Logo

मंगलवार, आश्विन २० गते २०८३   |   2026 October 06

images

images

पाल्पामा साहित्यकार आर.बी. निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

पाल्पामा साहित्यकार आर.बी. निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८३
images
पाल्पामा साहित्यकार आर.बी. निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन

     पाल्पा, असौज १८ — साहित्यकार आर.बी. निश्चलको सातौँ काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ पाल्पामा विमोचन गरिएको छ। तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसको नेपाली विभागद्वारा आयोजित एक समारोहबिच आइतबार उक्त कविता संग्रहको विमोचन गरिएको हो। ​कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थ, तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, नेपाली विभाग प्रमुख उपप्राध्यापक महेन्द्र पन्थी, समीक्षकद्वय प्रेम खराल र प्रतिभा पौडेल, स्रष्टा निश्चल तथा उनकी पत्नी मीना खातीले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो।

​प्रमुख अतिथि डा. टंकप्रसाद पन्थले कवि निश्चलका कवितामा मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना र सीमान्तकृत वर्गका मर्म सुन्दर ढङ्गले समेटिएको बताउनुभयो। यस्तै, समीक्षक उपप्राध्यापक प्रेम खरालले कवितामा अस्तित्ववादी चेतना मुख्य केन्द्रबिन्दु बनेको उल्लेख गर्नुभयो भने समीक्षक उपप्राध्यापक प्रतिभा पौडेलले कृतिको आवरण, संरचना, भाव र कलात्मक पक्षमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो। ​तानसेन–९ का वडाध्यक्ष एवम् सञ्चारकर्मी राजेशकुमार अर्यालले सामान्य पृष्ठभूमिबाट उठेर राष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएकोमा कविको प्रशंसा गर्नुभयो ।​आफ्नो सिर्जनात्मक यात्राबारे बोल्दै स्रष्टा निश्चलले पारिवारिक र सामाजिक परिवेशले आफूलाई लेखनतर्फ डोर्‍याएको बताउनुभयो। ब्रह्माण्डको विस्तार र अन्त्यसम्बन्धी वैज्ञानिक एवम् दार्शनिक अवधारणालाई काव्यात्मक बिम्बमार्फत प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ब्रह्माण्डको अन्त्य हुनु भनेको यसको अस्तित्व, ऊर्जा वा शून्यको अन्त्य हुनु होइन। एउटा ब्रह्माण्डको अन्त्यपछि पुनः नयाँ सिर्जनाको प्रक्रिया सुरु हुन्छ भन्ने भाव कवितामा व्यक्त गरिएको छ ।”

​त्रिभुवन बहुमुखी क्याम्पस, नेपाली विभागका प्रमुख महेन्द्र पन्थीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार एवम् समालोचक डा. शंकरप्रसाद गैरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विभागका सदस्य चतुर्भुज नेपालले गर्नुभएको थियो। समारोहमा साहित्यकार रामप्रसाद अर्याल र लेखक मन गहिरेले स्रष्टा निश्चललाई शुभकामना व्यक्त गर्नुभएको थियो। ​इम्प्रिन्टद्वारा प्रकाशित ३ खण्ड र ७२ वटा कविताहरू समेटिएको यस ‘ब्रह्माण्डको अन्त्य’ कृतिअघि पाल्पा, रिब्दीकोट–७ निवासी निश्चलका ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ गरी छ वटा काव्य कृतिहरू प्रकाशित भइसकेका छन्।

Sent 2m ago
 

Compose

 

 
 
 
 
 

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - २२:००:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend