबालिग पीडक संलग्न भएका घटनालाई ‘कच्चा उमेरका केटाले गल्ती गरे’ भनेर मात्र बुझ्नु निकै अपुरो हुन्छ। किशोरावस्थामा यौन जिज्ञासा, आकर्षण र भावनात्मक उतारचढाव स्वाभाविक हुन्। समस्या इच्छा हुनुमा मात्र होइन; समस्या इच्छा, सहमति, अधिकार, सीमा र जिम्मेवारीबिचको सम्बन्ध नबुझ्नुमा छ।
‘मन पराउनु’ भनेको यौन सम्बन्धका लागि अनुमति होइन। एकपटक दिएको सहमति सधैँका लागि सहमति होइन। मौनता पनि सहमति होइन। डर, धम्की, भावनात्मक दबाब वा ब्ल्याकमेलको आधारमा भएको सहमतिलाई सहमति मान्न सकिँदैन। “नाइँ” सुन्ने क्षमता नहुनु प्रेम होइन। “मेरो नभए अरूको पनि हुन दिन्नँ” भन्नु त झनै प्रेम होइन। अझ प्रतिशोध र प्रेमको सम्बन्ध त आगो र पानीभन्दा पनि विपरीत छ।
यी कुरा सुन्दा सामान्य लाग्छन्। तर यी “सामान्य” कुरा किशोरकिशोरीलाई हामीले कति स्पष्ट रूपमा सिकाएका छौँ? कक्षाकोठामा, खेलमैदानमा, पाठ्यपुस्तकमा, सिनेमा वा टेलिभिजनको पर्दामा वा रात्रिको भोजन टेबलमा यसबारे कति चर्चा भएको छ ?
इन्टरनेटले समस्या अझ जटिल बनाएको छ। आजको किशोरले यौनसम्बन्धी सामग्री हेर्न कुनै पुस्तकालय जानुपर्दैन, मोबाइल खोले पुग्छ। सामाजिक सञ्जाल, Private messaging, Disappearing messages, Pornography, Sexualised content, Online grooming, Sexting, Intimate image sharing र Blackmail जस्ता जोखिम उनीहरूको दैनिक डिजिटल संसारमै प्रवेश गरिसकेका छन्।
हाम्रो अभिभावक पुस्ताले किशोरावस्थामा देखेको संसार र आजका किशोरले देखिरहेको संसार बिल्कुल एउटै छैन। तर हामीले उनीहरूलाई त्यही पुरानो तरिकाले हुर्काउन खोजिरहेका छौँ। हामीमध्ये धेरै परिवारमा यौन विषयमा कुरा गर्नै हुँदैन भन्ने संस्कार छ। बच्चाले शरीरमा भइरहेको परिवर्तनका बारेमा सोध्यो भने हामी असहज हुन्छौँ। प्रेम, आकर्षण, यौनिकता, Pornography, हस्तमैथुन, Sexual pressure जस्ता विषयमा कुरा गर्नुभन्दा ‘यस्ता कुरा नगर’ भनेर टारिदिन्छौँ।
त्यसपछि बच्चाले उत्तर कहाँ खोज्छ ?
साथीसँग— जो आफैँ यी मामलामा दिग्भ्रमित छ। सामाजिक सञ्जालमा— जहाँ Misinformation र Disinformation को बाढी छ । वा पोर्नोग्राफीमा। हामीले बच्चालाई जानकारी नदिँदै संसारले उसलाई जानकारी दिइरहेको हुन्छ।
‘मोबाइल नचलाऊ’, ‘यस्ता कुरा नगर’, ‘पोर्न नहेर’ भनेर मात्र पुग्छ त? यौनका बारेमा कुरा गर्न यदि हामी शिक्षक र अभिभावक आफैँ सहज छैनौँ भने किशोरकिशोरीहरूलाई के सिकाउने? कसरी सिकाउने? यौनका बारेमा खुलेर कुरा गर्नका लागि मार्ग प्रशस्त गर्नुको सट्टा यो विषय नै वर्जित गरेर यौनसम्बन्धी उनीहरूको उमेरसुलभ जिज्ञासा र उत्सुकताको समाधानका लागि हामी आफैँले पो अश्लील सामग्री (पोर्नोग्राफी) हरूतर्फ धकेलीरहेका छौँ कि ? त्यसैले घरमा यौन विषयमा कुरा गर्नु अश्लीलता होइन। उमेरअनुसार, तथ्यमा आधारित र मर्यादित संवाद गर्नु जिम्मेवार अभिभावकत्व हो। बच्चाले प्रश्न गर्दा गाली गर्ने, लाज मान्ने वा विषय परिवर्तन गर्ने होइन, सही उत्तर दिने संस्कार आवश्यक छ। त्योभन्दा पनि महत्वपूर्ण कुरा बच्चाले निर्धक्क भएर यी कुराहरू सोध्न सक्ने वातावरण निर्माण गर्नु असल अभिभावक र शिक्षकको दायित्व हो।
पोर्नोग्राफी यौन शिक्षा होइन। त्यसमा देखाइने प्रभुत्व, आक्रामकता, महिलाको वस्तुकरण र अवास्तविक यौन व्यवहारलाई किशोरले वास्तविक सम्बन्धको नमुना ठान्ने जोखिम हुन्छ। तर पोर्न हेर्नु मात्र बलात्कारको कारण हो भन्नु पनि गलत हुन्छ। यो अन्य जोखिम कारकसँग जोडिन सक्ने एउटा प्रभाव भने अवश्य हो।
यसमा साथीहरूको दबाब (Peer pressure) पनि कम महत्वपूर्ण छैन।
‘तँ त पुरुष होइनस् ?’
‘गर्लफ्रेन्ड छ कि छैन ?’
‘ल प्रमाण देखाऊ।
किशोरावस्थामा साथीको मान्यता (Validation) निकै महत्वपूर्ण हुन्छ। समूहमा बहादुरी देखाउने, चुनौती स्वीकार गर्ने, अरूको उक्साहटमा जोखिमपूर्ण व्यवहार गर्ने जस्ता प्रवृत्तिले अपरिपक्व किशोरलाई आफूले सामान्य अवस्थामा नगर्ने व्यवहारतर्फ धकेल्न सक्छ। त्यसमाथि मदिरा वा लागूपदार्थ आदिले निर्णय क्षमता र आत्मनियन्त्रणलाई कमजोर बनाउन सक्छ। तर नशा अपराधको बहाना होइन, जिम्मेवारीबाट उम्किने बाटो पनि होइन।
‘कच्चा उमेर’ किन महत्वपूर्ण छ भन्ने कुरा पनि यहीँबाट बुझ्न सकिन्छ। किशोर मस्तिष्क अझै विकासकै क्रममा हुन्छ। आवेग नियन्त्रण, जोखिमको मूल्याङ्कन र दीर्घकालीन परिणाम बुझ्ने क्षमता वयस्कको जस्तो पूर्ण विकसित भइसकेको हुँदैन। त्यसैले किशोरले कुनै निर्णयको परिणाम वयस्कले जति गहिराइमा नबुझ्न सक्छ।
तर यसको अर्थ ‘किशोर भएकाले उसलाई थाहा थिएन’ भनेर यौन हिंसालाई सामान्य बनाउनु होइन। बरु यसको अर्थ हो— किशोरलाई समयमै सहमति, सीमाना, सम्मान, आत्मनियन्त्रण र डिजिटल व्यवहारबारे सिकाउने हाम्रो जिम्मेवारी अझ ठूलो छ।
पीडित नाबालिग भए उसलाई सुरक्षा र न्याय चाहिन्छ। पीडक पनि नाबालिग भएको अवस्थामा कानुनी जवाफदेहितासँगै उसको व्यवहारको कारण, मनोसामाजिक अवस्था र सुधारको सम्भावनालाई पनि हेर्नुपर्ने हुन्छ।
‘ऊ बच्चा हो’ भनेर जिम्मेवारीबाट मुक्त गर्नु गलत हो, तर ‘ऊ अपराधी हो’ भनेर उसको भविष्यका सबै ढोका बन्द गरिदिनु पनि समाधान होइन, बरु अर्को समस्याको सुरुवात हो।
यौन हिंसाको गहिरो कारण खोज्दा अन्ततः हामी आफ्नै घरको ढोकासम्म पुग्नुपर्ने हुन्छ।
त्यसैगरी ‘पुरुषले पहल गर्नुपर्छ’, ‘केटीले सुरुमा हुँदैन भन्छे तर पछि मानिहाल्छे’, ‘पुरुषको यौन इच्छा नियन्त्रण गर्न गाह्रो हुन्छ’ जस्ता पुराना मान्यतामाथि पनि प्रश्न गर्नुपर्ने समय आएको छ।
स्वस्थ शिक्षा भनेको किशोरलाई यति सरल कुरा सिकाउनु हो— तिमीलाई कसैप्रति आकर्षण हुन सक्छ, तिमी कसैलाई मन पराउन सक्छौ, तर अर्को व्यक्तिको शरीरमाथि अधिकार तिमीलाई छैन। अर्को व्यक्तिको इच्छा र निर्णयको सम्मान गर्नुपर्छ।
विद्यालयको भूमिका पनि यहीँबाट सुरु हुन्छ। जीवविज्ञान (Biology) को पाठमा Reproductive system पढाएर मात्र यौन शिक्षा पूरा हुँदैन। विद्यार्थीलाई स्वीकृति (Consent) भनेको के हो ? Consent कहिले हुँदैन? “नाइँ” को अर्थ के हो ? मौनता किन स्वीकृति होइन? भावनात्मक दबाबमा दिइने स्वीकृति किन वास्तविक स्वीकृति होइन ? अन्तरङ्ग (Intimate) तस्बिरहरू शेयर गर्दा के जोखिम हुन्छ? Pornography र वास्तविक सम्बन्धबिच के फरक छ? Online grooming के हो? यौनजन्य दुर्व्यवहार (Sexual harassment) के हो ? समस्या पर्दा कहाँ र कसरी सहायता माग्ने ? यी विषयहरू पनि सिकाउनुपर्छ— एकपटकको प्रवचन (Lecture) ले होइन, उमेरअनुसार क्रमशः विकसित हुँदै जाने शिक्षाका रूपमा।
अर्को असहज तर महत्वपूर्ण पक्ष पनि छ— यौन हिंसा गर्ने किशोरमध्ये कतिपय आफैँ पहिले दुर्व्यवहार वा हिंसाको सिकार भएका हुन सक्छन्। कतिपय घरमा हिंसा देखेर हुर्किएका हुन सक्छन्। कतिपय गम्भीर व्यवहारसम्बन्धी चुनौतीहरू वा आफ्नै मानसिक आघात (Trauma) बोकेर हुर्किरहेका हुन सक्छन्।
तर यसको अर्थ अपराधलाई उचित ठहर गर्नु होइन। वास्तवमा यसले केवल अर्को प्रश्न सोध्छ— अपराधी बन्नुअघि ती बालबालिकालाई हामीले देखेका थियौँ कि थिएनौँ ?
यौन हिंसा रोक्न हामीले अपराध भएपछि मात्र पीडक खोज्ने होइन, जोखिममा रहेका बालबालिकालाई पनि पहिले नै पहिचान गर्न सक्नुपर्छ। त्यसैले समाधान केवल ‘कानुन कडा बनाऊ’ भन्ने नारामा सीमित छैन। हो, कानुन आवश्यक छ, जवाफदेहिता निःसन्देह जरुरी छ; तर त्यससँगै घर, विद्यालय, डिजिटल संसार, समुदाय र राज्यका प्रणालीहरूमा सुधार पनि अपरिहार्य छ।
अभिभावकले किशोरकिशोरीसँग नियमित संवाद गर्नुपर्छ। ‘तिमीलाई कोही मन पर्न सक्छ, यो स्वाभाविक हो; तर उसको शरीर र निर्णय उसको आफ्नै हो’ भन्ने कुरा बच्चाले घरमै सुन्न पाउनुपर्छ। विद्यालयमा उमेरअनुकूल सम्बन्ध तथा यौन शिक्षा प्रदान गरिनुपर्छ। विशेष गरी सहमति (Consent) तथा डिजिटल माध्यममा हुने यौन व्यवहारसम्बन्धी विषयहरूलाई स्पष्ट, व्यावहारिक र उमेरअनुकूल ढङ्गले सिकाउनुपर्छ।
डिजिटल क्षेत्रमा अभिभावक र विद्यालयले केवल ‘पोर्न नहेर’ भनेर पुग्दैन। इन्टरनेटमा देखाइएको यौन व्यवहार वास्तविक स्वस्थ सम्बन्धको नमुना होइन र किन होइन भन्ने कुरा बुझाउनुपर्छ। समुदायले पनि पीडितलाई बदनाम गर्ने, परिवारलाई दोष दिने र घटना लुकाउने संस्कारबाट बाहिर निस्कनुपर्छ।
‘इज्जत बचाउन घटना लुकाउने’ होइन, ‘बच्चाको सुरक्षा’ हाम्रो प्राथमिकता बन्नुपर्छ।
राज्यले पनि नाबालिग संलग्न घटनामा तीनवटा कुरा सँगसँगै अगाडि बढाउनुपर्छ— पीडितको सुरक्षा, न्यायिक जवाफदेहिता र पीडक किशोरको सुधार तथा पुनर्स्थापना।
तर यहाँ एउटा अर्को कुरा पनि छ, जुन हामीले बिर्सनु हुँदैन। यौन हिंसाका सबै घटनाको कारण एउटै हुँदैन। गरिमा चौधरीको घटना र इनिशा बिकको घटना एउटै सामाजिक परिस्थितिको परिणाम हुन् भनेर भन्न मिल्दैन। निर्मला पन्तको घटना र अन्य घटनाका सन्दर्भ पनि फरक छन्। त्यसैले प्रत्येक घटनाको अनुसन्धान प्रमाणका आधारमा हुनुपर्छ। कुनै एउटा घटनाबाट सम्पूर्ण समाज वा कुनै एउटा समूहबारे निष्कर्ष निकाल्नु पनि उचित हुँदैन।
तर यी फरक घटनाले हामीलाई साझा सामाजिक प्रश्नहरू भने सोध्न सक्छन्— बालबालिका कति सुरक्षित छन्? उनीहरूले आफ्नो शरीर र सीमाबारे कति जानेका छन्? अभिभावकसँग आफ्ना समस्या भन्न सक्ने वातावरण छ? विद्यालयले उनीहरूलाई पर्याप्त जानकारी दिएको छ? डिजिटल संसारमा उनीहरू के सामना गरिरहेका छन् भन्ने अभिभावकलाई थाहा छ? पीडितले घटना सुनाउँदा परिवारले उसको कुरा पत्याउँछ? …र सबैभन्दा महत्वपूर्ण— घटना हुनुअघि जोखिम पहिचान गर्ने हाम्रो संयन्त्र कति बलियो छ?
सायद यिनै प्रश्नको उत्तर खोज्नुपर्ने बेला आएको छ।
किनभने अपराध भइसकेपछि अपराधी खोज्नु राज्यको जिम्मेवारी हो, तर अपराध हुन नदिने वातावरण निर्माण गर्नु परिवार, विद्यालय, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो।
यौन हिंसा कुनै एउटा परिवारको समस्या होइन। यो कुनै एउटा पीडितको समस्या होइन। यो कुनै एउटा समुदायको समस्या पनि होइन। यो सम्पूर्ण समाजको ऐना हो, र ऐनामा अनुहार नराम्रो देखिएपछि ऐना फुटाएर समस्या समाधान हुँदैन।
हामीले आफ्नो अनुहार हेर्नुपर्छ, आफ्नो सोच हेर्नुपर्छ, आफ्नो संस्कार फेर्नुपर्छ, हरेक घरभित्रको व्यवहार बदल्नुपर्छ।
छोरीलाई ‘सावधान भएर हिँड’ भनेर मात्र सिकाउने कि छोरालाई ‘अरूको सीमा र इच्छाको सम्मान गर’ भनेर पनि सिकाउने? छोरीलाई ‘कपडा मिलाएर लगाऊ’ भनेर मात्र भन्ने कि छोरालाई ‘कसैको कपडाले तिमीलाई उसको शरीरमाथि अधिकार दिँदैन’ भनेर पनि बुझाउने? छोरीलाई ‘राति बाहिर नजाऊ भनेर मात्र भन्ने कि छोरालाई ‘कसैको कमजोर अवस्था तिम्रो अवसर होइन’ भनेर पनि सिकाउने?
यी यस्ता यक्ष प्रश्नहरू हुन्, जसको जवाफ हामीले घरभित्रबाटै नखोजेसम्म सडकमा जति नै नारा लगाए पनि समस्या पूर्ण रूपमा समाधान हुँदैन। अन्ततः नाबालिग पीडितको चरित्र, उसको प्रेम सम्बन्ध, मोबाइल प्रयोग, कपडा, घरबाट बाहिर निस्किएको समय वा उसले कसैसँग गरेको कुराकानी उसको विरुद्ध भएको यौन हिंसाको औचित्य बन्न सक्दैन।
त्यसैगरी नाबालिग पीडकलाई केवल ‘खराब बच्चा’ भनेर समाजबाट अलग्याउनु पनि पर्याप्त समाधान होइन। उसले गरेको कामको जवाफदेहिता हुनुपर्छ, तर त्यससँगै उसलाई त्यस्तो अवस्थामा पुर्याउने कारण पहिचान गरेर सुधारको बाटो पनि खोजिनुपर्छ। हामीले अपराधी खोजेर सजाय दिने समाज चाहन्छौँ कि अपराध हुनै नदिने समाजको निर्माण हाम्रो अभिष्ट हो?
किनभने आज हामीले देखेको घटना हिमशिलाको शिखर मात्र हुन सक्छ। पानीमुनि लुकेको ठूलो हिस्सा हामीले अझै देखेका छैनौँ।
प्रश्नै प्रश्नको चाङमा अर्को प्रश्न— हिमशिलाको शिखर नै यति कहालीलाग्दो छ भने पूर्ण हिमशिला अझै कत्रो होला?
अझ महत्वपूर्ण प्रश्न—
त्यसलाई पगाल्न हामीले कहिलेदेखि ताप दिन सुरु गर्ने?
(लेखक हाल संयुक्त अधिराज्यमा अध्यापनरत छन्।)