Logo

आइतवार, आश्विन १८ गते २०८३   |   2026 October 04

images

images

डिजिटल हस्ताक्षर ( कविता )

डिजिटल हस्ताक्षर ( कविता )

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८३
images
डिजिटल हस्ताक्षर ( कविता )
डिजिटल हस्ताक्षर
 
कोटमा टाँसिएको परिचयपत्र
आजीवन होइन
केही समयका लागि
देशले दिएको
एउटा डिजिटल हस्ताक्षर हो।
 
त्यसमा लेखिएको नाम
सही हो
तर त्यससँग जोडिएको पद
निजी सम्पत्ति होइन।
 
त्यो त
राष्ट्रले विश्वास गरेर
केही समयका लागि
काँधमा राखिदिएको
एउटा जिम्मेवारी हो।
 
थाहा छ
एउटा निश्चित उमेर आउँछ,
सेवाको निश्चित अवधि पूरा हुन्छ
र एकदिन
ल्यार्ड फुकाल्नुपर्छ
आईडी निष्क्रिय गर्नुपर्छ
पासवर्ड परिवर्तन हुन्छ
र सर्भरबाट
आफ्नो पहुँच हटाउनुपर्छ
सरकारी गाड़ी घोडा र निवास
सबै छोड्नु पर्छ।
 
कुनै दिन
नामको अगाडि लेखिएको पद
अरू कसैको परिचय बन्नेछ
कुर्सीमा
अरू कोही बस्नेछ,
टेबलमा
अरू कसैका फाइलहरू हुनेछन्
र त्यो कार्यालय
ठीक त्यसैगरी चलिरहनेछ
जसरी आज चलिरहेको छ।
 
यो नियम हो
र म नियम जान्दछु
र शतप्रतिशत मान्दछु।
 
यो पनि थाहा छ
कि सरकारी भवनका ढोकाहरू
कसैका लागि स्थायी हुँदैनन्
कुर्सीहरू
कसैको नाममा लेखिएका हुँदैनन्
र अधिकारको म्याद
घडीको सुईभन्दा
छोटो हुन सक्छ।
 
तर एउटा कुरा
सर्भरले निष्क्रिय गर्न सक्दैन
इमानदारीपूर्वक गरेको काम।
 
एउटा आईडी मेटिन सक्छ
एउटा पदनाम हराउन सक्छ
एउटा सरकारी इमेल बन्द हुन सक्छ
अर्को कर्मचारीले
त्यही कुर्सी सम्हाल्न सक्छ।
 
तर
कसैको कठिन घडीमा
दिएको एउटा भरोसा
कसैको काम सहज बनाउन
गरेको एउटा सानो प्रयास
कसैको आँखामा
जागेको विश्वास
र देशको सेवामा
इमानदारीपूर्वक बिताएका दिनहरू
यी कुनै सर्भरमा हुँदैनन्
जसलाई ‘डिएक्टिभ’ गर्न सकियोस्।
 
त्यसैले
परिचयपत्रलाई
छातीमा सजाएर हिँड्दिनँ
त्यसलाई
जिम्मेवारीको सम्झना सम्झन्छु।
 
कुर्सीले ठूलो बनाएको होइन
कुर्सीमा बसेर
कति सानो भएर
अरूको सेवा गर्न सकियो
सायद त्यसैले
वास्तविक परिचय बनाउनेछ।
 
एकदिन
ल्यार्ड फुकालिनेछ।
 
आईडी निष्क्रिय हुनेछ।
 
सर्भरले भन्नेछ
एक्सेस डिनाईड।
 
तर त्यो दिन
एउटा अर्को पासवर्ड हुनेछ
 
कर्म।
 
त्यसको कुनै एक्सप्यारी डेट हुदैन्।
 
पद सकिएला
पहुँच सकिएला
औपचारिक परिचय सकिएला
तर देशका लागि
इमानदारीपूर्वक बाँचिएका क्षणहरू
कहिल्यै ‘लगआउट ’ हुँदैनन्।
 
किनकि
पद एउटा अस्थायी परिचय हो
सेवा एउटा यात्रा हो
र अन्ततः
मानिससँग बाँकी रहने
उसको पद होइन
उसले छोडेको
विश्वास हो।
 
-प्रवीण भट्टराई 
(उहाँ डलास स्थित अमेरिकाका लागि नेपाली महावाणिज्यदूत हुनुहुन्छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०८३ शनिवार - २३:५९:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend