वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
पाल्पा, २५ असोज ।
युवा स्रष्टा वसन्त खनालको पहिलो निर्बन्ध-आख्यान कृति "वेध" को लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" वालिङमा भव्य रूपमा सम्पन्न भएको छ।
'वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जा'को आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन तथा वालिङ नगरपालिकाको सहयोगमा वालिङ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा उक्त कार्यक्रम आयोजना गरिएको हो। सूर्यप्रसाद खनालको अध्यक्षता तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। लोकार्पण कार्यक्रममा पुस्तक तथा लेखक वसन्त खनालको व्यक्तित्व र लेखनदासमाथि समीक्षा गर्दै समीक्षकद्वय डा. शङ्करप्रसाद गैरे र शान्ता थापाले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा स्रष्टा वसन्त खनालले आफ्नो निर्बन्धीय मन्तव्य राख्नुभएको थियो भने वालिङ नगरपालिका वडा नं. १४ का अध्यक्ष बोधराज कुँवर "राजु", सम्मानित शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मी, डा. टङ्क पन्थ र सह-प्राध्यापक कृष्णप्रसाद पौडेलले शुभकामना व्यक्त गर्नुभएको थियो।
विभिन्न स्रष्टा तथा व्यक्तित्वहरू सम्मानित
समारोहका अवसरमा प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपाने, सह-प्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र डा. पुण्यप्रसाद शर्मा, शैक्षिक व्यक्तित्व लक्ष्मीप्रसाद रेग्मी, वक्ताद्वय डा. शङ्करप्रसाद गैरे र शान्ता थापा तथा डा. टङ्कप्रसाद पन्थलाई सम्मान गरिएको थियो।त्यसैगरी, स्याङ्जाका अग्रज स्रष्टाहरू देवीप्रसाद वनवासी, देवेन्द्र लम्साल, लेखनाथ काफ्ले र चक्रबहादुर पराजुलीका साथै स्थानीय साहित्यिक संस्थाका नेतृत्वकर्ताहरू चण्डिकाप्रसाद भट्टराई, अनन्त अर्याल, हिमालयजंग बानियाँ, श्यामप्रसाद ढुंगाना, रिमबाबू राना, लक्ष्मी काफ्ले, युवा स्रष्टा शम्भु अर्याल र गुरुङ चलचित्रकर्मी ताराबहादुर गुरुङलाई पनि सम्मान प्रदान गरिएको थियो।
कृति र स्रष्टा परिचय
वालिङ-१४, गाएडाँडामा २०४६ साउन ३० गते जन्मिनुभएका युवा स्रष्टा वसन्त खनाल हाल राजेन्द्र-भवानी माध्यमिक विद्यालय (भीरकोट-५, स्वरेकमैदान) मा अध्यापनरत हुनुहुन्छ। पृथ्वीनारायण क्याम्पस, पोखराबाट स्नातकोत्तर (M.A.) गर्नुभएका खनाल 'वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान'का संस्थापक अभियन्ता हुनुहुन्छ।साकिरा प्रतिष्ठानद्वारा प्रकाशित तथा निर्बन्ध-आख्यान/काव्यका प्रणेता मिलन समीरद्वारा सम्पादित "वेध" खनालको पहिलो कृति हो। यस कृतिमा २६ वटा समसामयिक निर्बन्ध-आख्यानहरू सङ्ग्रहित छन्।
सिर्जना उत्सव र साङ्गीतिक माहोल
सागर खनालको स्वागत मन्तव्य र ताराबहादुर गुरुङको स्वागत नृत्यबाट सुरु भएको कार्यक्रमको संयोजन साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो।समारोहको दोस्रो सत्र "वेध सिर्जना उत्सव- २०८३" मा विभिन्न स्रष्टाहरू— सिजन अर्याल, सिर्जना खनाल, दिलीप तिवारी, डोलराज डुम्रे विकल्प, लक्ष्मी काफ्ले, विष्णु पङ्गेनी पाण्डे, लीलाम्बर ढुंगाना, रिमबाबू राना, प्रेमबन्धु सुवेदी, गुरु ढकाल, शान्ता बास्तोला र टुकादेवी आचार्य लगायतले आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गर्नुभएको थियो।